काठमाडौ, १४ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका छन् । उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन् ।
उपकुलपति पदमलाल देवकोटाले थकाली खाना, चिकेन लगायतका खाना र रुस्लान भोड्का सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका हुन् । २०७० साल असार २७ गतेको मिती राखिएको ६० हजार ३० रुपैंयाको विलको भुक्तानी भइसकेको छ ।
विश्वविद्यालयको बजेट दुरुपयोग गर्ने देवकोटा एक्ला छैनन् । रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले एउटा यस्तो विलको भुक्तानी गरेका छन्, जसमा तत्कालीन प्रधानमन्त्रीको सल्लाहकार पनि जोडिएका छन् ।
२०६९ भदौं ६ गते ८ हजार ६ सय रुपैंया भुक्तानी भएको विलमा ‘प्रधानमन्त्रीको सल्लाहकारसँग गणेश रावलले होटलमा वियर लगायतका खानेकुरा खाएको’ उल्लेख छ । त्यतिबेला प्रधानमन्त्री रहेका बाबुराम भट्टराईका को सल्लाहकारसँग मदिरा सेवन भयो भन्नेवारे रावलले विलमा खुलाएका छैनन् । गत असार ३२ गतेपनि बैंठकका नाममा हृवीस्की पिएको र अन्य परिकार’ भनी बिल पेश छ ।
२०६९ असार मसान्तका दिन अर्को विल छ, जसमा बैंठक शीर्षकमा विभिन्न रेष्टुरेन्टमा पेय पदार्थ चुरोट लगायतका नाममा २४ हजार रुपैंयाको विल भुक्तानी भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘हाफपाईन्ट र पेटिकोटदेखि परिवार नियोजनका अस्थायी साधन खरिदको खर्चको भुक्तानीमा समेत विश्वविद्यालयको बजेट दुरुपयोग भएको छ,’ अख्तियारस्रोतले भन्यो ।
सबैभन्दा बढी बजेटको दुरुपयोग गर्ने उपकुलपति देवकोटाले मन्दिर प्रवेशको शुल्क, बडी स्प्रे, मोवाईल चार्जर र जुत्ताको पालिसको विल भुक्तानी गराएका छन् । मञ्जन, ब्रश, मोजा, सेभिङ मेसिन लगायतका सामानको विल करिव ३४ हजार रुपैंयाको छ ।
रजिष्ट्रार ठकेन्द्र गिरीले आँखा परिक्षण एवं आफन्तलाई रेष्टुरेन्टमा खाना खुवाएको ४५ हजार रुपैंयाको विल पनि विश्वविद्यालयबाट भुक्तानी गराएका छन् । ‘विश्वविद्यालयको लेखाका स्रेस्ता हेर्दा पदाधिकारीले आवास तथा दैनिक उपभोग्य सामानको विवरण उल्लेख गरेरै सम्भव नहुने खालको छ,’ स्रोतले भन्यो ।
कान्तिपुरको सम्पर्कमा आएका विश्वविद्यालयका एक कर्मचारीका अनुसार, पदाधिकारीहरुको खर्चशैली कुनै एक र्फमका सञ्चालकको जस्तो स्वेच्छाचारी र मनोमानीयुक्त थियो । ‘उपकलपति एवं रजिष्ट्रार लगायतकै गैर कानूनी क्रियाकलापका कारण मातहतका पदाधिकारीहरुले पनि विश्वविद्यालय कोषमा लुट मच्चाएको देखिन्छ,’ ती कर्मचारीले भने । उनका अनुसार, सामान्य अन्य सामान्य कर्मचारीहरुले पनि बैंठक, खाद्यान्न, भ्रमण लगायतका फर्जी विलमा बजेट खर्चेका थिए ।
उपकुलपति देवकोटा, रजिष्ट्रार गिरीका साथै सेवा आयोगका अध्यक्ष नवराज कणेल, लेखा नियन्त्रक कमल केसी, अनुगमन अधिकृत गगनसिंह बोहरा, उप-प्राध्यापक गणेश रावत, डिन रामचन्द्र अर्याल, सहायक प्रशासक पारसराम गिरी, सहायक प्रशासक जिवन कुमार थापा, उप-प्राध्यापक सुधन गौली लगायत विजया गिरी, नारायण गिरी, पुष्पा बंशी, सत्या थापा, रमेश चन्द्र, राधिका पनेरु, बसन्ता योगी, निरञ्जन कार्की, महेश शर्मा, जितेन्द्र श्रेष्ठ, हस्तमान सुनारले मनोमानी विल पेश गरेको छानविन प्रतिवेदनमा उल्लेख छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले विश्वविद्यालयजस्तो प्राज्ञिक निकायमा अत्यन्त मनोमानी ढंगले रकम दुरुपयोग भएको बताए । उनका अनुसार, आयोगको मध्यपश्चिम क्षेत्रिय कार्यालयको टोलीले विशेषज्ञहरुको सहयोगका साथ अनुसन्धानलाई टुंग्याएको हो । ‘मध्यपश्चिमाञ्जल विश्वविद्यालयमा पदाधिकारी एवं प्राज्ञिक व्यक्तित्व नै आर्थिक अनियमिततामा संलग्न भएको भेटियो,’ उनले भने ।
ट्राफिक प्रहरीले जरिवाना गराएको भनी रजिष्ट्रार गिरीले २१ हजार ४ सय रुपैंयाको विवरण पेश गरेका छन्, जव कि ट्राफिकलाई एक हजार रुपैंया भन्दा बढी रकम जरिवाना गर्ने अधिकार हुदैन । गिरीकै स्विकृतीमा आमा विरामी भनी पेस्की लिएका एक कर्मचारीले सेकुवा, पिजा एवं घरायसी खाद्यान्नको विल बुझाएका छन् । काठमाडौं सानेपास्थित सम्पर्क कार्यालयमा पनि विश्वविद्यालयकै शैलीमा विल पेश गरिएको स्रोतले जनायो ।
मदिरा, हृविस्की, चुरोट, मासूजन्य परिकार लगायत रेष्टुरेन्टको विलमा मात्रै उपकुलपति देवकोटाले ६ लाख ७२ हजार रुपैंया दुरुपयोग गरेका गरेको छानविनबाट खुलेको छ । त्यसैगरी रजिष्ट्रार गिरीले मदिरा लगायत खाना खर्चका नाममा १५ हजार ३१ हजार रुपैंया दुरुपयोग गरेका छन् । सेवा आयोग अध्यक्ष कडेलले पनि १७ हजार रुपैंया दुरुपयोग गरेका छन् ।
प्राध्यापक विदुर पौडेलका मतमा, मध्यपश्चिमाञ्चल लगायतका विश्वविद्यालयमा फैलिएको भ्रष्टाचारको मूल कारण शिक्षाक्षेत्रमा बढो राजनीतिक हस्तक्षेप हो । ‘प्रभाव र पहुचबाट पदमा पुगेको व्यक्तिलाई शिक्षाको गुणस्तरको चिन्ता हुने कुरै भएनु नेपाल संस्कृत विश्वविद्यालयका पूर्व-उपकूलपति रहेका पौडेलले भने, ‘असर र इमान्दार प्राज्ञिक व्यक्तिहरुलाई पाखा लगाएको परिणाम देखिन शुरु भएको हो ।’ अन्यत्रपनि यस्ता गतिविधी हुनेगरेको भन्दै पौडेलले विश्वविद्यालयस्तरका नीतिगत भ्रष्टाचारहरु अझै डरलाग्दो र सतहमा नआउने खालको भएको बताए ।
घटनावारे विश्वविद्यालयका पदाधिकारीले एकरअर्कालाई दोषारोपण गरेका छन् । उपकुलपति देवकोटाले आर्थिक प्रशासनको जिम्मा रजिष्ट्रारको भएकाले देवकोटा नै जवाफदेही हुनुपर्ने बताए । मदिराको विलमा पनि उनले आपत्ति जनाएका छन् । ‘म शाकाहारी भएकाले जीवनभर मदिरा सेवन गरेको छैन,’ उनको बयान उद्दृत गर्दै स्रोतले भन्यो, ‘पाहुना आएको बेलामा समेत मेरो घरमा माछामासु पाक्दैन, मलाई फँसाउन षडयन्त्र गरिएको हो ।’
रजिष्ट्रार गिरीले पनि आफ्नो प्रतिरक्षा गरेर उपकुलपतिमाथि जिम्मेवारी थोपरेको देखिन्छ । ‘म जहाँ गयो, त्यहाँ कार्यालय सम्झेर काम गर्ने गरेको छु,’ उनले भनेका छन्, ‘स्वभावैले त्यस्ता कामको विल पेश भएको हो । तर म मादक र सूर्तिजन्य पदार्थ सेवन नगर्ने व्यक्ति भएकाले त्यता ध्यान गएको छैन । कहिलेकाँही अतिथी सत्कारमा प्रयोग भएको हुनसक्ला ।’















प्रतिक्रिया