२८ कार्तिक २०८३, शनिबार

‘प्रचण्ड’ सरकारले निर्वाचन नगर्न आलटाल गरेको एमालेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Nepalकाठमाडौं, १ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधानले आफ्नो कार्यान्वयनका लागि आफैं बाटो देखाएको भन्दै तीन तहको निर्वाचन गर्न आलटाल भएको आरोप लगाएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गरेर एमालेले संविधान जारी भएको करिब दुई वर्षमा तीनै तहका निर्वाचन गरेपछि मात्रै अहिलेको संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय, न्यायोचित विकास र समग्र उन्नतिको ढोका खुल्ने जनाएको हो ।

‘तर, संविधान जारी भएपछि लगातार रुपमा यसलाई असफल पार्न भइररहेका कोसिसहरूकै परिणामस्वरुप निर्वाचनलाई उपेक्षा गर्ने काम भइरहेको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘यसअघि हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयनको विस्तृत कार्ययोजना बनाई १८ महिनामा तीनै तहका निर्वाचन सम्पन्न गर्ने मार्गचित्र संसद् समक्ष पेस गरेको थियो ।’

एमालेले विज्ञप्तिमा अगाडि भनेको छ, ‘लगत्तै उक्त सरकारलाई मात्र हटाइएन, स्थानीय तहको पुनःसंरचनामा आलटाल गराउने र निर्वाचनलाई पर धकेल्ने काम योजनाबद्ध रुपमा भइरहेको छ । मंसिरमा स्थानीय तह, चैतमा प्रदेश तह र अर्को वर्षको मंसिरमा केन्द्र्रीय तहको निर्वाचन गरेर वर्तमान व्यवस्थापिका–संसद्को म्याद सकिनु अगावै २०७४ माघ ७ भित्र सबै जनप्रतिनिधिमुलुक निकाय खडा गरेर संविधान कार्यान्वयन गर्ने हाम्रो योजना तुहाएर वर्तमान सरकार निर्वाचन नगर्ने दिशामा अघि बढेको छ ।’

जानजान मुलुकलाई संवैधानिक शून्यतातिर लैजाने र राजनीतिक सङ्कट खडा गर्ने यस प्रयत्नप्रति एमाले सचेत रहेको भन्दै त्यसका विरुद्धमा दृढतापूर्वक सङ्घर्षरत रहने सचिव प्रदीप ज्ञवालीले बताउनुभएको छ । ‘अतः हामी निर्धारित समयमा निर्वाचन गरी मुलुकको लोकतन्त्र र संविधानलाई कार्यान्वयन गर्नमा आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैमा हार्दिक अपील गर्दछौँ’, ज्ञवालीले भन्नुभएको छ ।

‘जनताका प्रतिनिधिका रुपमा यो संविधान हामीले बनाएका हौँ र यसको स्वामित्व हामी लिन्छौँ’, विज्ञप्तमा भनिएको छ, ‘त्यही भएरै यसको रक्षा र कार्यान्वयनमा हामी दृढतापूर्वक उभिन्छौँ ।’

यसैवीच, एमालेले यही असोज ३ गते पहिलो संविधान दिवस भव्यताका साथ मनाउने जनाएको छ । उक्त दिन अपरान्ह १ बजे काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर २ बजे बसन्तपुर पुगी संविधान दिवस मनाउने कार्यक्रम तय गरेको एमालेले जनाएको छ । कार्यक्रमलाई पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नुहुनेछ ।