२८ कार्तिक २०८३, शनिबार

कांग्रेस नेता डा.महतले भने, ‘संविधान संशोधन अहिले आवश्यक छैन’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahat Congressकाठमाडौं, २१ भदौ । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले तत्काल संविधान संशोधनको आवश्यक्ता नरहेको बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै संविधान संशोधन गर्नु पर्ने भएमा पहिला सबै राजनीतिक दलहरूसँग सहमति गर्नुपर्ने बताउनुभयो । ‘संविधान सहमतिमा संशोधन गर्नु पर्छ’, उहाँले भन्नुभयो, ‘गृहकार्य गर्नुपर्छ । तर अहिलेसम्म सहमतिका लागि प्रयास भएको मैले पाएको छैन ।’

डा.महतको यो अभिव्यक्तिले मधेसी मोर्चाको मागलाई ठेस पुग्नेछ । कांग्रेस र माओवादी केन्द्रले सरकार गठनका बेला मधेसी मोर्चासँग संविधान संशोधन गरेर माग पूरा गर्ने तीन बुँदे लिखित सहमति गरेका थिए ।

संविधानका नाममा कसैले पनि जनतालाई अलमल्याएर बस्न नहुने बताउनुभएका कांग्रेस नेता डा.महतले भन्नुभयो, ‘संविधान आवश्यक्ता पर्दा संशोधन गर्नुपर्छ । तर अहिले नै संशोधन केका लागि ? संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्छ ।’

सुशील कोइराला प्रधानमन्त्री बनेका बेला संविधान संशोधन भएको प्रसङ्ग उठाउँदै डा.महतले भन्नुभयो, ‘त्यति बेला संशोधन गरेर सहमति हुन्छ भनेकाले संविधान संशोधन गरिएको हो । अहिले फेरि संशोधन गर्ने भनिएको छ । खै मैले बुझेको छैन । संविधान संशोधन नगरेर पनि आन्दोलनकारीका माग पूरा हुन्छ भने किन संशोधन गर्नु पर्‍यो ?’

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटमा पुरक बजेट ल्याउनु पर्ने आवश्यक्ता आफूले नदेखेको कांग्रेस नेता डा.महतको भनाइ छ । ‘पूरक बजेट ल्याउने अवस्था मैले देखेको छैन’, उहाँले भन्नुभयो, ‘ओली सरकारले ल्याएको बजेट ठीक छ । पूरक बजेट ल्याउने विषयमा छलफल भएको छैन । मलाई त्यस विषयमा थाहा छैन ।’

नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा रहेको बताउनुभएका डा.महतले भन्नुभयो, ‘अहिलेकै स्थानीय निकायको संरचनाभित्र रहेर जाने हो भने निर्वाचन गर्न गर्न सकिन्छ । अन्यथा गाह्रो हुन्छ ।’ उहाँले स्थानीय निकायको पछि पुनर्संरचना गर्ने गरी चुनाव गर्न प्रस्ताव गर्नुभएको छ ।