काठमाडौं, १२ असोज । राजधानीमा लागुऔषध खैरो हेरोइनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको केन्द्रिय अनुसन्धान टोलीले लागुऔषध खरीदविक्री तथा ओसारपोसारमा संग्लन काठमाडौं– ८ जयवागेश्वरीका २७ वर्षीय सूर्य संगत, नेपालगञ्जका ३२ वर्षीय सुनिल गुप्ता, काठमाडौं गौशालास्थित साउथ एसियन गेष्ट हाउसमा बस्दै आएका २२ वर्षीय प्रकाश जोशी, २२ वर्षीय सद्दाम अन्सारी र बाँकेका ३२ वर्षीय बिरेन्द्र सिंहलाई बुधबार पक्राउ गरेको हो ।
उनीहरुको साथमा ४३.५ ग्राम खैरो हेरोइन र ६८ हजार नगद फेला परेको छ ।
लागु औषध नियन्त्रण ब्युरोका प्रमुख डीआइजी जयबहादुर चन्दले उनीहरुलाई सुराकीका आधारमा पक्राउ गरिएको बताए ।
सुनिल गुप्ता पानस फर्मास्यूटिकल्स प्रालि नेपालगञ्जका लाईजन अफिसर भएको र उनले औषधि व्यवस्था बिभाग बिजुली बजार काठमाडौमा दर्ता महाशाखा अन्तर्गत उद्योग दर्ता शाखामा भएको पानस फर्मास्यूटिकल्स प्राली लेखेको स्टिलको दराजभित्र लुकाई छिपाई राखेको खैरो हेरोईन २२ ग्राम र डिजीटल तराजु थान १ समेत फेला परेको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाइएको छ ।













प्रतिक्रिया