
पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभएको छ, किन ?
– हो, पोखराकै अग्रणी संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा मैले उम्मेदवारी दिएको छ । अग्रज, शुभेच्छुक र सहकर्मीसँगको सल्लाह अनुसार म चुनावी मैदानमा होमिएको हुँ ।
संघको पहिलोपटक विधान संशोधन भएकोले यसपाली चुनावी माहोल कस्तो भईरहेको छ ?
– पोखरा उद्योग वाणिज्य संघको विधान संशोधन हुनुभन्दा पहिला अध्यक्षमा मतदान हुने गरेको थियो । अन्य पदाधिकारी कार्यसमिति सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान थियो । अहिले विधान संशोधन भएपछि अन्य मुख्य पदहरुमा समेत निर्वाचन हुने व्यवस्था भयो । अध्यक्षवाहेक अन्य पदमा पनि उम्मेदवारहरुको आकर्षित हुनुपर्नेमा त्यसो देखिएन । अहिले कार्यसमितिमा रहेका ५ र निवर्तमान कार्यसमितिबाट १ गरी छ जना चुनावी मैदानमा छौं । यसको पछि कारण के छ मैले बुझ्न सकेको छैन । अरु पदमा उठेर हार्नुभन्दा अध्यक्षमै उठ्ने रहरले पो हो कि ? सहमतिबाट जान सके सबैजनाई पद पुग्ने अवस्था थियो । त्यो हुन सकेन ।
तपाई एक दशकदेखि संघमा आवद्ध हुँदै प्रथम उपाध्यक्षसम्मको जिम्मेवार वहन गर्दा संघमा तपाईले के कस्तो भूमिका खेल्नु भयो ?
स्थापनाकालदेखि नै पोखरा उद्योग वाणिज्य संघले व्यवसायीको हितभन्दा माथि उठेर सामाजिक, शैक्षिक र अन्य क्षेत्रमा समेत विशेष योगदान पु¥याउँदै आएको छ । पृथ्वीनारायण क्याम्पस, कन्या स्कुल, पोखरा वहुमुखी क्याम्पस मात्र नभएर पोखरा विश्वविद्यालयको स्थापनामा पोखरा उद्योग वाणिज्य संघले सक्रियरुपमा अगुवा भएर काम ग¥यो । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिन संघकै नेतृत्वमा दबाबमूलक कार्यक्रम पनि गरियो । जसका कारण विमानस्थल शिलान्यास भएर काम अघि बढेको छ । यहाँ मैले के जोड्न खोजेको भने पोखरा उद्योग वाणिज्य संघ यो क्षेत्रको विकासको साझेदार हो र समाजसेवामा पनि क्रियाशील छ । लायन्स अन्तराष्ट्रियको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हर्ट केयर सेन्टर सञ्चालनमा पोखरा उद्योग वाणिज्य संघले सहयोग गरेको छ । यी र यस्तै धेरै काममा संघले अगुवाइ र सहयोग गरेको छ, यस्ता कार्यलाई मैले निरन्तरता दिनेछु ।
संघको अध्यक्षको उम्मेदवारीमा तपाई जस्तै ६ जना हुनु हुन्छ तर पोखरेली उद्योगी व्यवसायहरुले तपाईलाई नै किन मत दिने ?
– जहाँसम्म मेरो सवाल छ, २०६३ सालदेखि लगातार कार्यसमितिमा क्रियाशील रहँदा उद्योगी, व्यवसायी साथीहरुले सधैं मलाई माया गर्दै आउनुभएको छ । २०६७–६९ को कार्यसमितिमा द्वित्तीय उपाध्यक्ष र वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष भएर काम गरेकाले स्वभाविक रुपमा मेरो पालो हो । त्यसैले म अध्यक्षमा उठेको हुँ । आफ्नो ब्यवसायका अतिरिक्त चेम्बर आन्दोलनमा लागेको, दर्जनौं पटक कार्यबहाक अध्यक्ष भएर काम गरेको अनुभव मसँग छ । देश विदेशका सहरमा पुगेर त्यहाँका चेम्बरले गरेको गतिविधिलाई मैले नजिकबाट बुझेको छु । त्यसलाई लागु गर्ने मेरो प्रयत्न रहनेछ ।
साँच्चै संघमा हाल तपाईंले देखेका समस्या के के हुन ? ती समस्याको समाधान गर्न तपाई यदि अध्यक्षमा निर्वाचित हुँदा कस्तो र यदि पराजित हुँदा कस्तो भूमिका खेल्नु हुन्छ ?
– ६ दशक पहिला जुन उद्देश्यले संघको स्थापना भएको थियो, त्यही अनुसार कार्य हुँदै आएका छन् । संघमा त्यस्तो गहन समस्या त केही छैन, तर पनि समग्र पोखरेली उद्योगी व्यवसायीले यसमा अपनत्व महसुस गर्न सकेको पाइएको छैन । ४० हजार भन्दा बढी करदाता रहेको पोखरामा उद्योग वाणिज्य स्रघमा झन्नै ३ हजार मात्र सदस्य रहनु सकारात्मक मान्न सकिन्न । सचिवालयलाई अझै चुस्त बनाउनुछ । व्यवसायीहरुलाई पर्ने समस्या निराकरण गर्न अझै पहलकदमी चाल्नुपर्ने देखिएको छ । त्यसो त अहिले पनि हामीले हेल्प डेस्क सञ्चालनमा ल्याएका छौं । म पदमा रहे पनि संघको विकास र आधुनिकीकरणका लागि हरदम लागिरहनेछु ।
तपाईंका चुनावी एजेण्डा के के छन् ?
– चेम्बर अभियानमा लाग्ने भनेको नै उद्योगी व्यवसायीको हितको लागि हो । म अध्यक्ष भएर धेरै कुरा गर्नसक्छु भने सपना बाँड्न चाहन्न । जे जे गर्न सकिन्छ त्यति मात्रै कुरा गर्ने हो । वर्तमान कार्यसमितिले अघि बढाएका कामलाई निरन्तरता दिनु मेरो पहिलो दायित्व हुनेछ । कतिपय कामलाई निरन्तरता दिनु छ भने कतिपय नयाँ सुरुवात पनि गर्नुपर्नेछ । व्यवसायीलाई आइपर्ने समस्या समाधान गर्नु चेम्बरको पहिलो दायित्व हो । उद्योग प्रशासन र मजदुरबीच विभिन्न खाले समस्या देखिने गरेका छन्, दुवै पक्षलाई राखेर दीर्घकालीन समाधानमा म केन्द्रित हुनेछु । आन्तरिक राजस्व कार्यालय र पोखरा उपमहानगरपालिकासँग हामीले सहकार्य गर्दै आएका छौं । करको दर भन्दा पनि दायरा बढाउन जोड दिने, अहिले निकै ठूलो समस्याको रुपमा देखिएको घरवाहल करलाई व्यवस्थित बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि मैले पहल गर्नेछु ।
यसो हेर्दा संघको नेतृत्व चयन हुने भए पनि संचार उद्यमीहरुबीचको भिडन्त, त्यसमा पनि राजनीतिक कारण भएको छ भन्छन्, तपाईं के भन्नुहुन्छ ?
अध्यक्षका उम्मेदवार ३ जना सञ्चारमाध्यमबाट देखिएका छौं । ३ नै जना पोखराको चेम्बर आन्दोलनमा लामो समय देखि क्रियाशील छौं । प्रथम उपाध्यक्ष भएको स्वाविक रुपमा म अध्यक्षको दाबेदार रहेको म दोहो¥याउन चाहान्छु । यो व्यक्तिको लागि हुने चुनाव हैन, संस्थाको लागि हो । यसमा कुनै राजनीतिक कारण मैले देख्दिन । हामी व्यवसायी हौं । राजनीतिक पार्टीको परिचयपत्र लिएर उद्योग वाणिज्य संघमा छिर्ने हैन । दलीय स्वार्थ बाहिर राखेर संघको ढोकाभित्र छिर्ने हो । व्यवसायीको हितमा काम गर्ने हो ।
पहिला अत्याधिक मत ल्याएकाले पनि तपाईं ढुक्क हुनुभएको हो ?
– हो, २०६३ सालमा युवा उद्यमी मञ्च पोखराको प्रतिनिधिको रुपमा म संघको कार्यसमिति सदस्ययमा उठेको हुँ । त्यसपछि कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । मतदाताको सहयोगबाट यो सम्भव भएको हो । द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्ष भएर काम गरिसकेकाले मसँग प्रशस्त अनुभव छ । सदस्यबाट सिधै अध्यक्षमा लडेको भए अस्वाभाविक लाग्न सक्थ्यो । मतदाता समक्ष मेरो अन्तिम अनुरोध हो, विगतमा झै माया गर्नुहुनेनै छ । १ कार्यकालको लागि मात्र म अध्यक्षमा रहनेछु, अहिले विजयी गराएर पठाउनुभयो भने अर्काेपटक म भोट माग्न आउने छैन ।
अन्त्यमा पोखरेलीहरुलाई तपाईको सन्देश के छ ?
छ जना उम्मेदवार चुनावी मैदानमा छौं । सबैले आफ्नो तरिकाले प्रचारगरिरहनुभएको छ । म कसैलाई आरोप प्रत्यारोप गर्न चाहान्न । पोखरामै जन्मे हुर्केको मैले पोखराबाहेक अन्यत्र कहिल्यै सोचिन । यहीं विभिन्न व्यवसाय सञ्चालन गरें । मैले सञ्चालन गरेका प्रतिष्ठानहरुमा २ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी दिँदै आएको छु । धेरैजसो मतदाताको घरमा पुगेको छु । यदि कहीं कतै छुटेको छ, भेटघाट हुन सकेको छैन भने आफ्नै भाइसाथी ठानेर मत दिई विजयी गराइदिनुहुन अनुरोध गर्छु । म एक्लै छैन । सशक्त टिम मसँग छ । तपाईंहरुकै भावना अनुसार हामी काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।













प्रतिक्रिया