काठमाडौं, २८ भदौ । देशभक्त गणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले क्रान्तिको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रान्तिको नेतृत्व गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलबार नेकपा माओवादी क्रान्तिकारीको पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष गजुरेलले प्रचण्ड राष्ट्रघातिहरुसँग मिल्न गएको आरोप लगाउनुभयो ।
‘कुनै बेला क्रान्तिको नेतृत्व गर्ने प्रचण्ड अहिले प्रतिक्रान्तिको नायक बन्नुभएको छ । उहाँको कारण राष्ट्रियता पनि खतरामा पर्दै गएको छ,’ उहाँले भन्नुभयो- ‘भारत भ्रमणमा जान लाग्नुभएको छ उहाँ । भारत जादाखेरी राष्ट्रघाति सन्धीसम्झौता गर्नुहुन्छ भनेर सिंगो मुलुकले उहाँलाई सचेत गरिरहेको छ ।

अध्यक्ष गजुरेलले भारतसँग राष्ट्रहित विपरित सन्धीसम्झौता नगर्न चेतावनी दिनुभयो । ‘यदि राष्ट्रघाति सन्धी सम्झौता भयो भने हामीहरु चुप लागेर बस्नेवाला छैनौं ।’
यसैबीच नेकपा माओवादी क्रान्तिकारीको खुला मोर्चा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले अबको निर्वाचनमा भाग लिनेभएको छ । सोही परियोजनका लागि यो मोर्चा गठन गरिएको गजुरेलले जानकारी दिनुभयो ।














प्रतिक्रिया