२९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका ‘राष्ट्रघात’का केही दृष्टान्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokhrel-office-final-fial– ईश्वर पोखरेल

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको भ्रमण गरेर सोमबार फिर्नु भो । आफ्नो चार दिनको यो भ्रमणमा उहाँले त्यहाँ गरेका र भनेका काम कुराहरू सार्वजनिक भएका छन् । यसरी सर्वजनिक भएका काम र कुराहरू यस्ता छन्-

(१) आफू विगतमा बाटो बिराएर जंगलमा हराएको तर अहिले सही बाटोको खोजीमा ठीक विन्दूमा आइपुगेको । दिनभरी बाटो बिराएर रात घर पुगेकालाई बाटो हराएको भन्न सकिन्न । (उहाँका लागि दिल्ली सही बाटोका लागि ऐतिहासिक स्थल बनेको छ !)

(२) आफ्नो दल (नेकपा माओवादी केन्द्र) सबैभन्दा धेरै र महत्वपूर्ण मन्त्रालयहरू लिएर सहभागी भएको विगत सरकारका प्रमुख केपी शर्मा ओलीका कारण असामान्य र असन्तुलित बनेको नेपाल– भारत सम्वन्धलाई आफूले सन्तुलनमा ल्याउने (ल्याएको) महत्वपूर्ण काम गरेको कुरा सार्वजनिक गर्नुभएको छ ।
निर्लज्जताको पराकाष्ठा !

(३) नेपालले आफ्नो संविधान आफ्नै जनताले निर्वाचित गरेका प्रतिनिधिहरूले जारी गरेको कुरामा ‘नाखुशी’ र विरोध समेत व्यक्त गर्दै आएको भारतसँत एउटै स्वरमा ‘सबैलाई समेटेर संविधानको संशोधन गरिने’ कुरा पुष्पकमल दाहालले वाचा गर्नुभएको छ । नेपालको संविधानका सम्वन्धमा भारतले नकारात्मक कोणबाट विश्लेषण गर्दैआएको, त्यसैअनुसार अन्तर्राष्ट्रिय रूपमा ‘लबिंग’ पनि गर्दै
आएको कुरालाई प्रम पुष्पकमल दाहालले सारतः समर्थन गर्नुभएको छ । नेपालको आन्तरिक मामिलामा सन् १९५० (२००७ साल) ताका नेपालका प्रधानमन्त्रीसँग भारतीय राजदूतले संयुक्त रूपमा हस्ताक्षर गरेर नेपालको भाग्य र भविष्यको फैसला गर्थे, अहिले नेपालस्थित भारतीय राजदूतावास र पुष्पकमल दाहालको नेतृत्वको सरकारले संयुक्त रूपमा ९२ प्रतिशत भन्दा बढी जनप्रतिनिधिहरूले हस्ताक्षर गरी बनाएको संविधानलाई चीरहरण गर्ने काम गरेका छन् – ‘सबैलाई समेट्ने गरी संशोधन गर्ने छौं’ भनेर संयुक्त हस्ताक्षर गरेछन् । ‘संविधानको सर्वस्वीकार्यता’को पाखण्डी र संविधान निर्माणको नीतिगत र सैद्धान्तिक आधार विपरितका तर्कहरूका मतियार बनेछन् ।

(४) संयुक्त प्रेस वक्तव्यमा कतिपय तपशीलका विषयहरू उल्लेख गरिए पनि विगत ऐतिहासिक– राजनीतिक रूपले पृथक कालखण्डमा गरिएको असमान र अपमानजनक १९५० को सन्धिलाई पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा एक शव्द बोलिएन (बोल्नसक्नु भएन पुष्पकमल दाहालजी ।) यसमा भारतको अरूचीलाई पुष्पकमल दाहालजीले ‘सम्मान’ गर्न पुग्नु भएको छ । नेपालको स्वतन्त्रता, स्वाधिनता, नेपालले स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने अधिकारलाई कुण्ठित बनाउने हिसावले संविधानका बारेमा भारतीय रणनीतिक डिजाइनको सहयोगी बन्न पुग्नुभएको छ, पुष्पकमल दाहालजी ।

prachanda-modi

(५) विगतमा अन्तर्राष्ट्रिय कानून तथा मान्यता विपरित नेपालमाथि लगाइएको अमानवीय नाकावन्दीका कारण सिर्जीत नेपाल–भारतबीचको सम्वन्धमा उत्पन्न असहज प्रशंगको कहीं कतै संझना समेत नगरी भारतले नेपालमाथि लगाउँदै आएको ‘गुन’का कारण उसलाई संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको स्थायी सदस्यको मनोनयनमा सघाउने मित्रतापूर्ण उदघोष गर्नुभएको छ । अन्तर्राष्ट्रिय मामिलाहरूमा भारतसँत समान दृष्टिकोणका साथ अघि बढ्ने साझा संकल्प गर्नुभएको छ, पुष्पकमल दाहालजीले ।

(६) छिमेकी मित्र भारतले सहयोगस्वरूप निर्माण गर्न प्रतिवद्धता व्यक्त गरे पनि वर्षौं वर्ष वितिसक्दा पनि निर्माण हुन नसकेको, अधूरा र अपुरा रहेका योजनाहरू पूरा गर्ने सम्बन्धमा योजनाबद्ध समयसीमा तोकेर सहमति गर्नुको सट्टा गोश्वार प्रतिवद्धता मात्र व्यक्त गरिएको तर भूकम्प पीडित जनतालाई आर्थिक सहयोगका लागि भने ‘प्रत्यक्ष सहभागी बनाउने’ मनसाय व्यक्त गर्नुभएछ पुष्पकमल दाहाल जीले ।

वाह रे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालजी । तपाईंले गरेको राष्ट्रघात र तपाईंको निधारमा लागेको राष्ट्रघातको कालो टिका अब तपाईंले कसरी मेट्नसक्नु हुन्छ ?