३० आश्विन २०८३, शुक्रबार

भदौ २१ भित्र सहमति चुनौतीपूर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, १५ भदौ । संविधानसभाले पारित गरेको संविधान निर्माण कार्यतालिकाअनुसार भदौ २१ भित्र अन्तर्वस्तुमा सहमति जुटाउनु चुनौतीपूर्ण देखिएको छ।

कार्यतालिकाअनुसार सहमति जुटाउन ६ दिन मात्र बाँकी छ, तर संविधान निर्माणका पेचिला मुद्दामा सहमति त परै, अघिल्लो संविधानसभाको कार्यकालमा सहमति जुटिसकेका कतिपय विषयमा समेत अहिले विवाद थपिएका छन्।

अबको ६ दिनभित्र सहमति नभए मतदान प्रक्रियामा गएर विवादित विषय टुंगो लगाउने या कार्यतालिका संशोधन गर्ने भन्नेमा पनि दलहरू अन्योलमा छन्। कांग्रेस र एमालेका केही नेता मतदान प्रक्रियामा गएर भए पनि विवादलाई टुंगो लगाउनुपर्ने पक्षमा छन् भने एमाओवादी मतदान प्रक्रियामा जान नहुने पक्षमा छ। एमाओवादी नेताले मतदान प्रक्रियाबाट असहमतिका विषय टुंगो लगाइए संविधान मस्यौदा जलाउने चेतावनी दिइसकेका छन्।

भदौ २१ पछि मस्यौदाका लागि छुट्ट्याइएको समयमा पनि सहमति कायम गर्न सकिने पक्षमा भने सबै दल छन्। कांग्रेस–एमालेका नेताहरूले मतदान नै भए पनि त्यसपछि पनि सहमतिको प्रयास गर्न सकिने जनाएका छन्। तर, संविधान जारी गर्ने मिति माघ ८ भन्दा पछि लैजान नहुनेमा भने सबै दलको समान धारणा छ।

संविधानसभाबाट सहमति भएका विषयमा मस्यौदा निरन्तर गर्दै जाने र असोज मसान्तसम्म संविधानको पहिलो मस्यौदालाई अन्तिम रूप दिई जनताको राय–प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ। यो समयमा पनि सहमतिको प्रयास जारी राख्न सकिने नेताहरू बताउँने गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

संविधानसभाले पारित गरेको कार्यतालिकाअनुसार सहमति हुने या नहुने र समितिले अहिलेसम्म गरेको कामसम्बन्धी विषयलाई लिएर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार बिहान संविधानसभाअन्तर्गतका पाँचवटै समितिका सभापतिसँग छलफल गर्दैछन्।

संविधानसभा भवन नयाँ बानेश्वरमा सबै समितिले अहिलेसम्म गरेका काम र बाँकी समयावधिका विषयमा छलफल गर्न सभापतिहरूलाई अध्यक्ष नेम्वाङले बोलाएका हुन्। उक्त बैठकमा कार्यतालिकाका विषयमा पनि छलफल हुनेछ।