
– सुरज भण्डारी
पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बढ्दो छ । चेतना स्तरको बढोत्तरी र प्रविधिको बढ्दो प्रयोगले विचार वा टिप्पणी माथिको बहस र त्यसको प्रवाह निकै द्रूत गतिमा भैरहेको देखिन्छ । विकसित र प्रविधियुक्त राष्ट्रमा विचार सम्प्रेषण त्यसमाथिको बहस वा टिप्पणीको थलो सामाजिक सञ्जालहरु बन्दै आएका थिए । कुनै सामाजिक सञ्जालमा गरिएका पोष्ट, ट्वीट या रिट्वीटहरु माथि समाचारहरु नै प्रसारणहरु भैरहेका हुन्छन्, केही विषयमाथि धारणा दिन छिटो, छरितो र प्रभावकारी माध्यमको रुपमा सामाजिक सञ्जालको उपयोग गर्ने क्रम बढ्दो छ । पछिल्लो समय विकसित मुलुकका राजनीतिक नेताहरुले यसको उपयोगलाई बढाइरहेका छन् । केही समययता नेपालमा समेत यसको प्रयोगको क्रम बढेको छ । सामाजिक सञ्जालमा कुनै विषयमाथि टिप्पणी गरेर त्यसलाई बहसमा उतार्न नेपालका राजनीतिक दलका नेताहरु समेत खरो ढंगले अगाडि आइरहेका छन् । खासगरी दोस्रो पुस्ताका नेताहरु र त्यसपछिका नेताहरुले यसको आवश्यकतालाई पुष्ट्याँई गर्ने गरी उपयोग गरिरहेका छन् । अहिले केही विषयमाथि नेताहरुले गरेका टिप्पणी नै बहसको विषय बन्न सुरु भैरहेको छ, राष्ट्रिय समाचार बनिरहेका छन् । विश्व एउटा प्रविधियुक्त बन्दै गएको अवस्थामा नेपालमा समेत यसको प्रभावकारिता बढ्दै जानु सुखद् पक्ष हो । तर कहिलेकाँही त्यही सामाजिक सञ्जालमा गरिएका टिकाटिप्पणीले नै प्रतिकारात्मक अवस्था निर्माण भएको देखिन्छ ।
यो आक्रमण रुपमा शंकर पोखरेलमाथि देखिए पनि देशको राजनीतिमा सबैभन्दा पहिलो शक्तिका रुपमा उदाइरहेको एमालेको लोकप्रियता र एमालेका अध्यक्ष केपी ओलीप्रतिको प्रहार हो । किनकी देशमा एउटा तप्का छ, जो केपी ओलीले जति नै राम्रो गरे पनि राम्रो भन्न सक्दैन्, न एमालेको अस्तित्व स्वीकार्न सक्छ । त्यही पंक्ति पोखरेलको ट्वीटको बहना बनाएर एमाले र ओलीलाई प्रहार गरिरहेका छन् ।
त्यसको पछिल्लो उदाहरण बनेका छन्, एमालेका बौद्धिक नेता शंकर पोखरेल । खासगरी असोज ३ लाई मधेशी मोर्चाले कालो दिनको रुपमा मनाउने भनिरहँदा सायद त्यसको प्रतिकारात्मक टिप्पणी गर्न खोजेको हुनुपर्दछ नेता पोखरेलले । तर ट्वीटरमा उनको ट्वीटले गलत अर्थ लगाउन पुग्यो । ट्वीटमा अक्षरको संख्याको महत्व रहन्छ, थोरै शब्दमा धेरै ब्याख्या लगाउन सक्ने गरी ट्वीट गर्नुमा नै ट्वीटको मज्जा रहन्छ । यसो भन्दैमा ट्वीट गर्दा शब्दको अर्थ अनर्थ लाग्ने गरी ट्वीट गरिनुले कहिलेकाँही समस्या बल्झाउँछ । जुन अहिले बल्झिरहेको छ, अहिले त्यसलाई सकारात्मक रुपको ट्वीट थियो भनेर ब्याख्या गर्न नेता पोखरेल मात्र होइन्, एमालेका अन्य नेताहरु समेत लाग्नुपर्ने अवस्था आएको छ । त्यो एउटा ट्वीट साँच्चै भन्दा एमालेको लागि गलगाँडो बनेको छ ।

पछिल्लो समय मधेशी मोर्चाको मागको सवालमा एमालेको अडान, प्रादेशिक संरचनामा मधेशको छुट्टै प्रदेशको पक्षमा नभएर आम नेपालीको पक्षमा उभिएर बरु मधेशी मोर्चाले आन्दोलनमार्फत बनाइरहेको प्रभावले गर्दा मधेशमा रक्षात्मक अवस्थामा बसिरहेको एमालेका लागि त्यो ट्वीट झन् घाउ माथिको नुनचुक बनेको छ । त्यही ट्वीटलाई दीर्घकालिन फाइदाको हिसावले समेत उपयोग गर्ने काम भैरहेको छ । त्यो ट्वीटको सवालमा शब्दको अर्थ अहिले जसरी लगाइएको भएपनि त्यही शब्द मात्रैले सही ब्याख्या भने लगाउन सकिँदैन, गलत अर्थ लगाइएपछि एमाले नेता पोखरेलले प्रष्टीकरण दिइसकेका छन्, आफ्नो पुरानो ट्वीट पनि हटाइसकेका छन् । उनले आफ्नो गलत मनशाय होइन भनेर सामाजिक सञ्जालमा भनिरहँदा एकोहोरो प्रहार गरिरहनुको के अर्थ हुन्छ र ? हुन त यो प्रकरणले पोखरेललाई पनि सजग हुन मद्दत मिलेको छ । यसले कद घटाउने होइन्, कद बढाउने निश्चित छ । हुन त यो आक्रमण रुपमा शंकर पोखरेलमाथि देखिए पनि देशको राजनीतिमा सबैभन्दा पहिलो शक्तिका रुपमा उदाइरहेको एमालेको लोकप्रियता र एमालेका अध्यक्ष केपी ओलीप्रतिको प्रहार हो । किनकी देशमा एउटा तप्का छ, जो केपी ओलीले जति नै राम्रो गरे पनि राम्रो भन्न सक्दैन्, न एमालेको अस्तित्व स्वीकार्न सक्छ । त्यही पंक्ति पोखरेलको ट्वीटको बहना बनाएर एमाले र ओलीलाई प्रहार गरिरहेका छन् ।
तर के आरोप लगाइजस्तो पोखरेलको ट्वीट मात्रै रंगभेद माथिको टिप्पणी थियो ? के जातीय द्वेष फैलाउने खालका टिप्पणी अरुबाट भएका थिएनन ? जातीय रुपमा जनतालाई लडाउन सक्रिय ढंगले लागिरहेका अरु छैनन् ? के पहाडिया भनेर अपव्याख्या गर्ने काम अरुबाट भएका छैनन् ? अहिले ट्वीटको कुरा गर्न भन्दा आज देश यसरी जात–जात धर्म–धर्म, रुप रंगमा विभाजित भएर बहस हुने अवस्था कसरी बन्यो, यसमा अरु दोषी छैनन् ? मधेशी केका आधारमा अनि पहाडिया केका आधारमा ? यसको बिजारोपण कसले ग¥यो के यो खोज्नु जरुरी छैन ? मधेशमा जन्मिएर पनि अहिले वर्णकै आधारमा हिनतावोध हुनु परिरहेको, तराईबाट माथितिर बसाइ सर्न वाध्य भैरहेको आमसमुदाय रहेको छ, यसको दोषी को ? खुल्लम खुल्ला रुपमा देश टुक्राउने, प्रदेश नबन्दै मधेश सरकार लेख्नेहरुको केही दोष छैन ? मधेश छुट्टै राष्ट्र चाहिन्छ भन्ने सिके राउतहरुको कुनै कमजोरी छैन ? जुन जातिले जे माग्यो दिन्छौं भन्नेहरुको केही दोष छैन ? एउटै देश भएर पनि पछिल्लो समय एक ठाउँबाट अर्को ठाउँमा जान समेत डराउनुपर्ने अवस्था बन्नुमा कसको दोष खोज्नुपर्दैन ? आन्दोलन वा विरोधको नाममा जात र वर्ण विशेषलाई केन्द्रीत गरेर आक्रमण गर्ने आङकाजी प्रवृत्तिको केही गल्ती छैन ? तुच्छताको पनि हद पार गरेर क्षणिक ताली र शक्ति आर्जन गर्न अर्को वर्ण विशेषलाई लाञ्छना लगाइरहेका अरु नेताहरुको यसमा कुनै दोष नै छैन ?
तसर्थ आफू ठीक अरु वेठीक भन्ने सोच त्यागौं । समस्या अरुमा मात्र होइन आफूमा पनि छ भन्ने ठानेर सुधार्ने दिशामा लागौं । हिलो छ्याप्ने काम ग¥यौं भने हामी पनि त कहाँ चोखो छौं । र, त्यो पनि सोचौं । यो देश सवै वर्ण, जाति, धर्म, संस्कृतिको साझा थलो हो र रहिरहनेछ भन्ने हेक्का सबैले राखौं । इतिहासको एउटा स्वाधीन र सार्वभौम राष्ट्र नेपालका हामी आम नागरिक हौं भनेर गर्व गरौं, देशको अखण्डता र सहिष्णुतामा सम्झौता नगरी आफूलाई क्षत्रिय होइन्, राष्ट्रिय नेता बनाउन लागौं, सीमित वर्गलाई लक्षित गरेर अर्को वर्गमाथि लगाउने लाञ्छनाले राष्ट्रिय नेता कदापि बन्न सकिन्न, त्यो हेक्का सबैले राख्न जरुरी छ । अझ नेताले यो झनै बुझ्न जरुरी छ । किनकी नेता त्यो हो जसले सबैलाई मिलाउन सक्छ, सबैको आत्मसम्मानलाई जोगाउन सक्छ त्यही भएर त ऊ नेता हो अनि हामी जनता ।















प्रतिक्रिया