अङ्कारा (टर्की), २४ भदौ टर्की प्रशासनले प्रतिबन्धित कुर्दिस वर्कस पार्टी (पीकेके) मा संलग्नता रहेको आरोप लगाउँदै मुलुकभरबाट ११ हजार २८५ शिक्षकशिक्षिकालाई पदबाट निलम्बन गरेको यहाँको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयले यो ठूलो सङ्ख्यामा शिक्षकविरुद्धको कारबाही टर्कीका प्रधानमन्त्री विनाली यल्दिरिमले गएको सोमबार अतिवादी पीकेकेमा आबद्धता जनाउने सबै शिक्षकलाई निलम्बन गर्ने भनी चेतावनी दिएको तीन दिनपछि आएको छ ।
टर्कीको दक्षिणपूर्वी सहर दियारवकिरमा भएको एक कार्यक्रममा उक्त क्षेत्रमा करिब १४ हजार शिक्षक कुनै न कुनै रुपमा आतङ्कवादी समूहसँग संलग्नता भएको भन्दै शिक्षकहरुमाथि पनि कारबाही गरिने बताउनुभएको थियो ।
दियारवकिर टर्कीको आतङ्कवादी कुर्दिस समूहको हमलाका लागि लक्षित सहर भएको बताइएको छ । पटकपटक पीकेकेले उक्त सहरमाथि धावा बोल्ने प्रयास गर्दै आएका थिए ।
एनादोलु एजेन्सीले टर्कीको राजधानी अङ्कारामा प्रधानमन्त्री यल्दिरिमले सरकारले मुलुकमा शान्ति तथा अमन चयन राख्न जस्तोसुकै कारबाही गर्न पनि अधिकार प्राप्त गरेको भन्दै आतङ्कवादी गतिविधि सञ्चालन हुने गरेका कतिपय नगरपालिकामा छिट्टै यो देखिने भन्ने आसयको अभिव्यक्ति दिनुभएको थियो ।
पीकेकेलाई संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र टर्कीले आतङ्कवादी सङ्गठनको सूचीमा राखेका छन् । –एएफपी















प्रतिक्रिया