नुवाकोट, १३ भदौ । अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा बेल्कोट गाउँ विकास समिति वडा नम्बर १ मा तीन जनाको मृत्यु भएको छ ।
वडा नम्बर १ को बगुवापाखामा घर पुरिँदा २७ वर्षीया गङ्गा ढकाल, उनका छोराछोरी पाँच वर्षीय नवीन ढकाल र दुई वर्षीया गरिमा ढकालको मृत्यु भएको हो ।
शुक्रबार बिहान करिब २ बजेतिर घर पुरेको र उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बेल्कोट गाविसका थुप्रै स्थानमा पहिरो गएको र स्थानीय जनता जोखिममा रहेको प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
घटनास्थलको अवलोकन र थप पहिरोपीडितको उद्धारका लागि नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेललगायतका सरकारी अधिकारीहरु अहिले घटनास्थल गएका छन् ।
यस्तै, गएरातिको पहिरोले पासाङल्हामु राजमार्गअन्तगर्तको बेल्कोटको अमारेदेखि विदुर नगरपालिकाको तादीपुलसम्मको सडक क्षतविक्षत पारेको छ । साना ठूला गरेर २१ वटा पहिरो गएको छ ।
पहिरोका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ जाने र काठमाडौँबाट यता आउने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
पहिरोकै कारणले नर्जामण्डप गाउँ विकास समितिको वडा नंं ६ को दुई सय रोपनी धान खेत पुरिएको छ । बच्छलादेवी मन्दिर परिसरको पहिरो बग्दा खेत पुरिएको र छेउछाउका तीन घर जोखिममा परेको सामाजिक परिचालक रामचन्द्र खनालले जानकारी दिनुभयो ।
नर्जामन्डपकै वडा नम्बर ३ बन्चरेमा पहिरो जाँदा नौ घर जोखिममा परेका छन् । पहिरो गाउँको डिलमा थुप्रिएको र थप पहिरो आउने त्रासमा स्थानीय बासिन्दा रहेको शिक्षक रामकृष्ण खनालले जानकारी दिनुभएको छ । स्थानीय जनता पहिरो नियन्त्रणका लागि बिहानैदेखि लागे पनि माटो बग्ने क्रम नरोकिएको बताइएको छ । रासस















प्रतिक्रिया