२८ कार्तिक २०८३, शनिबार

प्रचण्डको भ्रमणमा नेपालबाट के चाहन्छ भारत ? यसो भन्छन् भारतीय नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-flag

नयाँ दिल्ली, ३० भदौ । भारतीय नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत हुने स्पष्ट पारेका छन् ।

भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोशीयारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजबाट हुने भारत भ्रमणले नेपाल–भारत सम्बन्धको अविश्वास बादल हट्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा कोशीयारीले भने, ‘प्रधानमन्त्री प्रचण्डजीको भारत भ्रमणले दुईदेशवीचको अविश्वासको कालो बादल हट्छ, उहाँको भ्रमणसँगै सम्बन्धको नयाँ पाईलाहरु, यात्राहरु र पानाहरु पल्टिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

नेपाल—भारत सम्बन्ध प्रवुद्ध समूहका भारत तर्फका संयोजक समेत रहेका कोशीयारीले प्रचण्डको आजदेखि हुने भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको समेत स्पष्ट पारे । उनले अघि थपे, ‘उहाँ र भारतको सम्बन्ध अत्यन्तै राम्रो छ, घनिष्ठ छ ।’

नेपाली जनता अहिले आर्थिक समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै भारत नेपालको शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको कोशीयारीको भनाई थियो । ‘यसपटक मोदी र प्रचण्डवीच खुल्ला ह्दयका साथ कुरा हुन्छ,’ उनले थपे ।

नेपालको संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको उनको तर्क थियो । संविधान संशोधनमा काँग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चा र नेकपा एमालेकोवीचमा मध्यस्थता गर्नुपर्ने उनको सुझाव छ ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले द्धिपक्षीय सम्बन्ध राम्रो हुने विश्वास व्यक्त गरे । उनले अघि थपे, ‘मोदीजी अहिले सकरात्मक छ, दुईदेशवीच देखिएको अविश्वासको कालो बादल अब हट्नेछ ।’

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डवीच समझदारी बढेको भन्दै प्रचण्डको भारत भ्रमण फलदायी हुने उनको विश्वास थियो ।

नेपाल–भारत सीमा समस्याका बारेमा पनि द्धिपक्षीय समझादारी बन्ने यादवले बताए । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा आज साँझ प्रधानमन्त्री प्रचण्ड र विहारका मुख्यमन्त्री नितिश कुमारबीच हुने छलफलमा समझादारी बन्ने यादवले स्पष्ट पारे ।

काँग्रेस आईका विदेश विभाग प्रमुख एवम् नेपाल मामिलाका जानकार डा. करण सिंहले प्रचण्डको यो भ्रमणलाई आफ्नो पार्टीले विशेष महत्व दिएको स्पष्ट पारे ।

प्रचण्डको भ्रमणसँगै द्धिपक्षीय सम्बन्ध प्रगाढ बन्ने, समझदारी बन्ने र नयाँ जग हालिने डा. सिंहको भनाई थियो । उनले थपे, ‘प्रचण्डजीको यो भ्रमणसँगै अब द्धिपक्षीय सम्बन्धमा कहिल्यैपनि अप्ठ्यारोहरु आउने छैन ।’

उनले आफ्नो पार्टी प्रचण्डको स्वागतको लागि आतुर रहेको समेत स्पष्ट पारे ।