३० आश्विन २०८३, शुक्रबार

एमाओवादीले केन्द्रीय समिति विघटन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, १२ भदौ । एकीकृत नेकपा माओवादीमा आन्तरिक विवाद समाधानउन्मुख नभएपछि केन्द्रीय समिति विघटन गरेर विशेष महाधिवेशन आयोजक समिति बनाइने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो तहसम्मका नेताहरूको अनौपचारिक बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहित केन्द्रीय समिति विघटन गरी वर्षदिनभित्रै विशेष महाधिवेशन गर्ने आयोजक समिति बनाउने तयारी सुरु भएको हो। त्यसको औपचारिक निर्णय भने भइसकेको छैन।

प्रवक्ता दीनानाथ शर्माले पूर्ववत निर्णयअनुसार वर्षदिनभित्र विशेष महाधिवेशन गर्नेबारे अनौपचारिक बैठकमा भद्र सहमति भएको बताए।

‘असोज १ गते सुरु हुने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको घोषणा गर्न सक्छ,’ प्रवक्ता शर्माले बुधबार भने, ‘त्यसका लागि सोही बैठकले नै केन्द्रीय समिति भंग गरेर आयोजक समिति बनाउन सक्नेछ।’ त्यसको औपचारिक निर्णय नभए पनि पार्टी त्यसतर्फ गएको प्रवक्ता शर्माले बताए।

विराटनगर सम्मेलनबाट औपचारिक रूपमै सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पक्षबीचको विवाद चर्किंदै गएपछि एमाओवादीले त्यसलाई हल गर्न पोलिटब्युरो तहसम्मका नेतालाई अनौपचारिक छलफलका लागि मुख्यालय बोलाएको थियो।

विराटनगर सम्मेलनमा भट्टराईसहित अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विशेष महाधिवेशनमार्फत् पार्टीभित्रको वैचारिक र सांगठनिक समस्या हल गर्न माग गर्दै आएका थिए।

पार्टीभित्रको वैचारिक तथा सांगठनिक विवाद हल गर्न विशेष महाधिवेशन गर्नुपर्ने आफ्नो पक्षको माग सम्बोधन भएको भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले बताए।

‘असोज १ को बैठकमा अध्यक्ष (दाहाल) बाट केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र सोही बैठकले मिति तय गर्ने प्रस्ताव आउने पक्कापक्की भएको छ,’ श्रेष्ठले भने, ‘यसले नै पार्टीलाई थप एकताबद्ध र मजबुत बनाउन सक्छ।’

उनका अनुसार अध्यक्ष दाहालले आफ्नो पक्षको माग सम्बोधन गरेकाले असोज १ गते सुरु हुने केन्द्रीय समिति बैठकमा भट्टराई पक्षका सबै नेता उपस्थित हुनेछन्।

एमाओवादीभित्रको विवाद समाधान हुन नसक्दा भट्टराई पक्षले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेको छ। पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका लागि गरिएको चुनावी प्रक्रियासमेत भट्टराई पक्षले बहिष्कार गरेको थियो।

संस्थापन पक्षले ‘पेल्न थालेको’ भन्दै भट्टराई पक्षले केन्द्रीय सदस्यबाहेक अन्य सबै पद अस्विकार गरेको थियो। साथै, करिब दुई दर्जन जिल्लामा समानान्तर समिति घोषणा गरिएको थियो।

‘नयाँ शक्ति’को बहस गरिरहेको भट्टराई पक्षले पार्टी विभाजन गर्न समानान्तर समिति गठन गरेको आंशका गर्दै संस्थापनले भट्टराईनिकट केन्द्रीय नेताद्वय गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ । विवाद चर्किंदै गएपछि बुधबार पुर्व पोलिटब्युरो तहका नेताको सुझावअनुसार विशेष महाधिवेशनमा जाने निष्कर्षमा पार्टी पुगेको हो।