टीकापुर, १९ भदौ । लोप हुन लागेका रैथाने जातका धानको प्रचार प्रसार र पर्यटन प्रवर्द्धनका लागि टीकापुरमा खिर महोत्सव भएको छ ।
महोत्सवमा कैलालीको कृष्णभोग, सावाँ मन्सुली, अण्डी चामलको खिर, डोटीको जोराइल्या बासमती, अछामको जडन, प्यूठानको राधा, सल्यानको मार्सी, जुम्लाको कालीमार्सी, कालिकोटको रातीमार्सी, दाङको तिल्की, बैतडीको साली, दैलेखको गुने, जनकपुरको राजु बासमती, मकै र केरा गरी १५ थरी खिरका परिकार बनाइएको हो ।
महोत्सवमा खिरका साथै विभिन्न जिल्लाका रेथानै जातका धानका चामलहरु अवलोकनका लागि राखिएको छ ।
खिर महोत्सव अवलोकन गर्न आएका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहले अन्नका परिकारको महोत्सवले यस क्षेत्रको धान उत्पादनको विशेषता झल्काउने र त्यसबाट बन्ने परिकारको प्रवद्र्धन गर्न खोजेको पहल सह्रानीय भएको बताए ।
महोत्सव टीकापुरमा भए पनि हरेक जिल्लाका रैथाने जातका धानको परिकार बन्नुले त्यो जिल्लाको पनि वर्णन भएको र त्यो जिल्लाका मानिसले पनि गर्व गर्ने अवस्था आएको महोत्सवका सहभागी गोपाल चौधरी र चित्र राजीको मत छ ।
महोत्सव स्थलमा स्थानीय हस्तकलाका उत्पादनका १५ वटा स्टल राख्नुका साथै सांस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो भने आयोजकले जेष्ठ नागरिकलाई निशुल्क खिर पनि खुवाएको थियो ।
महोत्सवमा हजार भन्दा बढी मानिसहरुको खिरको स्वाद दिनुका साथै परिकारको अवलोकन गरेको आयोजकको अनुमान छ । हरितालिका तीजको अवसर पारी टीकापुर पर्यटन समितिको आयोजनामा महोत्सव भएको हो । महोत्सवको कुनै उद्घाटन कार्यक्रम नराखेको आयोजकले अतिथिहरुलाई ब्यानरमा हस्ताक्षर गर्ने व्यवस्था गरेको थियो ।
















प्रतिक्रिया