पूर्व गृहमन्त्री माधब घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको खबर आएको छ । पछिलो वर्ष नेपालमा सडक दुर्घटनाले धेरैको ज्यान लिएको छ । हाम्रो देशको यातायात संयन्त्र अत्यन्तै नाजुक छ ।
सडकको हालत यति दयनीय छ कि जो कोही पनि सकुशल गन्तब्यमा पुग्दा आफूलार्इ धन्य महसुस गर्दछन् । २०४६ सालको परिबर्तनपछि शासक बर्ग राजनीतिक स्वार्थ पूर्तिमै अल्झियो । विकास निर्माण ठप्प भयो । हो, हामी कहाँ भौगोलिक बिकटता छ । के हाम्रो जस्तो भौगोलिक बिकटता संसारका अरु देशमा छैन् ? के हामी यही भौगोलिक बिकटतालार्इ अबसरको रुपमा विकास गर्न सक्दैनौ ?
राज्यमा विकासको मेरुदण्ड भनेकै सडक यातायात हो । फराकिलो र मजबुत सडकबिना विकासको कल्पना सोच्न पनि सकिँदैन । सडक सन्जाल पुगाउने नाममा कमजोर कच्ची बाटोहरुको निर्माण र पुराना एवम् काम नलाग्ने भैसकेका बस, जिप तथा अन्य सवारी साधनको होडबाजी बढेको छ ।
राज्यको फितलो अनुगमन, सम्बन्धित पक्षको लापरबाहीलार्इ पनि दुर्घटनाको कारक तत्वको रुपमा नकार्न सकिँदैन । २५ वर्षमा राज्यले चाहेको भए आज देश मलेशियाको हाराहारीमा विकासको गतिमा अगाडि बढिसकेको हुने थियो ।
हामी अहिले कहाँ छौ ? हाम्रो स्तर अहिले के छ ? सोँच्दा पनि कहाली लाग्दो अबस्था छ । यसको लागि हामी जनता पनि दोषि छौ । जुन सुकै भिजनबिनाका नेताको पछाडि दौडिन हामीलार्इ तछाडमछाड छ ।
भ्रष्टाचारीलार्इ १०० किलोको माला पहिराउँदा हामीलार्इ गर्व छ । भ्रष्ट नेतासंग फोटो खिचेर फेसबुकमा फोटो हालेर हामी आफूलार्इ महान सम्झिन्छौ । अनि प्रत्येक निर्बाचनमा तिनै नेतालार्इ जिताउन दिलोज्यान दिन्छौ । धन र सम्पत्तिको आधारमा व्यक्तिलार्इ सम्मान दिन्छौ । यि र यस्ता कमजोरी हामी जनतामा छ ।
देशमा नसोचिएका राजनैतिक परिवर्तन आए । तर जनजीविकाको सवालमा एउटा सिन्को पनि कसैले भाँचेन । संधै यो बाद र त्यो बादमा नेपाली समाज बिभाजित भै रह्यो । राज्य निर्माणको स्पष्ट खाका नहुने नेतृत्व जुनसुकै वाद लादिए पनि केही लछारपाटो लाग्नेवाला छैन । जुन प्रष्ट भैसकेको छ ।
प्रसंग फेरि सडककै, बिदेशबाट नेपाल फर्किने नेपाली काठमाडौं एअरपोर्टमा ओर्लिएर मात्र सुरक्षित छैन् । त्यसपछि हामीले छिचोल्ने सडकको हालत यति जिर्ण छ कि अन्तिम गन्तब्य पुगेपछि एकपटक ईश्वरलाइ धन्यबाद दिनुपर्ने अबस्था छ । धन्य, मेरो देश । एउटा आयोजना बनाउन सैयौ नाटक । हजारौ तिकडम र दलाली । सुरक्षित कल्पना गरिएको काठमाडौं तरार्इ फाष्टट्रयाक निर्माणमा पछिल्लो समय देखिएको बिबाद र फोहोरी भिडन्त कति लाजमर्दो छ ।
के हामीसंग एउटा सडक बनाउने दम छैन ? एउटा सानो जलविद्युत निर्माणको लागि दुर्इ दिनमा अर्बौ रकमको सेयर कारोबार हुन्छ तर के राज्यले लगानीको सुरक्षित प्रतिफलको ग्यारेन्टी गरेमा फाष्टट्रयाकको लागि नेपाली जनताले नै लगानि नगर्लान र ?
नेतृत्व तह जागोस बिदेशमा रहेका ५० लाख नेपालीले बनाउँछन् फाष्टट्रयाक । तर हामी कहाँ खोइ नेतृत्व ? के मा ब्यस्त छ नेतृत्व ? एउटा गतिलो सडक नहुनेले किन चर्का भाषण दिनु ? के सर्बसाधारण प्रत्येक वर्ष अनाहकमा सडक दुर्घटनाको सिकार भैरहने ? सडकमा ढुक्कसंगले नेपाली जनताले कहिले यात्रा गर्ने ?
राजनीति र कर्मचारी प्रशासन मुलुकको विकासमा ध्यान दिनुपर्छ । भ्रष्टाचार नियन्त्रणमा जागरुक बन्नु पर्छ । देशको नेतृत्व लिएको वर्ग नै भ्रष्टाचार राष्ट्रहितविरुद्ध लाग्छ भने त्यो देशको कहिल्यै विकास संभव छैन । आफ्नो भावी पुस्ताका लागि पनि राजनीतिक दलका नेता र कर्मचारीले एक पटक इमान्दार भएर देशका लागि सोँच्नै पर्छ ।
(लेखक हाल अष्ट्रेलियामा बसोबास गर्छन्)















प्रतिक्रिया