आफ्नो देश छाडेर हिड्ने रहर त सायद कुनै नेपालीलाई हुन्छ जस्तो मलाई लाग्दैन । तैपनि हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु अमेरिका, जापान, कोरिया, बेलायत वा विश्वका अन्य जुनसुकै मुलुकमा किन नहुन, उनीहरु आफ्नै बाध्यता र विवशताले पुगेका हुन् । फरक यत्ति हो कि कोही अध्ययनका लागि विदेश गएका छन् त कोही रोजगारीका लागि । म बागलुङबाट जब देशको राजधानी काठमाडौँ छिरेँ, त्यतिबेलादेखि नै अध्ययनका लागि जापान जाने तयारीमा थिएँ । तर सबै आफूले सोचे जस्तो कहाँ हुँदोरहेछ र ? अध्ययनका लागि जापान जाने एक बर्ष पुरानो योजनाअनुसार अघि बढ्न झण्डै एक बर्ष लाग्यो । म काठमाडौँ बस्दासम्म बिहान जापानिज भाषा अध्ययन गर्थेँ । र, दिउँसो न्यूज २४ टेलिभिजनमा रिपोर्टिङ गर्थे । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको अधिवेशन आएकाले म टेलिभिजनमा बिदा मागेर गृहजिल्ला पुगेको थिएँ । प्रेस चौतारी जिल्ला शाखा बागलुङको अध्यक्ष भएकाले मेरो काँधमा केही जिम्मेवारीहरु थिए, महासंघको अधिवेशनका सन्दर्भमा । जतिबेला म वार्ता र छलफलमा व्यस्त थिएँ, ठीक त्यति नै बेला मैले जापानबाट अध्ययन अनुमति पत्र प्राप्त गरेँ ।
जतिबेला जापानबाट इलिजिविलिटी लेटर आयो, त्यतिबेला हातमा भिसा नै परेको जस्तो भयो । र, मनले आनन्दको अनुभूति गर्यो । जापान जानका लागि दुतावासमा अन्तरवार्ता दिनेदेखिका सम्पूर्ण प्रक्रियाहरु सकेर भिसा हातमा परेपछि म बाँकी रहेको केही दिन घरपरिवार र आफन्तहरुसग विताउने निर्णय गर्दै गृहजिल्ला गएको थिएँ । म घर फर्कँदासम्म हाम्रो उडान तय भइसकेको थिएन । पछि साथीहरुले अप्रिल ७ तारिखको टिकट पक्का गरेको जानकारी गराए । नेपालमा बस्ने समय जम्मा ६ दिन मात्र बाँकी थियो । नयाँ भाषा, नयाँ भेष अनि नयाँ परिवेश भएको अर्कैको मुलुकमा जानुछ, मनमा खिन्नता त हुनेनै भयो । तैपनि मेरो बाध्यता हो भन्दै आफूलाई सम्महालिरहेँ । यताउती गर्दागर्दै विदेशिने दिन आइहाल्यो । सानो छँदा मेरो बुवा छुट्टी सकेर पल्टन फर्कँदा मेरो ममीको आँखामा आँशु बगेको देखेको थिएँ, त्यसैले आमाका आँशु हेरेर विदा लिन मलाई मन लागेन । र, काठमाडौँ हिँड्नुपूर्वनै घरबाट बिदा लिएर बागलुङ बजार आएर बसेँ ।
श्रीमतीका आँखामा अघिल्लो दिन राती देखिनै आँशु छचल्किसकेका थिएँ । मैले उनलाई भोलि विहान म हिँड्दा नरुनु भनेर रातभर सम्झाएको थिएँ । तर जतिबेला म घरको मुलढोकाबाट झोला बोकेर बाहिर निस्किएँ । श्रीमती सहित घरका अन्य परिवारहरु एक्कासी भक्कान्निएर रुन थाले । नरमाइलो लाग्यो । तैपनि आफूलाई सम्हालेर बिदाइका हात हल्लाएर हिँडे । काठमाडौँ नआउँदासम्म मैले बाटैभरी सोचिरहेँ, कतै मेले देश छोड्ने निर्णय गरेर गलत त गरिन ? तर निर्णय गलत नै भएपनि मसंग कुनै उपाय थिएन, देश छोड्नु बाहेक । अप्रिल ७ तारिख बेलुका ११:३० बजेको हाम्रो उडान थियो तर पनि हामी विमानस्थल ८ बजेनै पुगिसकेका थियौँ, चेकजाँच र अरु कानुनी प्रक्रियाहरु विमानस्थल अध्यागमन विभागमा पूरा गर्नुपर्ने भएकाले उडान भर्ने समयभन्दा केही घण्टा अघि विमानस्थल पुग्नपर्ने थियो ।
विमानस्थल भित्र प्रवेश गरेपछि सुरक्षा जाँच सकियो र हामी त्यसपछि नेपालको अध्यागमन विभागबाट पूरा गर्नपर्ने कानुनी प्रक्रियाका लागि लामबद्ध भएर उभिएका थियौँ । डिपेन्डेन्ड, स्टुडेन्ट र भिजिट भिसामा विदेश जान लागेकाहरु एकातिर लाइनमा थिए भने वर्किङ भिसामा विदेश जान लागेकाहरु छुट्टै लाइनमा । मसंगै आत्मीय मित्र सुर्दशन रेग्मी सहित अन्य साथीहरु पनि थिए । अध्यागमन विभागका कर्मचारीहरुले विदेश जानका लागि लामबद्ध भएका हामीहरुलाई यसरी होच्र्चारहेका थिए, मानौ हामीले विदेश गएर कुनै अपराधनै गरेका छौँ । हाम्रै देशको विमानस्थलमा हाम्रै देशका नागरिक (विमानस्थलका कर्मचारी) बाट अपमानित भएका हामीहरु विदेशका कुन ठाउँमा सम्मानपूर्वक बाँच्न सकिएला भनेर एक खालको निराशा उत्पन्न भयो । उनीहरुले हामीप्रति गरेको व्यवहार देखेर एक दुई शब्द बोलुँकी जस्तो लागेको थियो, तैपनि चुपचाप आफ्नो बाटो लागियो । सबै काम सकिएपछि विमानस्थलको प्रतिक्षालयमा बसिरहेका थियौँ, यत्तिकैमा रातीको ११ बज्यो र हामीलाई विमान चढ्नका लागि बोलावट भयो, हामी त्यतै तिर लाग्यौँ ।
हामी विमानमा बस्यौँ, मनमा ढुकढुक भएको छ । जन्मेर २६ बर्षसम्म खाइखेलेको मेरो देश छोडेर म अर्कै भूमिमा जाँदैछु । मेरो देशको राजधानी जहाँ म कक्षा ९ मा पढ्दा देखि नै आउने–जाने गर्न थालेँ, त्यही राजधानी जस्लाई मैले विगत १ बर्षदेखि कार्यथलो बनाइरहेँ, त्यही राजधानीको सुन्दरता आकाशबाट नियाल्ने खुब इच्छा थियो । धरहराबाट नदेखिएको सुन्दरता विमानको झ्यालबाट देखिएला भन्ने मैले सोचेको थिएँ । तिहारका बेला काठमाडौँमा देखिने मौसमी झिलीमिलीबाट बनेको सुन्दरता होइन, म त काठमाडौँको स्थायी सुन्दरता हेर्न चाहन्थेँ । विमानले नेपालको माटो छोडेर आकाशको यात्रा तय ग¥यो, तव मेरो मुटु फेरि एक पटक ढक्क फुल्यो । विमान भक्तपुर माथिको आकाशमा उड्दै थियो, मैले झ्यालबाट देशलाई हेर्न चाहेको थिएँ, काठमाडौँको रात्रीकालीन सुन्दरता हेर्ने चाहना थियो । तर, देशको राजधानी काठमाडौँ पूरै अध्याँरोमा हराइरहेको थियो । नेपालमा लोडसेडिङ छ भन्ने सन्देश त काठमाडौँले आकाशमा उडिरहेको विमानमै पु¥याउँदो रहेछ । जतिबेला विमान बङ्गलादेशको राजधानी ढाकाको आकाशमा पुग्यो, त्यतिबेला ढाका पूरै झिलीमिली थियो । तब मलाई देशको सरकारसँग र मेरो देशका नेताहरुसँग आक्रोश उत्पन्न भयो । सँधैभरी चुनाव, लोकतन्त्र, गणतन्त्र, समावेशीकरण लगायत सरकारको नेतृत्व कस्ले गर्ने, बजेट ल्याउने कि नल्याउने, संविधानसभाको बैठक कस्ले आव्हान गर्ने जस्ता सानातिना विषयमा भैmझगडा गरेर देशको विकास कसरी हुन्छ ? यस्तै यस्तै उनुत्तरित प्रश्नहरु मनमा उठे । हुनपनि मुलुकमा विगत दुई दशक देखि त्यहि गणतन्त्र, त्यहि धर्मनिरपक्षता, त्यहि निर्वाचन र त्यही सरकारको नेतृत्व बाहेक अरु कुन विषयमा छलफल र बहस भएको छ र मुलुकको विकास हुन्छ ?
भोलिपल्ट विहान हङकङ विमानस्थलमा ओर्लियौँ । हामीले त्यहाँबाट विमान परिवर्तन गर्नुपर्ने थियो । फेरि एकपटक मेरो देशको याद आयो । मेरो देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको याद आयो, अनि त्यहाँका कर्मचारीहरुले हामीलाई गरेको व्यवहारको पनि याद आयो । हङकङ विमानस्थलको व्यवस्थापन, त्यहाँको भौतिक संरचना र त्यहाँका कर्मचारीहरुले बाह्य मुलुकबाट गएका नागरिकलाई गरेको व्यवहार निकै आकर्षक थियो । सवैमाझ शालिन, नम्र र भद्र रुपमा प्रस्तुत हुने कर्मचारीहरु देखेर हामीलाई खुव रमाइलो लागिरहेको थियो । अनि यतिकैमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीले अघिल्लो दिन गरेको व्यवहारलाई एकपटक सम्झिएँ । र, मनमनै भनेँ, आखिर सेवाग्राहीहरुसँग नम्र भएर बोल्दैमा के नै सकिँदोरहेछ र ?
अप्रिल ८ गते स्थानीय समय अनुसार करिव ३ बजेतिर जापानको नारिता इन्टरनेशनल एयरपोर्टमा हामी अवतरण भएपछि फेरि लामबद्ध भएर उभिएका थियौँ । त्यहाँ पनि थुप्रै फारमहरु भर्नुपर्ने रहेछ, हामी सबै नयाँ भएकाले केही पनि थाहा थिएन । फाराम कसरी भर्ने, कहाँ भर्ने र के के भर्ने हामीलाई केही थाहा थिएन । फेरि जापानमा जापानिज भाषा बाहेक अरु प्रायः नबोलिँदो रहेनछ । हामी त्यति साह्रो जापानिज भाषा बुझ्दैथ्यौँ, त्यसैले पनि हामी निकै अलमलमा पर्यौँ । पछि विमानस्थलकैै कर्मचारीले हामीलाई फारम भर्न सिकाए, कतिपयको आँफै पनि भरिदिए । नारिता इन्टरनेशनल एयरपोर्टबाट हाम्रो गन्तव्य अझै १ घण्टाको दुरीमा पर्दोरहेछ । झण्डै एक घण्टा ट्रेनको यात्रा गरेपछि हामी हाम्रो कलेजमा पुग्यौँ, कलेजले त्यहाँ हाम्रो सामान्य भाषाको परिक्षा लियो । त्यसपछि कलेजले घरमा टेलिफोन गरेर आफू जापान आइपुगेको जानकारी गराउने व्यवस्था पनि मिलाइदियो । र, हामीले पालैपालो घरमा जानकारी गरायौँ । त्यसपछि हामीलाई कलेजले होस्टलमा लगेर छोडिदियो, हामी होस्टल पुग्दा झण्डै राती ९ बजेको थियो । होस्टलमा सुदर्शन र म सहित भक्तपुरका रमन श्रेष्ठ र महोत्तरीका गणेश चौहान बस्नुपर्ने थियो । होस्टल भनेपछि सबै कुराको व्यवस्था हुन्छ भन्ने हाम्रो सोचाइ थियो । तर, यहाँको होस्टलमा ग्यास, फ्रिज, वासिङ मेसिन, ओभन, राइसकुकर र फ्राइप्यान बाहेक अरु थिएन । यहाँको सिस्टमनै यस्तै रहेछ । अघिल्लो दिन काठमाडौँमा खाना खाएर विमान चढेका थियौँ, त्यसबाहेक विमानमा राम्रोसँग खाना पाईएको थिएन । सबै साथीहरु ज्यादै भोकाएका थियौँ । तर होस्टलको किचनमा खानेकुरा केही थिएन । यतिमात्र होइन, खाने थाल वा कचौरा समेत थिएन होस्टलमा । न त हामीले नै नेपालबाट केही ल्याएका थियौँ । होस्टलमा बस्ने हामी चारै जना नयाँ, बाहिर निस्के हराउने डरले त्यो दिन काँचै चाउचाउ खाएर सुतियो ।
भोलिपल्ट विहान ९ बजे कलेजले बोलाएको थियो, हामी ८ बजेनै कलेजतिर लाग्यौँ । अघिल्लो दिन राती कलेजले कताबाट हामीलाई होस्टल पुर्यायो भुलिएछ, बाटै भुलेकाले हामी कलेजको ठेगाना सोधखोज गर्दै झण्डै साढे ९ बजे कलेज पुग्यौँ । जापानिजहरु सेकेण्डलाई पनि महत्वपूर्ण ठान्छन् भन्ने सुनेको र पढेको थिएँ नेपालमा । तैपनि नयाँ विद्यार्थी भएकाले आधा घण्टा ढिला पुगेर केही फरक पर्दैनहोला भन्ने सोचमा थियौँ । तर, ढिला भयो भन्दै कलेजले भोलिपल्ट विहान ९ बजे आउनु भन्दै हामीलाई फिर्ता पठायो । हामी कोठामा फिर्ता भयौँ, कोठामा खानेकुरा चाउचाउ बाहेक अरु छैन, चामल कहाँ पाइन्छ थाहा छैन । तरकारी कहाँ पाइन्छ र के भनेर माग्ने, त्यो पनि थाहा छैन । नजिक भएका साथीहरुलाई सोधौँ मोबाइल छैन । दिनहरु यस्तरी नै बित्दै गए, दिनभर बाहिर घुम्दा पनि चामल किन्ने पसल भेटाउन सकिएन । न हातमा मोबाइल छ र साथीहरुलाई फोन गरेर बोलाउँ, न पसल चिनिएको छ र किनमेल गरौँ । निकै समस्यामा परियो । मोबाइल किन्नका लागि बैंकमा खाता खोल्नुपर्ने यहाँको नियम रहेछ, बैंकमा खाता खोल्ने हाम्रो प्रक्रियानै अघि बढेको थिएन ।
मोबाइल झिक्ने भन्दाभन्दै ४ दिन वित्न आँटिसक्यो, ४ दिनसम्म मुखमा भातको सितो परेको छैन । चाउचाउ खाँदाखाँदा वाक्क परिएको थियो । गणेश भाइले चनाको सातु बोकेर आएका रहेछन्, मैले गुन्द्रुक बोकेर आएको थिएँ । एकदिन मुख फेर्नका लागि मैले त्यहि चनाको सातुबाट ढिँडो बनाए र गुन्द्रुकसंग ढिँडो खाएर चौँथो दिन धकेलियो । पाँचौ दिन हामीले जसरी हुन्छ मोबाइल निकाल्ने योजना बनाएर हिड्यौँ । त्यतिबेलासम्म हाम्रो बैंकको कागजपत्रहरु तयार भइसकेको थियो । कलेजमा सफ्ट ब्यांक नामक मोवाइल कम्पनीमा कार्यरत एक जना साथी भेटिएपछि हामीले उहाँलाई मोबाइल ल्याईदिन आग्रह गर्यौँ, उहाँले बेलुका अबेरसम्म मात्रै मोबाइल हात पर्ने जानकारी गराउनुभयो । मोबाइल हातमा नआएसम्म खाना नपाइने निश्चित थियो । त्यसैले मोबाइल झिक्न कम्पनीकै साथीसँग हामी पनि आकिहाभारा जाने निर्णय गर्यौँ र त्यसर्फ लाग्यौँ । दिउँसो १ बजे आकिहाभारा पुगेका हामीले राती ७ बजेसम्म पनि मोबाइल पाउन सकेका थिएनौँ । केही प्राविधिक समस्याले गर्दा हामीलाई मोबाइल उपलब्ध गराउन नमिल्ने कम्पनीले जनाएको थियो । तर पछि बल्लतल्ल एउटा आइफोन हातमा पर्यो । आइफोन हातमा पर्दासाथ मैले मेरो फेसबुक वालमा मोबाइल नम्बर शेयर गरेँ, त्यसपछि लगत्तै साथीहरु सम्पर्कमा आए । बल्ल हाम्रो दैनिकी सहज भयो ।
हामीले ती ५ दिन पनि निकै रमाइलो गरी बिताएका थियौँ । कतिपय साथी घरको सम्झना आयो भन्दै थिए त कतिपयले सञ्चारविहीन भएर बस्नुपर्दा कठिन हुने बताइरहेका थिए । जेहोस हामीलाई नेपालदेखि जापानसम्मको यात्रा र जापान आइसकेपछिका ५ दिनले के सिकाएको छ भने सामान्य काम पनि तयारीविना गर्दा समस्या उत्पन्न हुन्छ । त्यसैले आफू भन्दा जानेका र अनुभवीहरुसँग राय परामर्श लिएर अघि बढ्नु उपयुक्त हुन्छ भन्नेनै हामी सबैको निष्कर्ष हो ।
नेपालमा छँदा दैनिक समाचारका पछाडि दौडन म अहिले जापानी समयसँग दौडँदै छु । नयाँ भविष्य कोर्ने प्रयत्नमा छु । र, परदेशी भूमिमै बसेर पत्रकारिताका ती सक्रिय दिन र मेरो देशलाई सम्झिरहेको छु ।
(हालः चिवा, जापान)














प्रतिक्रिया