२९ आश्विन २०८३, बिहिबार

सुर्खेतमा बाढी पहिरोबाट बेपत्ता ४९ जनाको काजकिरिया गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surkhet-badiसुर्खेत, ११ भदौ । साउनको अन्तिम सातामा आएको भीषण बाढी पहिरोबाट बेपत्ता भएकामध्ये ४९ जनालाई मृत घोषणा गरिएको छ ।

तीन दिनसम्मको अविरल वर्षा र बाढीपहिरोबाट बेपत्ता भएका दुई सातासम्म पनि सम्पर्कमा नआएको र बेपत्ताका आफन्तले धमाधम काजकिरिया गर्ने क्रम अघि बढाएपछि उनीहरूलाई मृत घोषणा गरिएको सुर्खेतका विभिन्न गाविसस्तरीय विपद् व्यवस्थापन समितिहरूले बताएका छन् ।

बाढी पहिरोबाट जिल्लाका ३४ जनाको मृत्यु भएको छ भने ९४ जना हालसम्म पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक सम्पूर्णको यसअघि नै सनाखत भइसकेको छ ।

बेपत्ताका आफन्तले बेपत्ता भएका आफन्त बाँचेर फर्कन सक्ने सम्भावना नदेखेपछि धमाधम काजकिरियाको प्रक्रिया अघि बढाएको तातापानी गल्फाका अम्मरसिं टमटाले बताउनु भयो ।

‘तातापानी गाविसमा मात्र २९ जना  बेपत्ता भएका थिए । उनीहरू सबैका आफन्तले काजकिरिया गरेपछि हामीले मृत घोषणा गरी बेपत्तालाई मृतकसरह मान्दै राहत उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सिफारिस गर्ने निर्णय गरेका छौँ,’ विपद् व्यवस्थापन समिति तातोपानीका संयोजक तथा गाविस सचिव ओम चपाईंले भन्नुभयो ।

त्यस्तै, बाबियाचौर तिखाकुनामा आएको बाढीका कारण बेपत्ता भएका छ जनालाई मृत घोषणा गरिएको गाविस सचिव तथा गाविसस्तरीय विपद् व्यवस्थापन समिति बाबियाचौरका संयोजक भद्रबहादुर थापाले बताउनुभयो ।

यता हरिहरपुर गाविसको भेरी नदीमा आएको बाढीका कारण बेपत्ता भएका २४ जनालाई पनि मृत घोषणा गरिएको गाविस सचिव केशरबहादुर डाँगीले बताउनुभयो ।

स्थानीय विपद् व्यवस्थापन समितिले बेपत्ताका आफन्त र परिवारको सहमतिमा बेपत्ता भएकालाई मृतकसरह मानेर राहतको लागि सिफारिस गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताउनुभयो । रासस