काठमाडौं, २ असोज । संविधान दिवस विरुद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले अलग अलग विरोध कार्यक्रम राखेपछि अन्ततः यी दुबै मोर्चा बिभाजनको अन्तिम संघारमा पुगेका छन् ।
संविधान दिवसका विरुद्ध ‘कालो दिवस’ मनाउने भन्दै मधेसी मोर्चा र संघीय गठबनधनले अलग अलग कार्यक्रम राखेपछि यी दुई मोर्चावीच विभाजन सरह भएको एक नेताले बताए ।
मधेसी मोर्चामा आवद्ध रहेका सातमध्ये चार दलले माइतीघर मण्डलामा दिउँसो दुई बजे अलग कार्यक्रम राखेका छन् । मधेसी मोर्चामै आबद्ध तीन दलले संघीय भने गठबन्धनको नाममा रत्नपार्कस्थित शान्तिबाटिकामा अलग कार्यक्रम राखेका छन् ।
मधेसी मोर्चा र संघीय गठबन्धनले अलग अलग बिरोध कार्यक्रम राखेका विषयमा सोधिएको प्रश्नमा राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले भन्नुभयो, ‘संघीय गठबन्धनले संविधान दिवस विरुद्ध कालो दिवस मनाउने पहिला नै निर्णय गरेको हो । गठबन्धनले दिउँसो दुई बजे शान्तिबाटिकामा विरोध कार्यक्रम राखेको छ । सबै घटक दलहरूलाई बोलाएका छौँ । मधेसी मोर्चाले कतै विरोध कार्यक्रम राखेको रहेछ भने मलाई थाहा छैन ।’
मधेसी मोर्चामा रहेका महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वका मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले माइतीघर मण्डलामा अलग दिउँसो दुई बजे विरोध कार्यक्रम राखेका छन् ।
मधेसी मोर्चामा आवद्ध उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीसहितका दलहरूले शान्तिबाटिकामा दुई बजे विरोध कार्यक्रम राखेका छन् ।
एउटै समयमा मधेसी मोर्चा र गठबन्धनमा आवद्ध दलहरूको अलग अलग विरोध कार्यक्रम हुनुलाई नेताहरूले मधेसी मोर्चा र गठबन्धन दुबै विभाजन भएको अनुमान लगाएका छन् ।
यसअघि पनि व्यक्तिगत टकरावका कारण मधेसी मोर्चा र गठबन्धन विभाजनको संघारमा पुगेर बालबाल बचेको थियो । यसपटक अलग अलग कार्यक्रम भए विभाजन हुने निश्चित प्रायः छ ।











प्रतिक्रिया