१ कार्तिक २०८३, शनिबार

महाकाली नदीमा पुल निर्माणको बोलपत्र पाँच महिनाभित्रै

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

भीमदत्तनगर, १८ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले निर्माण हुने पुलको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउने लगायतका प्रक्रिया जारी रहेको बताउनुभयो । “पुल बने नेपाल–भारतबीचको आर्थिक समृद्धिको सेतु बन्न सक्छ”, उहाँले भन्नुभयो– “यसले देशकै आर्थिक उन्नतिमा सघाउ पुर्याउनेछ ।”

अर्को प्रसङ्गमा उहाँले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट प्रतिपक्षमा रहेको नेकपा एमाले पनि राजी हुने विश्वास व्यक्त गर्नुभयो । “संविधान संशोधनको विषयमा अहिले हामी छलफल चरणमा पुगेका छौँ ।”

नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री लेखकले भन्नुभयो– “संशोधनका लागि पहिला विषयवस्तु छनोट भए पनि राजनीतिक सहमति खोजिन्छ ।” त्यसका लागि प्रमुख प्रतिपक्षसहित सबै दलसँग छलफल र संवाद हुने उहाँको भनाइ थियो । रासस