काठमाडौं, १६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य महेश खरेललाई गृह जिल्ला काभ्रेमा सांघातिक आक्रमण भएको छ ।
काभ्रेको पाँचखालमा तरुण दलको अधिवेशन गर्ने विषयमा छलफल भइरहँदा तरुण दलका जिल्ला नेता दिलबहादुर लामाले खरेलको घाँटी थिचेको काभ्रे कांग्रेसका स्थानीय नेता बासु खकुरेलले जानकारी दिनुभयो ।
‘तरुण दल पाँचखाल नगर समितिको अधिवेशनका विषयमा कुराकानी भइरहेका बेला दिलबहादुर लामाले महेश खरेलको घाँटी अचेटेर हत्याको प्रयास गरेका हुन्’, खकुरेलले भन्नुभयो, ‘५/७ जनाको समूहमा आएका उनीहरूले सांघातिक आक्रमण गरेर हत्याको प्रयास गरेका छन् ।’
बिहीबार अपरान्ह चार बजेतिर भएको सो घटनाबाट घाइते भएका तरुण दलका केन्द्रीय सदस्य खरेललाई उपचारका लागि बनेपास्थित अस्पताल भर्ना गरिएको छ । इमर्जेन्सीमा भर्ना भएका खरेलको अवस्था सामान्य रहेको खकुरेलले बताउनुभयो ।
उता, खरेल आक्रमणमा मुछिएका सञ्जीव लामा ‘स्याल’ले पाँचखाल नगरको अधिवेशनका विषयमा सामान्य धक्कामुक्का भएको बताउनुभयो । खरेल समूहले ‘स्याल’को आडमा आक्रमण गरेको आरोप लगाएको छ । तर ‘स्याल’ समूहले आरोप अस्वीकार गरिदिएको छ ।
‘पहिला अधिवेशन हुँदा महेश खरेलका समर्थकले खुकुरी नचाएर हाम्रो समूहलाई लखेटेका थिए । त्यसपछि अधिवेशन विथोलिएको थियो । आज अधिवेशन गर्ने विषयमा छलफल भइरहँदा सामान्य धक्कामुक्का भएको हो’, उहाँले भन्नुभयो, ‘प्रचार गरिए जस्तो घाँटी अचेटेर हत्याको प्रयास भएको छैन ।’
खरेललाई आक्रमण गर्ने दिलबहादुर लामा समूह कांग्रेस काभ्रेका पूर्व सभापति शिवप्रसाद हुमागाइँ निकट मानिन्छन् । यो समूहले कृष्णप्रसाद सिटौला समूहलाई सहयोग गर्दै आएको छ । खरेल समूह भने सभापति शेरबहादुर देउवा निकट मानिन्छ ।
खरेलमाथि सांघातिक आक्रमण शिवप्रसाद हुमागाइँ र रमेश हुमागाइँले गराएको स्थानीय कांग्रेस नेताहरूले आरोप लगाएका छन् ।











प्रतिक्रिया