
धादिङ जिल्लाको दुर्गम गाउँमा भिषण बर्षापछि आएको पहिरोले पिछडिएको चेपाङ जातिको बसोबास रहेको गाउँ नै बग्ने अवस्था आएपछि नेपाल प्रहरीको सानो टुकडी दिनभर पैदल हिडेर त्यो गाउँतिर जाँदै गर्दा अमेरिकाको डलास राज्यमा प्रहरी कारबाहीविरुद्ध भएको जनप्रदर्शनलाई अमेरिकी प्रहरीले हेलिकप्टरबाट अनुगमन गरिरहेको समाचार आइरहेको थियो । यसरी हेलिकप्टरबाट अनुगमन भइरहेको डलासको प्रदर्शनीमा पाँच प्रहरीहरु मारिएको समाचार बाहिरिँदै गर्दा उता धादिङको दुर्गम चेपाङ वस्तीको उद्दारमा हिडेका एक सेक्सन प्रहरीमध्ये कोही बिरामी भएर त कोही मौसम र पहिरोले अगाडि बढ्न नसकेको, साधन र स्रोतविहीन अवस्थामा पनि दुई जना प्रहरी (एक हवल्दार र एक प्रहरी जवान) मात्र ज्यान हत्केलामा राख्दै पहिरोसँग पैँठेजोरी खेल्दै गरेको समाचार बाहिरिएको थियो । जब ती प्रहरी जवानहरु पहिरो (पहाड) उक्लिदै गरेको फोटो प्रकाशित भयो, त्यो फोटो सामाजिक सञ्जालमा भाइरल नै बन्यो । सँगसँगै बडो प्रशंसा र बहादुरीका प्रतिक्रियाहरु लेखिए, छापिए । परेको अभाव, आवश्यकताका कुराहरु कही उठेनन् वा उठाइएनन् ।
विगतमा केही वर्ष नेपाल प्रहरीमा कार्य गर्दा प्रहरीभित्रका अभाव र त्यही अभावभित्र आवश्यकतालाई प्रहरीले आफै व्यवस्थापन गर्दै जनताको सेवा गरेको क्षणलाई स्मरण गर्दै अहिले आफू बसेको देशको प्रहरीहरुको साधन, श्रोत,सुबिधा र काम गर्ने वातावरण हेर्दा लाग्छ- धन्न गर्छन् नेपालका प्रहरीहरुले काम । कुनैपनि सभ्य समाज र सक्षम सरकारको प्रथम आवश्यकता र प्राथमिकता त्यहाँको सुरक्षा व्यवस्थापन हुन्छ र हुनु पनि पर्छ । सुरक्षा व्यवस्थापनभित्र त्यहाँका जनताको जनधनको सबै किसिमबाट हुनसक्ने क्षतिबाट बचाउनु हो । जसको लागि जनशक्ति भएर मात्र हुँदैन्, ऊ प्रशिक्षित पनि हुनुपर्छ । अर्को महत्वपूर्ण पक्ष भनेको ऊ सुसज्जित हुनैपर्छ । साधन र स्रोतविनाको प्रहरी भनेको बिना हतियार युद्धको मैदानमा उभिएको सैनिक जस्तै हो । उसँग मनोबल र उच्च सेवाभाव (चेपाङ बस्तीमा हिडेका ती बहादुर प्रहरीहरुजस्तै) त होलान् । तर त्यो पर्याप्त हैन कि प्रत्युत्पादक समेत हुनसक्छ । आज चेपाङबस्तीको पहिरोमा हिम्मतसाथ ज्यान हत्केलामा राखेर उकालो चढ्दै ती पहिरोपीडितलाई उद्धार गरेर ‘वाहवाही’ कमाइरहेका ती बहादुर प्रहरीहरु पहिरोको बीचमै कुनै दुर्घटनामा परेको भए के हुन्थ्यो ?
यी प्रश्नको जवाफ गत महिना गठित सरकार र त्यस सरकारका गृहमन्त्रीले खोज्नुपर्ने देखिन्छ । कुनैपनि सरकारको पहिलो प्राथमिकता सुरक्षा व्यवस्था नै हुन्छ र हुनु पनि पर्छ । जब देशमा सुरक्षा व्यवस्था राम्रो हुन्छ, अर्थात जनताले सुरक्षित महसुस गर्दछ, त्यहाँ उसले सरकारको उपस्थिति महसुस पनि गर्दछ । त्यही विकासको अनि समृद्धिको आधार पनि बन्दछ । त्यसैले विकसित मुलुकका सरकारले सुरक्षालाई प्रथम आधारशिला बनाउँछ । त्यसैले प्रहरीलाई साधन र स्रोतले सुसज्जित पार्दछ, किनकी उनीहरुले प्रष्ट बुझेका छन् – साधन र स्रोत विनाको सुरक्षा मात्र कल्पना हो, जो सफल हुनसक्दैन् । नेपालको सन्दर्भमा यी कुराहरु अलि फरक छन् । बीबीसीबाट नियमित प्रशारण हने प्रहरी कारवाहीको नियमित दर्शक मेरा छोराले एकपटक सोधेका थिए– के नेपालमा पनि ‘पुलिस अपरेशन’ यसरी नै गरिन्छ ? म ट्वाँ परेको देखेर उनले फेरि पनि दोहोर्याएर सोधेका थिए– के नेपालमा पनि ‘पुलिस अपरेशन’ यसरी नै गरिन्छ ? म ट्वाँ परेको देखेर उनले फेरि पनि दोहोर्याएर सोधेका थिए – किन उस्तै हुँदैन् र ? उसले मेरो ‘नाजवाफ’लाई अर्कै अर्थमा बुझेछ क्यारे । बेलायती प्रहरीले कुनै व्यक्ति अपराध गरेर भाग्दा वा कुनै घरमा भएको शंकास्पद व्यक्तिमाथि अपरेशन गर्दा प्रयोग गरिने हेलिकप्टर, पर्याप्त गाडीहरु, तालिम प्राप्त कुकुरहरु, अन्य संस्थाका आधुनिक साधन तथा अन्य सुरक्षा उपकरणहरु जुन हाम्रो नेपालका प्रहरीको साधन र स्रोतविहीन ‘प्रहरी कारबाही’सँग दाँज्नै नमिल्ने सन्दर्भमा म ‘नाजवाफ’ भएको थिएँ । मैले छोरालाई भन्न पनि सकिन कि छोरा यस्तो साधन–श्रोत त हाम्रो राष्ट्र प्रमुखको कारगेटमा मात्रै होला । अनि यो पनि भन्न सकिन- हाम्रो देशको दुईवटै प्रहरीसँग एउटा हेलिकप्टर पनि छैन् । उसले आफ्नो बुवाले कुनैदिन एक दशक बढी सेवा गरेको र आजपर्यन्त ‘मिस’ गरिरहेको नेपालको प्रहरी पनि बेलायतको प्रहरी जत्तिकै साधनसम्पन्न छ भन्ने ठान्दछ । सायद मेरो कुरा सुन्दा सुन्दा पनि हुनसक्छ – उ नेपालको प्रहरीलाई एकदम सबल ठान्दछ, अझ भनौ जे पनि गर्न सक्छ ।
अनि– बेलायती प्रहरीले केही कमजोरी गरेको पायो भने सोध्दछ – ‘बाबा, नेपालको प्रहरी भएको भए यस्तो गर्थ्यो होला !’ हो वास्तवमा नेपालको प्रहरी साधनमा विपन्न भएपनि आफ्नो क्षेत्रमा सबल लाग्छ । त्यसैले बेला बेलामा भन्ने गरेको छु– यदि नेपालको प्रहरी जस्तो साधन स्रोतमा बेलायती प्रहरीले काम गर्नुपर्यो भने, आत्तिएर भाग्थ्यो होला ।
हुनत विकसित र विकासोन्मुख देशको प्रहरीका स्रोत र साधनको एकरुपताको अपेक्षा आफैमा अकल्पनीय हो । तर अपेक्षा स्वभाविक भने हो । अमेरिकाको डल्लास प्रहरीले भोग्ने र नेपालको धादिङको प्रहरीले भोग्ने समस्या उस्तै हो । तर, साधन र स्रोत भने आकाश जमिनको फरक छ । धादिङको चेपाङ बस्तीमा गएको पहिरोबाट उद्दार गर्न पहिरो छिचोल्दै हिडेका प्रहरी र अमेरिकाको डल्लासमा हेलिकप्टरबाट तल जुलुसलाई निगरानी गर्दै गरेका प्रहरीको मनोबल पक्कै फरक छ नै । करिब २० वर्ष अगाडि नेपाल प्रहरीले पनि हेलिकप्टर किन्ने लगभग तय भएको थियो । सुनिन्थ्यो– त्यसको लागि निश्चित बजेट पनि छुट्याइसकेको थियो । यतिसम्म कि प्रहरीभित्रै पाइलटको ट्रेनिङको कुरा पनि उठिसकेको थियो । तर, बीसौ वर्ष वितिसक्दा पनि उँडेन प्रहरीको, त्यो हेलिकप्टर । बरु यसबीचमा माओवादी जनयुद्धको भीषण मार खेप्यो, अनि एउटा प्रहरीबाट दुईवटा प्रहरी बन्यो तर, साधन स्रोतको अभावले छाडेन प्रहरीलाई ।
नयाँ सरकार र नयाँ गृहमन्त्रीले यसबारेमा थोरैमात्रै गम्भीर भइदिने हो भने अर्थात प्रधानमन्त्रीकै भाषामा क्रमभंग गर्ने प्रयास गर्ने हो भने उनकै भाषामा नेपालको प्रहरीले गर्ने सुरक्षा व्यवस्थाले ठूलै छलाङ मार्ने थियो । नेपालको प्रहरीलाई साधन बनाउने गृहमन्त्रीहरु त धेरै नै आए तर नेपालको प्रहरीलाइ साधनको व्यवस्था गरिदिने अर्थात प्रयास मात्रै गरिदिने गृहमन्त्रीहरु कमै आए, अझ भनौ आउँदै आएनन् । कहीँ नभएको जात्रा हाँडी गाउँमा होइन, कहीँ नभएको जात्रा नेपाल प्रहरीमा देखिन्छ । हुन त केही प्रहरी अधिकारीको पछिल्लोपटक जनतामा खुबै लोकप्रियता देखिन्छ । तर, जनताले यो बुझ्नुपर्छ, यिनीहरु प्रविधिको उच्च प्रयोग गर्न पाएर होइन्, श्रोत र साधन पर्याप्त भएर हैन कि, भएका सीमित स्रोत साधन प्रयोग गरेर नै चर्चित भएका हुन् । अर्थात यसलाई भगवान भरोसा नै भन्दा हुन्छ ।
संसारका विकसित देशहरुमा आगलागी, बाढीपहिरोजस्ता आकस्मिक प्रकोपलाई छुट्टै सुसम्पन्न निकायले नै व्यवस्थापन गर्दछ । तर, हाम्रो देशमा पहिलो प्रतिक्रिया प्रहरी नै व्यवस्थापन गर्दछ । स्रोत र साधन चाँही उही उस्तै । यसमा समयमै उचित तरिकाले ती प्रकोपपीडित अनि सुरक्षा खतरामा परेकाहरुलाई उद्दार गर्नसके, सुरक्षित महसुस गराउनसके ती पीडितहरुले त्यहाँ सरकारको उपस्थितिको अनुभुति गर्थे । सरकारमा बस्नेले बुझ्नैपर्ने कुरा आपतविपतमा पहिले पुगेका प्रहरीको अनुहारभित्र, ढोकामा देखिएका प्रहरीको बर्दीभित्र नै ति पीडित जनताले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिको अर्थात सरकारको अनुहार देख्दछन् । र धन्य महसुस गर्दछन् । आजको तीव्र गतिमा बढ्दो शहरीकरण, आधुनिकीकरण र विश्वव्यापीकरणको चापमा पनि बीस वर्ष अगाडि नै उडिसक्नुपर्ने प्रहरीको हेलिकप्टर अझै नउँड्दा, आफैले धकेल्दै आफै चढेर अपराधी खोज्नुपर्ने प्रहरीको गाडी, दश वर्षे जनयुद्धमा ध्वस्त पारिएर अझै बनिनसकेका संरचनाहरु, ३२ वर्ष अगाडि स्थापना भएर अझै स्तरोन्नति हुन नसकेको अस्पताल, दिनभरी धुलोमा उभिएर आफ्नो स्वास्थ्यमा खेलवाड गर्दै ट्राफिक व्यवस्थापन गर्दै गरेका प्रहरीका स्वास्थ्य विमा, विभिन्न अवस्थाहरु अहिलेको टड्कारो आवश्यकता हुनपर्छ । अब सात महिना मात्रै अवधि तोकिएका गृहमन्त्रीले श्रोत र साधनका लागि थोरै मात्रै गम्भीर भइदिने हो भनेपनि अर्थात थोरै भएपनि आधारभूत सुबिधा तल्ला निकाय अनि जवानहरुलाई दिनसके ती प्रहरीका अन्तरआत्माले कति धन्यवाद दिँदो हो । अनि ती असुरक्षा र पीडाले आत्तिएका जनताले दिने धन्यवादले यो सरकार र यसका नेताहरुलाई कति फरक पार्दथ्यो होला ? अरुले जे भएपनि जनताले गाउँ ठाउँमा समयमै सरकार आइपुगेको महसुस गर्ने थिए कि रु
लेखक पूर्व प्रहरी अधिकृत हुन् ।















प्रतिक्रिया