काठमाडौं, १९ भदौ । सामाजिक सदभाव भड्काउने गरेर अभिव्यक्ति दिने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पालाई सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले कारबाही गर्ने भएका छन् ।
तीज पर्व र पशुपतिनाथ मन्दिरप्रतिको आस्थालाई लिएर शेर्पाले शनिबार नकारात्मक टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसले हिन्दू नारी महिला र धर्मप्रति अनादर गरेको भन्दै हिन्दूवादीहरूले विरोध गरेका थिए ।
शेर्पाको चौतर्फी विरोध भएपछि अध्यक्ष यादवले कारबाहीको मनस्थिति बनाएका हुन् । उच्च स्रोतका अनुसार अध्यक्ष यादवले शेर्पाका कारण पार्टीभित्र हिन्दूधर्मप्रति आस्था राख्ने नेता तथा कार्यकर्ताको मनमा ठूलो चोट पु-याएको बताएका छन् ।
‘आङ्काजी शेर्पाका गैर राजनीतिक र गैर सामाजिक कार्यले गर्दा पार्टीलाई नै नकारात्मक टिपणी हुन थालेको छ’, एक केन्द्रीय सदस्यसँग अध्यक्ष यादवले भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘आफू जे भए पनि अरुको धर्म र रितिरिवाजप्रति कुनै नकारात्मक टिकाटिप्पणी गर्नु हुँदैन थियो । आङकाजीलाई कारबाही गर्छु ।’

हिन्दू अभियानका अगुवा युवा नेता विकास ठाकुरले आङ्काजी शेर्पाका सामाजिक सद्भाव भड्काउने अभिव्यक्तिका सम्बन्धमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवसँग आक्रोश पोखेका थिए । जवाफमा यादवले शेर्पालाई धेरै महत्व दिन नहुने भन्दै कारबाहीका विषयमा पार्टीमा छलफल गर्ने बताएको स्रोतले जनाएको छ ।
तीज पर्व र पशुपतिनाथका विषयमा शेर्पाले गरेको नकारात्मक टिप्पणीको संघीय फोरमका नेता तथा उपमहासचिव अभिषेकप्रताप साहले पनि विरोध गरेका छन् ।
स्रोतका अनुसार साहले जसले जुन धर्म, संस्कृतिमा आस्था राखे पनि त्यसलाई अनादार गर्ने अधिकार कसैमा नरहेको भन्दै अध्यक्ष यादवसँग असन्तुष्टि पोखेको स्रोतको भनाइ छ ।
आङकाजीले तीज पर्व र पशुपतिनाथका विषयमा गरेको टिप्पणीसम्बन्धी समाचार शनिबार दैनिक नेपाल डट कमले समाचार प्रकाशित गरेको थियो । त्यसपछि आङकाजीको चौतर्फी विरोध भइरहेको छ ।











प्रतिक्रिया