२८ कार्तिक २०८३, शनिबार

संविधान संशोधनको प्रस्ताव तयारपार्न कार्यदल गठन, असोज ३ गते ब्ल्याक आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Upendra Yadavकाठमाडौं, १९ भदौ । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले संविधान संशोधनका लागि प्रस्ताव तयार बनाउन सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आइतबार बसेको गठन्धनको बैठकले संशोधनको मस्यौदा तयारपार्न कार्यदल बनाएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

कार्यदलले सरकारले संसदमा दर्ता गराउने भनिएको संविधान संशोधनको प्रस्तावमा सहज होस भनेर गठन बन्धनको तर्फबाट मस्यौदा बनाइदिने झाले बताउनुभयो । सो मस्यौदालाई सरकारलाई बुझाइनेछ । कार्यदलले सोमबारबाटै आफ्नो काम थाल्नेछ ।

कार्यदलमा लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय यादव, केशव झा, कुमार लिङ्दने, प्रेमबहादुर खातीलगायतका रहेका छन् ।

गठबन्धनले असोज ३ गते संविधान दिवसका दिन कालो दिवसका रुपमा मनाउने निर्णय गर्दै सोही दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।

सोही दिन साँझ साढे सात बजेदेखि आठ बजेसम्म आधा घण्टा ब्ल्याक आउट गरिने महासविच झाले बताउनुभयो ।

असोज दुई गते प्रचार प्रसार गर्ने जनाएको संघीय गठबन्धनले असोज चार गते भने सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जलिसभा गर्ने निर्णय गरेको छ ।

गठबन्धनको आइतबारको बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कुनै पनि प्रतिनिधिको उपस्थिति थिएन । यी चार दलले किन प्रतिनिधि पठाएनन् केही बताइएको छैन ।

सरकार गठनका बेला माओवादी केन्द्र र कांग्रेसलाई समर्थन गरेको संघीय गठन्धनले माग पूरा गराउन दबाब दिँदै आएको छ ।