काठमाडौं, ११ असोज । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले चितवनको दारेचोकस्थित घोप्टेभिरमा आइतबार साँझ भएको दुर्घटनापछि बेपत्ता हुनुभएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे र परिवारका अन्य सदस्यहरुको अवस्था हालसम्म पनि अज्ञात रहेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिको ध्यानाकर्षण गराउनुभएको छ ।
जीप दुर्घटना भएको चालिस घण्टाभन्दा बढी समय बितिसक्दा पनि सरकारले पूर्वमन्त्री घिमिरे र उहाँका पारिवारिक सदस्यहरुको स्थितिका बारेमा जानकारी गराउन नसकेकोमा चिन्तित हुँदै रेग्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गरी खोजी र उद्धारको कार्यमा अत्याधुनिक उपकरणहरु प्रयोग गर्न र खोजी कार्य गण्डक नहरको भारतीय सीमासम्म पुर्याउन विशेष आग्रह गर्नुभएको छ । साथै, रेग्मीले घिमिरे र पारिवारिक सदस्यहरुको खोजी र उद्धारको कार्यमा सरकारका सबै संयन्त्र र उपायको अवलम्बन गर्दै आवश्यक परेमा मित्रराष्ट्रहरुबाट समेत प्राविधिक सहयोग लिएर कार्य गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
दाहालसँगको कुराकानीका क्रममा रेग्मीले दुर्घटनापश्चात् बेपत्ता हुनुभएका पूर्वमन्त्री माधवप्रसाद घिमिरे र उहाँका भाइहरु प्रकाश घिमिरे र मोहन घिमिरेको अवस्था हालसम्म पनि अज्ञात हुनुले आफू अत्यन्त दुःखित भएको बताउँदे उहाँहरुको स्थिति पत्ता लगाई यथाशक्य छिटो सार्वजनिक गर्न विशेष आग्रह गर्नभुएको छ ।
सोमबार साँझ गृहमन्त्री विमलेन्द्र निधिसँग सम्पर्क गरी खोजी र उद्धारको कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्र परिचालन गर्न र अत्याधुनिक उपकरणहरुको प्रयोग गर्न आग्रह गर्नुभएका रेग्मीले मङ्गलबार बिहान प्रधानमन्त्री दाहालसँग कुरा गर्नुभएको हो । सरकारले जारी राखेको उद्धारको प्रयासलाई निरन्तरता दिंदै थप उपाय अवलम्बन गरी घिमिरे र उहाँको परिवारका अन्य सदस्यहरुको स्थिति अविलम्ब सार्वजनिक गर्न पनि रेग्मीले उहाँहरुसँगको कुराकानीमा आग्रह गर्नुभएको छ । रेग्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले सरकारले घिमिरे र उहाँका पारिवारिक सदस्यहरुको खोजीका लागि राज्यका सबै संयन्त्र परिचालन गरी आधुनिक उपकरणको प्रयोग गर्नेलगायत सम्पूर्ण प्रयास जारी राख्ने र यथाशक्य चाँडो अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्ने प्रयोजनार्थ २०६९ साल चैत १ गतेदेखि २०७० साल माघ २८ गतेसम्म मन्त्रिपरिषद्को अध्यक्षको भूमिकामा रही सरकारको नेतृत्व गर्नुभएका रेग्मीको कार्यकालका वरिष्ठतम् मन्त्री माधवप्रसाद घिमिरेलगायत उहाँका पारिवारिक सदस्यहरु जिप दुर्घटनामा पर्नुभएको खबरबाट रेग्मी अन्यन्त स्तब्ध र भावविव्हल हुनुभएको छ । राष्ट्रका लागि अभुतपूर्व योगदान गर्नुभएका पूर्वमन्त्री घिमिरेलगायत उहाँसँगै बेपत्ता हुनुभएका पारिवारिक सदस्यहरुको खोजी कार्यमा सरकारी संयन्त्रका अतिरिक्त गैरसरकारी संयन्त्रहरु तथा स्थानीय स्तरमा गर्न सकिने सबै प्रयास समेत जारी राख्न रेग्मीले आम जनसमुदाय र सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले पूर्वमन्त्री घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, उहाँका भान्जा नारायणप्रसाद काफ्ले र अंगरक्षक प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको सोही दुर्घटनामा परी देहावसान भएको समाचार सुन्दा आफू अत्यन्त मर्माहत भएको बताउँदै दिवङ्गत महानुभावहरुप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । साथै, रेग्मीले दिवङ्गत महानुभावहरुको शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गर्दै यस्तो विपद् परिस्थितमा उहाँहरुको परिवारजनमा धैर्यधारण गर्ने शक्ति परमेश्वरले प्रदान गरुन् भन्ने कामना समेत गर्नुभएको छ ।












प्रतिक्रिया