काठमाडौं, १४ भदौ । निर्माण सामग्री ढुवानी गर्न नपाएपछि रोजगारी ठप्प भएको भन्दै विरोधस्वरूप टिपर र ट्रक व्यवसायीले शुक्रबार आफ्ना गाडी तीनकुने सडक बीचमा घन्टौंसम्म तेर्स्याउँदा राजधानी दिनभरजसो अस्तव्यस्त बन्यो।
वार्ता र छलफलको माध्यम हुँदाहुँदै पनि सरकारमाथि दबाब दिन गरिएको विरोध प्रदर्शनले सरकारकै क्षमतामाथि प्रश्नचिन्ह उठाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलोमिटर, आर्यघाटबाट साढे दुई किलोमिटर, सत्ता केन्द्र सिंहदरबारबाट तीन किलोमिटर र संविधानसभा भवनबाट एक किलो मिटर दूरीमा रहेको तीनकुनेमा टिपर तेस्र्याइँदा सरकार उदासीन बन्यो। विमानस्थलमा समयमा पुग्न नसक्दा कयौंको यात्रामा व्यवधान भयो। पशुपति र आर्यघाट जानैपर्नेसमेत मारमा परे।
सरकारले चुरेलगायतका क्षेत्रबाट भइरहेको अवैध गिट्टी र बालुवा निकासी रोकेपछि आक्रोशित व्यवसायीले विरोधस्वरूप शुक्रबार बिहानैदेखि सडक अवरुद्ध पारेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । सरकारले जथाभाबी प्रकृति दोहन रोक्दै व्यवस्थित रूपमा ढुवानी गर्न दिने भन्दै आए पनि काम भने त्योअनुसार भएको छैन।
तीनकुनेमा सडक अवरुद्ध पारेको जानकारी नौबिसेका व्यवसायीले पाएपछि उनीहरूले पनि टिपर तथा ट्रक तेस्र्याउन सुरु गरेका थिए। यसबाट पृथ्वी राजमार्ग भएर गुड्ने सयौं यात्रु तथा मालवाहक सवारीसाधन घन्टौं राजमार्गमै रोकिए। अरनिको राजमार्ग पनि प्रभावित भयो।
व्वसायीसँग दुई चरणमा वार्ता गरे पनि सरकार निर्णयबाट पछि नहटेपछि उनीहरू आन्दोलित भएका हुन्। राजधानी अस्तव्यस्त हुने गरी ट्रक र टिपर तेर्साएर एर सडक अवरुद्ध गर्नेविरुद्ध सरकारले सार्वजनिक अपराध मुद्दा चलाउने भएको छ।
अराजक र गुन्डागर्दी शैलीमा सडक कब्जा गरेर आवागमनमा अवरोध पुर्याउने टिपरधनी र चालकलाई सार्वजनिक मुद्दा चलाउन गृह मन्त्रालयबाट निर्देशन भएको हो।
‘माग सरकारसमक्ष राख्न पाइन्छ, वार्ता र छलफलबाट समस्या समाधानका लागि प्रयास गर्नुको साटो सडक कब्जा गरेर आवागमनमा अवरोध पुस्याउनेमाथि सार्वजनिक मुद्दा चलाइन्छ,’ गृहका प्रवक्ता लक्ष्मी ढकालले भने।















प्रतिक्रिया