३० आश्विन २०८३, शुक्रबार

भेटिएका राहदानी बोक्दा थुनामा जानुपर्ला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Passport Nepaliकाठमाडौं, ११ भदौ । हराएको राहदानी पुनः भेटेर प्रयोगमा ल्याए वा अरु कसैले प्रयोग गरेमा त्यस्तो व्यक्ति विश्वको कुनै पनि अध्यागमनमा पक्राउ पर्ने भएको छ । राहदानी विभागले हराएका सबै विवरण इन्टरपोलमा राख्ने प्रक्रिया मंगलबारदेखि थालेको हो ।

राहदानी हरायो भनी आवेदन दिनेको संख्या बढेपछि त्यसको नियन्त्रण र दुरुपयोग रोक्न विभागले राहदानी नम्बर नेपाल प्रहरीको सहयोगमा इन्टरपोलमा राख्न थालेको हो । सबै प्रक्रिया पुरा भो, अब हराएका सबै राहदानी नम्बर इन्टरपोलमा रहनेछ, विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यता, नागरिक दैनिक लेख्छ- राहदानी विभागले विभिन्न कारणवश हराएका राहदानीको विवरण नेपाल प्रहरी मार्फत इन्टरपोलको वेबसाईटको स्टोल एण्ड लस्ट ट्राभल डकुमेन्ट (चोरी र हराएका राहदानी) मा राख्ने कार्य सुरु गरेको छ।

‘हराएका भनिएका राहदानीको दुरुपयोग गर्ने तथा एकै व्यक्तिले विवरण पेश गर्दा झुक्यानमा पारी गलत मनसायका साथ फरक फरक राहदानी लिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्ने उदेश्यका साथ शुरु गरिएको यो कार्यले गलत मनसायले राहदानी बनाउने, प्रयोग गर्ने र उपयोग गर्ने कार्यलाई दुरुत्साहन गर्ने विश्वास लिइएको छ,’ राहदानी विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

विभागका अनुसार राहदानीको विवरण नेपाल प्रहरी मार्फत इन्टरपोलको वेवसाईटमा राख्ने कार्यको लागि हराएको राहदानीको विवरण नेपालका सबै जिल्ला प्रशासन कार्यालयहरु, विदेशस्थित नेपाली नियोगहरु र यस विभागबाट दुरत सेवामा संकलित तथ्याङ्कहरु संकलन गरी नेपाल प्रहरीको इन्टरपोल शाखालाई साप्ताहिक रुपमा उपलव्ध गराउने र तत्पश्चात नेपाल प्रहरीले उक्त विवरणहरु इन्टरपोलको वेवसाइटमा राख्ने व्यवस्था मिलाएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

यस्तै राहदानी हराई दु्रत सेवा मार्फत नयाँ राहदानी बनाउन आउने सेवाग्राहीहरुको राहदानी फाराम काउन्टर सी बाट संकलन गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

विभागले नियमित सेवामा जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुबाट आवेदन गर्ने त्यस्ता राहदानी हराई नयाँ बनाउने आवेदकहरुको तथ्याङ्क संकलन गर्न जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुबाट साप्ताहिक रुपमा विभागमा विवरण पठाउने व्यवस्था समेत गरेको छ।