काठमाडौं, ५ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)को सातौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले पार्टी संगठन, समसामयिक राजनीति, आफ्नो नेतृत्वको सरकारको कामकारबाही र अहिलेको सरकारको समीक्षा लगायतका विषय समेटेर प्रतिवेदन पेस गर्नुभएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा आजदेखि सुरू भएको बैठकमा अध्यक्ष ओलीका तर्फबाट उपमहासचिव घनश्याम भुसालले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । एमालेका सचिव योगेश भट्टराईका अनुसार अध्यक्षको प्रतिवेदनमा समग्र राजनीतिक विषय उल्लेख रहेका छन् ।
आठ वटा शीर्षकमा रहेको ओलीको प्रतिवेदनले कांग्रेससँगको सम्बन्धी, प्रचण्डले एमाले नेतृत्वको वापन्थी गठबन्धन छाडेको देखि भारतको नाकाबन्दी र पार्टी पुनर्संरचनालगायतका विषय समेटिएका छन् ।
बैठकमा अध्यक्ष ओलीले पार्टीको एकताबद्ध प्रयास र नेतृत्वका कारण मुलुकमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनमा पार्टी सम्पूर्ण रुपमा परिचालित हुनुपर्नेमा नेताहरूलाई निर्देशन दिनु भएको थियो ।
‘निर्वाचन नगरी संविधान कार्यान्वयन हुन सक्दैन भन्ने बुझेरै यसमा आलटाल गर्ने कोसिस गरिएको छ । त्यसका विरुद्धमा पार्टी दृढतापूर्वक उभिन्छ । राष्ट्र, राष्ट्रियता र अग्रगमनलाई कमजोर बनाउने गरी आउने कुनै पनि प्रस्ताव पार्टीका लागि सह्य छैन’, ओलीले भन्नुभएको छ, ‘एमाले पार्टी सिमलको भुवा होइन, लामो इतिहास भएको, सिद्धान्त र विचारमा आधारित पार्टी भएका कारण सुविचारित निर्णय गर्दछ ।’
अध्यक्ष ओलीले राष्ट्रवादका पक्षमा उभिएको र कसैका सामु नझुकेको कारण एमाले नेतृत्वको सरकार ढालिएको दाबी गर्नुभएको सचिव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘प्रतिपक्षी भूमिकामा रहँदा समेत राष्ट्रप्रतिको हाम्रो भूमिकामा कुनै फरक पर्ने छैन’, उहाँले भन्नुभएको छ, ‘एकताबद्ध रुपमा पार्टीले सबै संकटहरुको सामना गर्नेछ र मुुलुकको अगुवाइ गर्नेछ ।’
बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा स्थानीय निकायको पुनःसंरचना (संख्या र सीमा), पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापन, प्रदेश संगठन कमिटी, सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन, स्थायी समितिका निर्णयहरूको अनुमोदन र केन्द्रीय आयोगहरूका प्रतिवेदनलगायत रहेका छन् ।
अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँट गरी केन्द्रीय कमिटी सदस्यहरूका नौवटा समूह बनाइएको छ । ती समूहहरूले बिहीबार एक बजेसम्म छलफल गरी बैठकमा धारणा प्रस्तुत गर्नेछन् ।
केन्द्रीय कमिटीको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।















प्रतिक्रिया