३० आश्विन २०८३, शुक्रबार

स्वर्गमा एक दिन

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhadhing-ko-keta

तँ स्वर्ग जान्छस कि नर्क ? ढोकामा पालेले सोध्यो, म स्वर्गमा जान चाहन्छु । एकाएक मेरो मुखबाट निस्कियो । अहो झसंग भएँ, स्वर्ग र नर्कको कुरा कहावाट आयो ? मैले पालेलाइ सोधेँ– स्वर्ग र नर्कको कुरा कहाँबाट आयो ? पालेले जवाफदियो– तपार्इंको आज राति निधन भएको छ, तपार्इं अहिले प्रवेशद्वार मा हुनुहुन्छ । तपार्इंको लागि विशेष व्यवस्था गरिएको छ, तपार्इं आफ्नो इच्छा अनुसार स्वर्ग वा नर्कको बाटो तय गर्न सक्नुहुन्छ । मलार्इं मेरो मृत्युको बारेमा केही कुरा गर्नुछ, को सँग गर्न सक्छु ? पालेले यमराजसँग कुरा गर्न सक्ने जनाउदिए ।

अलिकति भएपनि सास आयो । मैले पालेलार्इ आग्रह गरेँ– कहाँ भेटन सकिन्छ यमराजलाइै, मलाइ भेटाइदिनु पर्यो !’

पालेले तत्काल खल्तीमा रहेको आइफोन निकाले र यमराजलार्इ फोन लगाए । यमराज हजुरलाई भेटनपर्यो रे, अघि तपाईंले छाडेर जानुभएको केटालार्इ ।

‘म भेटन सक्दिन,बवरु भिडियो च्याट गराइ दे’ – उताबाट यमराजको जबाफ आयो ।

पालेले तत्काल झोलावाट आइप्याड निकाल्यो, इन्टरनेट कनेक्सन गर्यो, स्काइप खोल्यो र यमराजलाई स्काइप च्याटको लागि अनुरोध पठायो । उतावाट यमराज बोले, अँ भन केटा तेरो के भन्नु छ ?

के मेरो साँच्चिकै मृत्यु भएको हो र ?– मैले सोधेँ ।

के त ख्यालख्यालमा यहाँ आइपुगिस त? हो तलाईं मैले पृथ्वीबाट उठाएर ल्याएँ ।

मेरो के गल्ती थियो र यति चाडै उठाएर ल्याउनुभो ? म जान्न चाहन्छु ।

‘तेरो बारेमा यहाँ झण्डै १००० उजुरी फेसबुक, इमेल र फोनमार्फत आएका छन् ।’

मेरो बारेको उजुरी ? म अचम्मित भएँ, त्यसमाथि १ हजार भन्दा बढी उजुरी ? के को बारेमा ?

‘तँ बारेमा प्राप्त उजुरीहरुको ठूलो फोल्डर नै बनेको तेरो इमेलमा पठाइदिन्छु । सबै पढेस, आफै थाहा पाउँछस् ।’ – यमराजको च्याट कनेक्सन काटियो ।

मैले पालेलार्इ अनुरोध गरेँ– ‘मेरो इमेल चेक गर्नुपर्यो ।’

पालेले उता कुनातिरको कम्प्युटर देखाउँदै भन्यो– तिमीहरुको लागि प्रयोग गर्ने कम्प्युटर उता छ, त्यही प्रयोग गर ।

ओहो ! स्वर्गको इन्टरनेट त कति फास्ट रहेछ, मनमनै चित्त परे । मेरो बारेमाआरोप लगाउनेहरु को को छन् र के के आरोप लगाएका छन् भन्ने जान्नु थियो मलाई । हतार– हतार इमेल खोलेँ । नभन्दै यमराजले सबै मेसेज पठाइदिएका रहेछन् ।

मेरो लागि लगाइएकाअधिकांश आरोपहरु सत्य थिए । जस्तैः मैले भ्रष्टाचारको बिरोध गरेको, अनियमितताको बिरोध गरेको, नेपालमा पटक पटक हुने नेपालबन्दको बिरोध गरेको, विकास निर्माणमा हुने अनियमितताको विषयमा कलम चलाएको, नेताहरुको चाकडी र चाप्लुसी नगरेको, घुस खानेहरुको बारेमा कलम चलाएको । यस्तै यस्तै ।

के मैले अन्यायको बिरोध गर्नु मेरो गल्ती थियो ? के पत्रकारितामार्फत यी कुराहरुको बारेमा कलम चलाउनु गलत थियो ? आफैलार्इं प्रश्न गरेँ । सबै आरोपहरु एकएक गरी पढिसकेपछि इमेल साइनआउट गरेँ ।

एकपटक फेसबुक खोल्ने रहर लाग्यो, फेसबुक खोलेँ । ओहो ! मेरो मृत्यु बारेमा कति धेरै स्टटासहरु पोष्ट भएछन् । त्यही स्टाटस मध्येको एउटा स्टाटस थियो भ्रष्टाचारी नेताको । जसले मेरो बारेमा यमराजलाई उजुरी हालेको थियो । उसले आफ्नो स्टाटसमा लेखेको थियो– यस्तो कलिलो उमेरमा दैवले चुँडेर लग्यो । अरु पनि उजुरीकर्ताहरुको स्टाटस थिए– मेरो मृत्युबारेमा देखावटी शोक गर्दै लेखिएका ।

टुइटर खोलेँ– टाइमलाइनमा पनि मेरो मृत्युबारेमा लेखएका टुइटहरु थिए । कसैले अत्यन्त दुखित भएको लेखेका थिए । कसैले के, के । अनेकथरी कुराहरु पोष्ट गरिएका थिए । स्वदेशबाट मात्र होइन्, विदेशी साथीहरुले पनि मेरो मृत्युको बारेमा दुःख लागेको कुरा पोष्ट गरेका थिए । एक मनले त खुसी मान्यो । ओहो जीवनमा मैले कत्ति धेरै साथीहरु कमाएछु । जीवनमाअहिलेसम्म पाउन नसकेको सम्मानका शब्दहरु थिए, मनमनै खुसी लाग्यो ।

मेरो मृत्युको बारेमा लेखिएकाअनगिन्ती स्टाटसहरु त पढेँ, तर पनि मलाई मेरो मृत्युको कुरा पत्याउन गाह्रो भइरहेको थियो । के साँच्च्किै मेरो मृत्यु भएकै हो त ? यसो दायाँबायाँ हेरेँ, ठूलो अक्षरमा स्वर्ग लेखिएको थियो । अनलाइनहरु खोलेर हेरेँ, त्यहाँ पनि मेरो मृत्यु भएको समाचारहरु लेखिएको थियो ।

एकाएक घरको याद आयो । ओहो घरमा पो के के गर्दै होलान ? मेरो मृत्युमा घरका मानिसहरु र आफन्तहरु कति रोए होलान ? मेरा साथीभाइ के गर्दै होलान ? मेरो मृत्युपछि के गर्दै होलान ? जान्न मन लाग्यो । एकाएक कम्प्युटरमा एउटा भिडियो आयो, जसको बीचमा एउटा चिता जलिरहेको थियो, छेउछेउमा केही व्यक्तिहरु रोइरहेका थिए, केही चिनेका जस्ता लाग्ने केही नचिनेको जस्ता लाग्ने ।

त्यहाँ एउटा अनुहार प्रष्ट थियो, त्यही नेताको । जो भ्रष्टाचारी थियो । र, उसको बिरोधमा कलम चलाउँदा यमराजलाई मेरो बिरोधमा मेल गरेको थियो । त्यहाँ ती नेता मेरो बारेमा भाषण गर्दै थिए – देशको एक होनाहार व्यक्तित्व, निडर अनि परिश्रमी व्यक्तित्व, जो आज हाम्रो माझमा हुनुहुन्न… यस्तै यस्तै… भिडियो हरायो, शायद त्यहाँ मेरो लास जलिरहेको थियो ।

त्यहीक्रममा बिद्यालय र कलेजमा पढाउने सरहरु, संगै काम गर्ने साथीहरु, अफिस यस्तै यस्तै यादहरु आइरहेका थिए । एक्कासी यादहरु धमिलो भएर आयो । पृथ्वीको सबै यादहरु एकाएक हरायो । पछि थाहा पाएँ, स्वर्गको नियमअनुसार पृथ्वीको कुराहरु दिनमा जम्मा ५ मिनेटमात्रै सम्झिन सकिने रहेछ । अरु समय त्यहीँको वातावरणमा घुलमिल हुनुपर्ने रहेछ । नेट एकाएक बन्द भयो, वातावरण नै अर्कै भयो ।

आहा ! कत्ति राम्रो बगैँचा, थरिथरिका फुल, स्वर्ग साँच्चिकै सुन्दर थियो, अप्सराहरु नाचगानमा व्यस्त थिए । अर्कोतिर मिष्ठान्न, परिकारहरु पाक्दै थिए । कोही खाँदै थिए । यस्तै चलिरहेको थियो, स्वर्गमा ।

अलि परतिर हेरेको, मदन भण्डारी, विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल, मनमोहन अधिकारी, पृथ्वीनारायण शाह र वीरेन्द्र शाह गफ गर्दै रहेछन । सबै हतास जस्ता देखिन्थे । उनीहरुको अनुहारमा खुसीको अलिकति मात्रा पनि थिएन । निन्याउरा, त्यसै त्यसै झोक्रिएका जस्ता ।

अलिपरबाट कुरा सुनेँ, नेपालको अहिलेको अवस्थाले चिन्तित रहेछन् उनीहरु । सबै एकै स्वरमा भन्दै थिए– नेपाल कस्तो बनाउन खोजियो, खोई कस्तो बन्यो, कस्तो ? धत् सकिएन ।