३० आश्विन २०८३, शुक्रबार

बाढीपहिरोको पीडा : आँसुले बगायो तीज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Debisara Kamiसुर्खेत, १२ भदौ । घरभरि छोरी–ज्वाईं र नातिनातिना। बिहानदेखि साँझसम्म दर खुवाउँदै व्यस्त। बरु ऋण नै किन नलागोस्– लोकल कुखुराको मासु, खाने–पिउने व्यवस्था। साँझ ढल्किएपछि आँगनमा तीजको छुट्टै रौनक। विगतका यी तीज ६५ वर्षीया देवीसरा कामीका लागि अब सम्झनामा सीमित भएका छन्।

चार छोरीकी आमा उनी तीजको बेला आफूलाई निकै सम्पन्न ठान्थिन्। बिहेवारी गरेर आ–आफ्नो घर गएका उनीहरू माइत फर्किंदा घर भरिभराउ हुन्थ्यो। ‘अब त चेलीबेटीलाई डाकौं भने घर पनि छैन, के को तीज मान्नु ’ वीरेन्द्रनगरस्थित जनउमाविमा आश्रय लिएर बसेकी उनले भनिन्, ‘बुढेसकालमा आएर यसपटकको तीजले पाप बोकायो।’ खोर्केखोलाको सबै घरजग्गा बाढीले बगाएपछि विस्थापित भएर बस्नुपरेको उनले बताइन्।

दुई साताअघिको बाढीले घरबारविहीन बनाएपछि देवीसराजस्ता थुप्रै महिलाको तीज न्यास्रो भएको छ। बुधबार बिहान नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाले विस्थापित क्याम्पमा गएर दर खुवाउँदा उनीहरूले आफ्नो पीडा आँखामा रोक्न सकेनन्।

खोलाको ढिकमै बस्नुपरे पनि खगीसरा शाही तीजका बेला दुई छोरीलाई एकसरो नयाँ कपडा फेरिदिन्थिन्। स्कुले दुई छोरी शान्ति र बसन्ती नयाँ कपडा पाउँदा निकै फुर्किन्थे। आफू पनि तीजमा माइती जान्थिन्। यसपटकको तीज भने उनको जीवनमा निकै पीडादायी भएको छ।

‘बरु विस्थापित भएर खानबस्न नपाउँदा यति ठूलो पीडा भएको थिएन,’ चिसापानीको नेरा निमाविमा बसेकी उनले भनिन्, ‘कालले लगेन, भेलमा पस्न सकिएन, यस्तै दुःख हुनु लेखेको रहेछ।’ छोराछोरी र आफूले अरूले दिएको कपडा लगाएर दिन काटिरहेको बेला तीजका नाममा नयाँ किन्नु सपनामात्र भएको उनले बताइन्।

बाढीपहिरोको प्रकोपले सुर्खेतमा ३५ जनाको ज्यान लिएको छ भने ९४ जना बेपत्ता भएको समाचार आजको नागरिक दैनिकले छापेको छ । अर्कातिर प्रकोपले घरजग्गा लग्दा झन्डै पाँच हजार व्यक्ति विभिन्न ठाउँमा विस्थापित जीवन बिताइरहेका छन्। यस्तो पीडाको बेला प्रभावित महिलाहरू तीज मनाउन सकिरहेका छैनन्।

भैरवस्थानकी रत्ना सुनार आफूमात्र विस्थापित भए त केही थिएन, माइतीको घरमा गएर तीजगीतबाटै बिलौना गर्थिन्। उनको जीवनमा अब बिलौना गर्ने ठाउँ पनि बाँकी रहेन। आमा–बुबा र दुई भाइको घर बाढीले बगायो। ‘कम्तीमा माइतीको घर बचेको भए पनि त्यहीँ गएर दुःख, सुख गरिन्थ्यो,’ उनले बिलौना पोखिन्, ‘कसैको टेक्ने आधार छैन, यस्तो बेला तीजको के कुरा गर्नु ’

बाढी–पहिरोले तीजमा सबैलाई रुवाएको छ। बर्सेनि खुलामञ्चमा तीजविशेष कार्यक्रम गर्ने बागीना समूहले यसपटक कार्यक्रम राखेन। समूहका सचिव दीलबहादुर गुरुङले विज्ञप्ति प्रकाशित गरी दुःखको घडीमा कार्यक्रम गर्नु शोभनीय नहुने भन्दै पहिलोपटक तीज विशेष कार्यक्रम स्थगित गरिएको बताए।

‘बाढीपहिरोले सयौं दिदीबहिनीको जीवन उजाड भएको छ,’ उनले भनेका छन्, ‘यस्तो बेला तीजको नाममा रमाइलो गर्नु शोभनीय हुँदैन।’

बाढीपहिरोमा परेर जिल्लाभर करिब एक हजार सात सय घरपरिवार विस्थापित भएका छन्। विस्थापनको यो पीडाले तीजको बेला उनीहरूमा नातेदार, छरछिमेकलाई समेत पिरोलेको छ। सँगसँगै हाँसखेल गर्ने छिमेकी महिला विस्थापित भएर पीडा खेपिरहँदा उनीहरूले समेत तीजमा खुलेर रमाइलो गर्न सकिरहेका छैनन्।

वीरेन्द्रनगर, खजुराकी रमिला खत्री र इत्रामखोलाकी शारदा पुन तीजको दिन बर्सेनि खुबै रमाइलो गर्थे। खुलामञ्चमा गएर छमछमी नाच्थे। बाढीले शारदालाई विस्थापित शिविरमा पुर्या एपछि भने रमिलालाई नाच्न आङ आएको छैन। ‘हुन त बाढीले हाम्रो केही क्षति गरेको छैन,’ रमिलाले भनिन्, ‘तर साथीको यो हालत भएपछि तीजमा के रमाइलो गर्नुरु’ यसपटकको तीजमा माइती गए पनि रमाइलो नगर्ने उनले बताइन्।

दर खुवाउने कार्यक्रममा सहभागी रेडक्रसका उपशाखा सभापति टुकाराम लामिछानेले दुःखको यस घडीमा तीज पर्दा त्यसले पीडितलाई थप पीडा थपेको बताए। ‘उनीहरू विगतका तीज सम्झेर रोइरहेका छन्,’ उनले भने, ‘यस्तो बेला हामी सबैले उनीहरूलाई सहयोग पुर्या्उनुपर्छ।’ रेडक्रसकर्मीको सहयोगमा संकलित रकमबाट विस्थापितलाई दर खुवाइएको उनले जानकारी दिए।