१९ कार्तिक २०८३, बिहिबार

रेडियो र सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radio-dhading

काठमाडौँ, ७ असोज । धादिङस्थित सामुदायिक रेडियो ‘रेडियो धादिङ’ १०६ मेगाहर्ज र त्यहाँ कार्यरत श्रमजीवी सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा आज यहाँ प्रदर्शन गरिएको छ ।

‘सामुदायिक रेडियो बचाउ अभियान’को संयोजनमा माइतीघर मण्डलामा सञ्चारकर्मीले एक घन्टा टाउकोमा कालोपट्टी बाँधी प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित कोणसभामा सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराव)का अध्यक्ष मोहन चापागाईंले राज्यले रेडियोलाई संरक्षण गर्नुको सट्टा आक्रमण गरेर प्रेस स्वतन्त्रता उल्लङ्घन गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले रेडियोमाथि सरकारले आक्रमण गरेर प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप गरेको बताउनुभयो । विश्व सामुदायिक रेडियो प्रसारण सङ्घका सहअध्यक्ष मीनबहादुर शाहीले आमसञ्चार माथि निरङ्कुश शासनकालमा पनि आक्रमण नभएको अवस्थामा अहिले गणतान्त्रिक सरकारले आक्रमण गरेर प्रेस स्वतन्त्रताको खिल्ली उडाएको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल सञ्चार सहकारी सङ्घका अध्यक्ष विष्णुहरि ढकाल, मानवअधिकारकर्मी सुबोध प्याकुरेल, नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईलगायतले रातारात सञ्चारकर्मीलाई थुनेर रेडियोमाथि आक्रमण गर्नु प्रेस स्वतन्त्रता र मानवअधिकारको उल्लङ्घन गरेको बताउँदै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

बिहीबार राति रेडियो धादिङको प्रसारण केन्द्रको भवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जिल्ला वन कार्यालयको निर्देशनमा डोजर लगाई भत्काइएको थियो । रासस