सोच र रहरको तादात्म्यताको वेमेलले जीवनमा दरार पैदा हुने गर्दछ । वस्तुस्थिति, समय, वातावरणले नै व्यक्तिको सोचमा परिवर्तन र त्यसैअनुरुप हुने कुरामा दुईमत हुन सक्दैन । तथापि समाजमा छैटो दिनमा भावीले जे लेखेको छ त्यहि नै हुने गर्दछ भन्ने मानसिकतामा लिप्त हामी कुनै पनि कर्ममा लगनशीलता विनाको परिणाम खोजिरहेका हुन्छौ ।
त्यहि कमजोर मानसिकता नै जीवनको सवैभन्दा ठुलो भुल रहेछ । जुन भुलको भुल भुलैयामा नै हामी अभिसप्त जीवन यापन गरिरहेका हुनेछौ । त्यहि धरातलको खिचडीमा नै रुमल्लिएर जीवन फगत सृष्टिको निरन्तरता शिवाय केहि नहुने रहे छ । मानव जाति रहरमा वाच्दछ या वाध्यतामा ? यो नियम संसारका अन्य जीवमा पनि लागु होला नै ।
यद्यापी मानव गतिविधीमा नै यथार्थता खोज्नु नै अहिलेको पहिलो आवश्यकता हो । मानव जीवनको सरदर आयुमा कति प्रतिशत रहर र कति प्रतिशत वाध्यतामा वाँच्ला ? यो अवश्य पनि ढिलो चाडो वहसको विषय वन्ला नै । आमाको गर्भमा रहदाँ त्यो नावालकको सोचाईले के ग्रहण गर्ला ? धर्तिमा टेकेको पहिलो पाईलामा त्यो नावालकको अवोधपनमा के पाउन सकिएला ? त्यो विषय गर्भमा नै छ ।
त्यो निश्चल, आत्मा, त्यो कपटरहित भावले मिठो प्रत्याभुत गरेको हुन्छ, सायद जीवनको सवैभन्दा सुन्दर पक्ष नै त्यहि अवोधपन नै हो । त्यहि अवोधपनको छोटो अवधिमा जीवनका धेरै पलहरुलाई आत्मासात गराउन सकिदैन । र अवधि पनि त्यहि समाज र वातावरणले निर्धारण गरेको हुन्छ । त्यहि सादगीपन, त्यहि भोलापन र त्यहि वालपनको अवधि व्यक्ति, समाज र वातावरणले नै सिर्जना गरेको हुन्छ । सायद त्यहि अवधि नै जीवनको सवैभन्दा मिठो पल हो भन्नेमा असहमत हुनेहरु कोहि नहोलान् ।
समय, अवस्था र समाजको त्यो प्रवृत्ति अनुरुपमा नै त्यो वालापनमा विकास हुने सोच नै जीवनको थप मार्गदर्शक हुने गर्दछ । साच्चै नै जस्तो वातावरण मा जन्म्यो र हुक्र्यो, त्यहि अनुरुपको सोच हुनु एकहद सम्म श्रेयस्कर मान्न सकिन्छ । तर सवै कुरा त्यसमा नै निर्भर रहनेछ भन्ने कुरा तथ्यसंगत र यथार्थपरक भने हुन सक्दैन किनकि त्यो विद्यमान वातावरण र समाज नै चित्रित गरिरहेको छ ।
वातावरण र समाजले त्यो वालापनमा परेको सोच अनुरुप जीवन चलेको हुन्छ, कि भावीले छैटो दिनमा जे लेखेको छ त्यहि अनुरुप नै जीवन चल्न वाध्य वनेको हुन्छ,? सायद यसको वहस गर्भमा नै रहला तर हरेकमा आफनो वंशाणुगत प्रभाव भौतिक शरिरमा देखिएता पनि सोच, शैली र व्यवहारमा भने यसको निरन्तरता नहुन पनि सक्ने कुरालाई नकार्न सकिदैन ।
पुर्खाको कर्म वा विडो हरेक सन्तानले धानेको हुदैन । केहिले त्यसमा नै निरन्तरता दिनु भने उसको वाध्यता पनि हुन सक्दछ । सवै कुराको निक्र्योल त्यहि समाज, वातावरण र व्यवहारको उपज पनि हुने गर्दछ । सुख छाडेर दुखमा नै रम्ने को कमि भएको यो संसारमा त्यहि वाल्कालमा गडेको सोचमा नै जीवनका गतिविधिहरु अगाडी वढ्न थाल्दछ, त्यहि पेरिफेरिमा नै अगाडी वढ्न र वढाउन प्रयासरत जो कोहि पनि त्यसको उचित कर्म, लगाव र झुकावका आधारमा सफल र असफलताको सिढि तर्फ उन्मुख हुने गर्दछ । सोच र शैलीको उचित तादात्म्यता नहुदाँ नै सवै सोचहरु सहि ठाउँमा पुग्दैनन् ।
यद्यापी जसरी पनि कमाउने, राम्रो खाने, राम्रो लगाउने, भौतिक तथा आर्थिक रुपमा सम्पन्न हुने सोचमा रहेको हामी त्यसमा नै केन्द्रित रहि जीवनको मुल्य मान्यतावाट विमुख भईरहेका हुन्छौ । जुन हामी अपत्यारिलो, असोचनिय तवरवाट अगाडी वढिरहेका हुन्छौ । जसको आभास कमै लाई मात्र हुने गर्दछ । त्यहि परिचक्रमा नै जीवनका अधिकांश समयहरु वितिरहेका हुन्छन् ।
जीवनका नैतिक मुल्य, मान्यता र आचरणको हेक्का नभई गरिएका जीवनमा अनेर्को तिकडम हरु जीवनका उत्तरार्धमा कमैलाई मात्र अनुभुति भएको हुन्छ, तथापी त्यो उमेरमा उसले केहि अन्य सोच्न, भौतिक रुपमा कर्म गर्न र त्यसको वारेमा यथार्थवोध गराउन शारिरिक, मानसिक र भौतिक रुपले पनि सक्दैन । यद्यापी यस्तो अनुभुति पनि संसारमा रहेका अरवौ व्यक्तिहरुमध्ये केहि व्यक्तिमा मात्र आभास हुने गरेको पाउन सकिन्छ ।
अथाह रुपमा सम्पति आर्जन गर्ने, भौतिक सुखसयल र ऐस आरामको जीवन व्यतित गर्ने होड चलेको यो समाज र वातावरणमा सवै त्यसमा नै उन्मुख हुनु भनेको त्यहि समाज र वातावरणको उपज शिवाय केहि हुन सक्दैन । विश्व ईतिहासमा यो भौतिक सुखसयल वाहेक धेरै कुराहरु अध्ययन गर्न र देख्न पाईन्छ, तर त्यो वाटोमा हिड्नका लागि जोखिम र हिम्मतका आवश्यकता पर्दछ, जुन कमै व्यक्तिहरुमा मात्र देखिन्छ ।
वाल्यकालको त्यो सोचलाई सफलताउन्मुख वनाउन नसक्दा, अल्पायुमा नै जीवन सहादत दिनेहरुको भीडमा त्यसवाट वाहिर निस्केर जीवनको यथार्थवोधमा नै अग्रसर हुनु नै श्रेयस्कर हो । विश्व ईतिहासले नै भन्दछ, कोहि पनि हरेक पक्षमा सफल हुन सक्दैन । त्यसो भन्दै गर्दा हामी धेरै पक्षमा चुक्नु नै हाम्रो कमजोरी हो ।
जीवनका सवल पक्षलाई आत्मासाथ गर्न नसक्नु र दुर्वल पक्षको एकोहोरो अडान नै जीवन दुखी हुनुको कारकतत्व रहेछ । अभिशप्त जीवनमा यथार्थलाई आत्मासात गर्नु भन्दा रंगिन दुनियामा क्षणिक रमाउन खोज्नु नै नाजायज रहेछ । वाल्यकाल हुदै युवा अवस्थालाई विदाईको सम्मुखमा पुगिरहदा सोच्न वाध्य भएको छु, साँच्चै जीवनलाई नजिकवाट नियाल्नेहरुका जीवन कि त नरहने रहेछ, कि त यो दुनियाका कर्म भन्दा वाहिरिदाँ रहेछ ।
यो सवै वातावरण देखि जोगिएर जीवनको मुल्य, मान्यता, नैतिकताको कसिमा उभिनेहरु निरन्तर वाचिरहने रहेछन, भौतिक शरिर नभएता पनि । यो सवै गर्नका लागि समान्य, सोचले नभई एकाग्रता र यथार्थपरकलाई आत्मासात गर्नुपर्ने रहेछ, जुन धेरैका लागि असोचनिय विषय वन्ने रहेछ । विभिन्न चरण पार गरेर यो समय र वातावरणमा उभिरहदाँ लागि रहेको छ, हामी धेरै ठाँउमा चुकिसकेका रहेछौ, त्यसको पुनरावृत्ति गरेर अगाडी वढ्नु भनेको असम्भव प्राय हुने रहेछ । अव त्यहि, आलश्यता, नैराश्यता, दुखः को जंजालमा जर्वजस्ती घचेटनुको विकल्प रहेनछ ।
















प्रतिक्रिया