कुनै एक विवाहित महिलाले कुनै एक पुरुष मित्रलाई राखेको प्रेम र यौन सम्बन्धको प्रस्तावलाई लिएर विराटनगरको कलेज रोडमा बुधबार बिहान एक शिक्षित पुरुष समूहले आश्चर्य प्रकट गर्दै थिए ।
मानौ ती नारीले संसारमा कसैले नगरेको काम वा पाप गरेकी हुन् ? आफूलाई सर्वज्ञान सम्पन्न मान्ने ती पुरुषहरुको सोचमाथि मलाई दया लागेर आयो । उनीहरुले एक महिलालाई कुनै इच्छा, आकांक्षा, चाहना र अभिलासा नभएको निर्जिव वस्तु ठान्दा रहेछन् ।
सबभन्दा पहिले मलाई त्यो पुरुषमाथि रिस उठ्यो जसले ती महिला मित्रको भावनाको थोरै पनि ख्याल नगरी यस्तो गोप्य कुरा सबैलाई भन्दै हिंडयो । ती पुरुषले ती महिलासँग यस्तै चाहना राखेको भए र उनले पनि सबैलाई भनिदिए की भए ती पुरुषको अवस्था के हुन्थ्यो ?

कतिपय कुरामा ज्यानै गएपनि गोपनीयता भंग गर्नुहुन्न । कसैलाई प्रेम गर्नु र कसैसँग अन्तरंग सम्बन्ध राख्नु पनि त्यस्तै विषय हो । मेरो विचारमा कुनै पनि नेपाली महिलाले विभिन्न कारणले कुनै पुरुषलाई त्यस्तो विश्वासिलो प्रस्ताव राख्नु भनेको मन्दिरमा फुल चढाउनु जस्तै हो । बैंकको ढुकुटीमा बहुमुल्य सामग्री राख्नु जस्तै हो ।
यो विश्वासलाई तोडेर ती पुरुष मित्रले मानवीय अपराध गरेका हुन भन्ने मेरो बुझाई हो । यसले गर्दा अब कहिल्यै पनि ती दुई बीच भरपर्दो सम्बन्धको विकास हुन सक्दैन । अर्को कुरा यौन इच्छा वा चाहना र चरम सन्तुष्टिमाथि पुरुषको मात्रै अधिकार होइन । महिलालाई पनि पुरुषजस्तै यौन सम्बन्ध र प्रजननको अधिकार छ ।
सृष्टिको सुरुवातदेखि नरनारीबीच आपसी सहमतीमा कायम हुँदै आएको यौन समागमलाई होहल्लाको विषय बनाई राख्नु पर्ने जरुरी नै छैन । यसलाई लिएर विवाद गरिराख्नु हुन्न । अरुलाई असर नपर्ने गरी बन्द कोठामा दुई जनाबीच हुने अति नै गोप्य सम्बन्ध, समागम वा संभोगलाई लिएर कुरा बनाउनु वा कुरा काट्नु भनेको समयको बर्बादी मात्र हो । मित्रहरु, कि कसो ?
(लेखक कान्तिपुर दैनिकमा कार्यरत छन् ।)
















प्रतिक्रिया