काठमाडौं, १७ भदौ । संसदीय समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो पार्टीलाई होच्याएको भन्दै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुखभरीको जवाफ दिएका छन् ।
शुक्रबार विहान व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्रमा के छ र परिस्थिती सामान्य हुँदाहुँदै उपप्रधानमन्त्रीलाई विशेष दूत बनाएर छिमेकी देशमा किन पठाइयो भन्ने विषयमा छलफल भएको थियो ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कृष्ण महरा बैठकमा उपस्थित थिए । यही सिलसिलामा प्रधानमन्त्रीको विशेष दूत बनेर भारत गएका विमलेन्द्र निधिलाई मोदीलाई पठाएको पत्रमा के भनेर सोधियो ।
उनले यो प्रश्नको जवाफ दिनुको सट्टा बैठकमा एमालेको नाम नलिई ‘कुनै पार्टीको बैठकमा चीनमा विशेष दूत पठाइनु उपयुक्त र भारतमा पठाउनु अनुपयुक्त थियो भन्ने चर्चा चलेछ’ भने । उनको यो वाक्य नसकिदै एमाले उपाध्यक्ष भीम रावल प्रतिवादमा उत्रिए ।
रावलले एमालेको बैठकमा त्यस्तो छलफल नभएको र भारतीय प्रधानमन्त्रीलाई पठाइएको चिठी सार्वजनिक हुनुपर्छ भन्ने संस्थागत निर्णय भएको बताए । उनले मन्त्री निधि संसदीय समितिमा दलको बैठकमा जस्तै गरी प्रस्तुत भएको भन्दै आपत्ति जनाए ।
‘यो पार्टीको बैठक होइन, संसदीय समितिका बैठक हो । मन्त्रीले जवाफ दिँदा कुनै पार्टीलाई होच्याउने र आरोपित गर्ने हिसाबले बोल्न पाइन्न’ रावलले निधिलाई मुखभरीको जवाफ दिँदै भने । उनले पार्टीगत हिसाबले बोल्ने हो भने आफू निधीसँग घण्टौं बहस गर्न तयार रहेको तर, संसदीय समितिमा कुनै पनि दललाई आक्षेप नलगाउन चेतावनी दिए ।
यसअघि निधि र रावलबीच चार दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा चर्काचर्की परेको थियो ।












प्रतिक्रिया