– सूर्य थापा
नेकपा (एमाले)का नेता शंकर पोखरेलको भदौ २१ को एक फेसबुक स्टाटस र ट्वीटलाई विवादित बनाउने र उहाँको हुर्मत लिने अनुचित प्रयास जो भइरहेको छ, त्यो अत्यन्त खेदजनक छ । ‘मधेसी जनता अधिकांश कालो वर्णका छन् । मधेसी मोर्चाले असोज ३ लाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या कि अपमान ? बुझन गाह्रो भो’ भन्ने उहाँको टिप्पणीबाट कहाँ रङ्ग(वर्ण)भेद भयो ? बरु तराई–मधेसको वस्तुगत तथ्यलाई आत्मसात् गरेर यदि त्यसको सम्मान गर्ने हो भने कालो दिवस मनाउनुको कुनै अर्थ छैन । तिनको अपमान गर्न खोजेको हो भने बेग्लै कुरा हो । यो पो बुझ्न गाह्रो भयो भन्ने उहाँको भनाई स्पष्टै छ, कसैले अर्थ लगाएर ब्याख्या गर्न आवश्यक छैन । उहाँको आशय यस्तो विवाद बढाउने थिएन । तसर्थः अरुले विवाद मच्चाउन खोजेपछि अनावश्यक विवाद नहोस् भनेरै उहाँले त्यो स्टाटस् हटाइदिनुभयो ।
एक बर्षअघि वरिष्ठ नेता झलनाथ खनालले मेची– महाकाली फैलिएका सारी(धोती)आकारका प्रदेश बनाउनुहुदैन भनी दिएको एक रेडियो अन्तर्वार्तालाई यसैप्रकार विवादमा तान्ने र उत्तेजना फैलाउने प्रयाश भएको थियो । त्यतिबेला अहिले नेता पोखरेलबिरुद्ध प्रहार गर्नेहरुले नै त्यस्तो हर्कत गरेका थिए र तराइमा धोती जुलुससमेत निकालेका थिए !
बालुवाटारमा भएको एक उच्चस्तरीय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै समथर भू–भाग मधेस होइन । झापा समथर भाग हो, मेरो आगन पनि समथर भाग हो, तर मधेस होइन भन्ने बहुचर्चित जवाफ दिनुभएको थियो । उहाँले समथर भूमिलाई मधेस भन्दै उत्तर प्रदेश र बिहार पुग्नुहोला र मार खानुहोला ! त्यो मधेस होइन भन्नुभएकोमा त्यस भनाईलाई बङ्गाएर हामीलाई यूपी र बिहार जान भनियो भन्दै उहाँका विरुद्ध राष्ट्रव्यापी विद्वेषको खेती गरिएको घटना पनि धेरैलाई सम्झना नै हुनुपर्छ ।
नेता शंकर पोखरेल सामन्तवाद, जातिवाद, क्षेत्रीयतावाद, साम्प्रयिकतावाद, शोषण, दमन, अन्याय–अत्याचार, तानाशाही र निरंकुशतावादविरुद्ध लडेर आज स्थापित सम्पूर्ण राजनीतिक र सामाजिक परिवर्तन ल्याउन वैचारिक र व्यवहारिक दुबै हिसाबले अग्रणी भूमिका निर्वाह गरिरहेको वैचारिक योद्धा हो । उहाँ पार्टी र आन्दोलन दुबैको आशालाग्दो भविष्यसमेत हो । उहाँमाथि यसरी हमला बोलेर नेकपा (एमाले)को भविष्यमाथि नै दुराशयका साथ हमला बोल्न, घृणा फैलाउन र बदनाम गर्न खोजिएको हो । उहाँ अरुहरुजस्तो ‘टङ्ग स्लिप’ हुने नेता कदापि होइन ! सचेत बनौं र अनुचित प्रहारविरुद्ध जुझ्दै पार्टी र नेतृत्वको एकताबद्ध भएर प्रतिरक्षा गरौं !!
(एमाले प्रचार विभाग उपप्रमुख थापाको यो विचार उनको फेसबुकबाट साभार गरिएको हो ।)
















प्रतिक्रिया