– विकाश पराजुली
बटौली, ६ असोज । रोजगारको सिलसिलामा दुबईको अबुधावी पुगेका १० नेपाली युवाहरुले नेपाल फर्कन चाहेको बताएका छन् ।
जुन २१, २०१६ मा नेपालबाट दुवई उडेका उनीहरुले भनेजस्तो काम र तलव नपाएपछि नेपाल फर्कन चाहेको बताएका हुन । आफूहरु विदेशमा दुःख पाएको र नेपाल छिट्टै फर्कन चाहेको भन्दै युवाहरुले संवाददातालाई बारम्बार सम्पर्क गरेपछि उनीहरु बारे बुझ्दा दुःख पुर्ण कार्य गरिरहेको र आफूहरुको भिषा रद्द गरी नेपाल फर्कन चाहेको बताएको छन् ।
बुटवलको अञ्जली ओभरसिज प्रा.लि र काठमाडौंको एसियाली लिंक ओभरसिज प्रा.लि मार्फत दुवई पुगेका उनीहरुलाई कम्पनीले राम्रो तलब नदिने, महिना पिच्छे काठो सार्ने, खानेपानी नभएको स्थानमा लैजाने तथा ओभरजिसले भनेको काम आफूहरुले नपाएका कारण आफुहरु नेपाल फर्कन चाहेको टोलीका एक लालमणी भुषालले टेलिफोनमा बताउनुभयो ।
गुल्मी जिल्ला पुर्कोट दह गाविस वडा नं. १ स्थायी घर भएका भुषाल १४ सय रियल र ईलेक्ट्रोनिक कामका लागि भन्दै झण्डै १ लाख रुपैया ओभरसिजलाई बुझाई युएई (दुवई) पुग्नु भएको थियो । उहाले १४ सय रियल भनेर दुवईमा आएपनि अघिल्लो महिना देखि ११ सय रियल पाएको बताउनुभयो । आफु जस्तै अन्य ९ जना साथीहरुले पनि भने अनुसारको काम र दाम नपाएपछि नेपाल फर्कन चाहेको भन्दै कम्पनीलाई भिषा रद्द गरी नेपाल फर्काउन अनुरोध गरेको उहाको भनाई छ ।
भुषाल सहित गुल्मी पुर्कोटदह मलागिरीकाका कविन्द्र बहादुर थापा, झापा विर्तामोडका अनबेर लिम्बु, मोरङ गर्वन गाविस ७ का सुर्य बहादुर तामाङ, मोरङ बबल गाविसका सदराज बस्नेत, सुनसरी पठली गाविसका विक्रम कुमार चौधरी, विराटनगर बर्गाक्षीका यादव प्रसाद चौधरी, दमक झापाका अजत धिमाल, नवलपरासी जमुनाका विजय कुमार चौधरी र सिरहा गालबजार ३ का रुपचन्द घिसिङ कम्पनीले सेवा सुविधा राम्रो नदिएपछि नेपाल फर्कन चाहेका हुन । सुरुको महिनामा २ सय ८७ रियल मात्र तलव पाएका उनीहरुले अघिल्लो महिनाबाट मात्र ११ सय रियल तलव पाएको टोलीका अर्का सदस्य दमक झापाका अजत धिमालले बताउनुभयो ।
आफुहरु नेपाल फर्कन चाहेको दुवईमा नेपाली एमविसीलाई भनेपनि कम्पनीको एजेन्ट देवराज गौतमले एमविसीमा कुरा गरेपछि एमविसीले समेत अहिले आफुहरुलाई केही जानकारी नदिएको उहाले बताउनुभयो । उहाले देवराज गौतमलाई टेलिफोन गर्दा प्रतिव्यक्तिलाई दुवईमा ल्याउदा ६ हजार दिराम खर्च भएकाले ६ हजार दिराम दिएपछि मात्र नेपाल फर्कन पाउने बताएको उहाले बताउनुभयो ।
यता एसियालिंक ओभरसिज प्रालि काठमाडौंको म्यानेजर मिलन कट्टेललाई टेलिफोन गरी जानकारी लिदा कम्पनीले १४ सय दिनेगरी पठाएको भएपनि कम्पनीको समस्याका कारण १२ सय रियल दिएको र अन्य २ सय रियल दिने बारे कम्पनीसंग कुरा भइरहेको बताउनुभयो । उहाँले आफुले कम्पनीसंग कुरा गर्दा केही दिनमा मिलाएर पुरा तलब दिने बताएको बताउनुभयो । उहाँले काम गर्न गएका १० जना मध्ये लालमणि भुषालले ३–४ हजार रियल ईलेक्ट्रोनिक ईन्जिनियर भएकाले खाने गरेकाले आफुले सो रकममा काम नगर्ने भन्दै नेपाल फर्केन चाहेको बताउनुभयो ।
फर्कन्छु भनेकालाई तत्काल फर्काउन नसक्ने भएपनि आफुले प्रोसेस गरेको उहाँको भनाई छ । “दशै तिहार पछि म आउछु, तिमीहरु काम गर्दै गर भन्दा पनि लालमणि जीले फर्कन्छु बारम्बार भन्नुभएको छ” म्यानेजर कट्टेलले भन्नुभयो–“आफू ईलेक्ट्रोनिक ईन्जिनियर भए किन १४ सय रियलमा जान राजी हुनुभयो त ?”
उहाँले काम र पैसा दिलाउने आफ्नो दायित्व भएकाले छिट्टै भने अनुसारको काम र दाम हुने बताउनुभयो ।
















प्रतिक्रिया