३० आश्विन २०८३, शुक्रबार

पश्चिम कैलालीबाट स्वास्थ्यमन्त्री गगन थापालाई खुल्लापत्र

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-2

– अजय सोराडी

माननीय स्वास्थ्य मन्त्री गगन थापा ज्यू,
सिंहदरवार, काठमाडौं ।

सर्वप्रथम म तपाईलाई बधाई दिन चाहन्छु, नेपाल सरकारको स्वास्थ्य मन्त्रीको जिम्मा पाउनुभएकोमा र दिन चाहन्छु सफल कार्यकालको हार्दिक शुभकामना । हाम्रो देश नेपालमा लोकतन्त्र र गणतन्त्रको झण्डा उदाएको करिव एक दर्शक भयो । यो एक दर्शकको अन्तरालमा ७ ओटा सरकार गठन भए, ७ नेता देशका प्रधानमन्त्री भए, करिव ३५० भन्दा वढी मन्त्री, सहायक मन्त्री र राज्यमन्त्री भए गण्तन्त्र पछाडि ७ जनाले देशको वागडोर सम्हाली सके, नेपाली जनताको विचमा गएर परिवर्तका क्रान्तिकारी भाषण पनि गरिसके, अह तर नेपाल र नेपालीका दुःखका दर्दनाक कथा बदलिएनन् ।

तपाई गणतन्त्र नेपालको आठौ सरकारको सपथ खाएर मन्त्रालयको कुर्चीमा बसिसक्नु भएको छ । यो सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । प्रचण्डको सरकारको मन्त्री भएर अब सिंहदरबारको मन्त्रालयको कुर्चीमा बसेर हेर्नुस नेपाललाई नेपाल कहाँ छ, नेपाली कहाँ छन्, समृद्धि र परिवर्तन भन्ने नारा कति फैलिएर कार्यान्वयन भएको छ ।

म तपाईलाई रहर नभएर आज बाध्य भएर खुल्ला पत्र लेख्दैछु, नेपालको भ्रष्टचार, कमिशनखोरी माफियाकरण, नातावाद, कृपावाद, चाकडीवाद र अस्थीरताले स्थायी रुप लगिराखेको छ । अराजक र अस्थिरताले विकराल रुप लग्दै गएको छ । अब भन्नुस लोकतन्त्रको एक दर्शकको उपहार यही हो त !

तपाई नेपालको एक सच्चा र सशक्त युवा हो । यो मलाई मात्र होइन म जस्ता लाखौं युवालाई थाहा छ, तपाईका हरेक परिवर्तनशील भाषण, समृद्धिशील वाक्यांशहरु र विकासशिल विचार अध्ययन गर्ने म पनि एउटा तपाईको धावक हुँ । मलाई धेरै थाहा छैन, यति थाहा छ कि, गगन थापा एक परिवर्तनशिल युवा नेता हो जसको आँखामा समृद्ध नेपाल घुमेको छ । जसले नेपाल र नेपाली बनाउने सपना साँचेको छ । हुनसक्छ गगन थापाले कतै अराजक र देशलाई घाटा हुने काम गरेका हुनसक्छन्, त्यो पछि इतिहासले बताउला म त्यतातिर धेरै गएन ।

ajaya-soradi
लेखक

आज हामी विकासशिल देशको तुलनामा धेरै पछि छौ । देशमा जती नयाँ सरकारको उदय हुन्छ, त्यती नै देश अन्यौलताको कालो बादलमा मडारी रहेको छ । संसद भवनको विकासशिल बजेटको अन्तरवस्तुमा रहेर एक चोटि कर्णाली अञ्चललाई हेर्नुस, मध्य र सुदूरका पहाडी वस्तीलाई हेर्नुस र अन्य विकट ठाउँलाई पनि हेर्नुस नेपाल कहाँ छ, नेपाली कहाँ छन्, थाहा हुन्छ ।

संसदको रोस्टममा उभिएर सिंगापुर, जापान, चाइना र अमेरिकाका भाषण हुन्छन् । काम हेर्दा सिँचाई गर्ने कुलो बन्दैन । संसद भवनको रोस्टमका लालची भाषण र जनताका माझाका क्रान्तिकारी भाषणहरु धेरै भए नेपालमा तर परिवर्तन भएन ।

आज लाखौ दक्ष जनशक्ति विदेश पलाएन भएका छन्, नेपाल बनाउने नेपाली विरले आज साउदी मलेसिया बनाएका छन्, कुवेत र कोरिया बनाएका छन्, खाडि मुलुक बनाएका छन् र बनाएका छन् अन्य देशहरु, अब हामीलाई जवाफ दिनुस मन्त्री गगन थापाज्यू नेपाल कस्ले बनाउन्छ । विदेशका अनेक खालका यातनापूर्ण र विभर्षपूर्ण कामले अनेक सपना बोकेर विदेश गएका नेपाली विदेशमै लास भएका छन् । रगत, पसिना, प्राण, मेहनत, परिश्रम सबै विदेशको माटोमा बाकी भौतिक लास नेपालमा नेपाल आमाले र नेपाली माटोले गिजाइ रहेको छ देश चलाउने शासकहरुलाई  ।

तपाईलाई थाहाँ छ, जनताको जीवनस्तर र नेताको जीवनस्तर कति आकाश पातालको फरक छ । जनता खाना र लाउन नपाएर विदेशको मरभुमिमा भेडा चराई रहेका छन्, ६० डिग्रीको घाममा १२ र १६ घण्टाका कष्टपूर्ण डिउटी गरिरहेका छन् । यता नेता भने काठमाडौंका महंगा महलमा बसिरहेका छन्, ८० लाखका कारमा गुडिरहेका छन् करौडौंका प्लेनमा उडिरहेका छन्, तीनका छोराछोरी विदेशका महंगा कलेज धाइरहेका छन्, अनि तपाई समाजवाद र साम्यावादका भाषण छोड्नु हुन्न ।

हाम्रो समाज कति बर्बादीको खडलमा छ । हाम्रो समाजमा जातीय समस्या छ, वर्गीय समास्या छ, भाषिक समस्या छ, लैंगिक समस्या छ, हामी अझै पुरातन सोचमै छौ । छुवाछुत प्रथा, दाइजो प्रथा, भरुवा प्रथा, बोक्सी प्रथाले हाम्रो समाज कालान्तमै छ । अनि नेताहरु भाषण गर्छन पूर्र्वीय सभ्याताका सबैले परिवतनकै खोक्रा भाषण गर्छन, आफू परिवर्तन हौ र परिवर्तनको उदाहरण पेश गरौ कसैले भन्दैनन् । सधै अरुलाई परिवर्तन गराउन खोज्छन् आफू परिवर्तन हौं भनेर कहिल्यै भन्दैनन् ।

केही देश १० वर्ष माओवादी आन्दोलनले खायो, केही देश १० वर्षे लोकतान्त्रिय सरकारले मास्दैछ । अझै त्यो चेस्टामा परिवर्तन आएको छैन । हामी २००७ सालदेखि २०७२ सालसम्म राजनीतिक आन्दोलन नै लड्यौं, ७० वर्ष लामो संघर्षको परिणाम संविधान जारी भयो अझै पनि समृद्धिका निर्माणहरु देख्न पाइएको छैन, अनेक चुनौतिका पहाडमा तपाई मन्त्री हुनु भएको छ ।

म तपाईको कांग्रेस र त्यसका अन्य नेताहरु मलाई किन्चित मात्रामा पनि मन पर्दैनन्, म एक एमालेको र अनेरास्ववियुको सच्चा सिपाई हुँ । तर व्यक्तिगत रुपमा तपाईका विचार र सोचहरुलाई धेरै मन पराउछु । त्यही भएर म अहिलेसम्मकै मन्त्री मध्येमा म तपाईलाई पहिलो खुल्लापत्र लेख्दै छु । म एमाले र अखिलको कार्यकर्ता भएतापनि राम्रो र परिवर्तनशिल मान्छेको सम्मान गर्नु सबैको कर्तव्य र दायित्व हो, तपाईको राजनीतिक नेतृत्व पछिल्लो पुष्ताको वा नौजवान युवाको नेतृत्व हो । तपाई कांग्रेसभित्र मात्र नभएर अन्य पार्टी र नेपाली जनतामाझ लोकप्रिय हुनुहुन्छ । तपाई लोकप्रिय भएको कुनै कांग्रेसको इतिहासले होइन, कांग्रेसको राजनीतिले पनि होइन् । तपाईको काम गर्ने स्टाइल, तपाईले दिने विकसीत विचारहरु, तपाईले गरेका कामहरु, तपाईका संघर्षहरु, तपाई भित्रका क्षमता ताकतले मात्र हो ।

तपाई अहिले स्वास्थ्य मन्त्री हुनुभएको छ । प्रधानमन्त्री र अन्य मन्त्रीभन्दा तपाईको अपेक्षा र विश्वास आम नेपालीले गरेका छन्, तपाई नेपाली युवा जगतको एक अपेक्षा र आशा पनि हो । तपाईले मन्त्रीको सपथ लिएसंगै भनिसक्नु भएको छ कि म असफल भए युवा पुस्ताको नेतृत्वप्रति नै अविश्वास पैदा हुन्छ भनेर तपाईको त्यो विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो ।

स्वास्थ्य मन्त्रालय प्रविधिक मन्त्रालय हो, जहाँ विभिन्न चुनौतिपूर्ण समस्या छन् । स्वास्थ्य मन्त्रालय जनताको जीवनसंग प्रत्यक्ष जोडिएको मन्त्रालय हो । स्वास्थ्यमा माफियाकरण छ, भ्रष्टाचारीकरण छ, कमिशनखोरी छ, त्यसलाई तोडन सक्नुपर्छ, विभिन्न मेडिकल कलेजहरु मान्छे मार्ने भट्टी जस्ता भएका छन् । उपचार गर्न गएका सेवाग्राही कमजोर उपचारका कारण अस्पतालमै मर्ने गरेका छन् । जीवन र मृत्युको दोसादोमा नेपालको स्वास्थ्य क्षेत्र छ । सरकारी लगानी भएका विर अस्पताल र शिक्षण अस्पताल प्राविधिक उपचारका सन्दर्भमा कमजोर छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टरहरु माफियाकरणको जालोमा छन् । उनीहरु सरकारी सेवालाई भन्दा आफ्नो व्यक्तिगत क्लिनिकलाई बढी फोकस गर्छन । कयौ सरकारी दरबन्दी खाली छन् । कोही विकट ठाउँ भन्दै आफ्नो कार्य स्थलमा नै जादैनन् कतिपय सरकारी अस्पतालहरु अस्तव्यस्त छन् ।

तपाईलाई थाहा छ, जाजरकोट, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पाजस्ता ठाउँमा सिटामोल नपाएर जनताले ज्यानलाई मृत्युको घाटमा पुगाएका छन् । सुरक्षित गर्भपतन सेवा नभएर सुत्केरी महिलाले अकालमै ज्यान गुमाएका छन्, कुनै गाउँ वस्तीमा हैजा र महामारी आयो भने ५० जना नमरेसम्म सरकारी सुनुवाई हुँदैन, अझै जनताहरु धामी झाक्रीहरुमा धाउन छाडेका छैनन् । यो रुढीवादी सोचलाई पनि मुक्तरुप दिन सकेको छैन सरकारी निकायले ।

मन्त्री गगन थापाज्यू, कुनै ठाउँमा जग्गा छ भौतिक संरचना छैन कुनै ठाउँमा भौतिक संरचना छ तर प्राप्त सुविधा छैन, जुन ठाउँमा डाक्टर छन् त्यो ठाउँमा औषधी छैन, अनि प्रविधिक उपकरण पनि छैन यस्तो लाचारी छ स्वास्थ्य क्षेत्र पछिल्लो समय पैसा कमाउने व्यवसाय भएको छ । नक्कली सर्टिफिकेट बोकेर सरकारी जागिर खाइरहेका छन्, नक्कली लाइसेन्स बनाएर अनेक खालका क्लिनिकहरु चलाइरहेका छन् । कर्मचारीहरुको सरुवा बढुवा व्यापारकै आधारमा हुने गरेको छ । योग्य र सक्षम डाक्टरले काम गर्न पाएका छैनन्, त्यसैले अब सुधार र परिवर्तन गर्नुपर्छ तपाईले ।

फेरि कुरा नेताकै, यता जनता औषधिको सिटामोल नपाएर छटपटाइरहेका छन्, स्वच्छ र स्वास्थ्य उपचार नपाएर जिन्दगीको आयु घटाइरहेका छन् । उता नेता भने सामान्य जरो र रुघाखोकीको उपचार गर्न सिंगापुर, अमेरिका, जापान, अष्ट्रेलिया र अन्य विकसित देशमा धाइरहेका छन् । कस्तो विग्रह र बिडम्बनाको विषय हो ।

अन्तमाः

अब भाषण गर्ने समयले तपाईलाई पछाईसक्यो, अब तपाई काम गर्ने समयको रंगमञ्चमा आइसक्नुभयो । यो अवसरलाई कार्यान्वयनमा बदल्नुहोस् । जसले सबैको मुखार विन्दुमा गनगन होइन गगन गगन होस । होइन भने आज तपाईलाई सहानुभुतीको पत्र लेख्ने म युवक तपाईको विरोध र आलोचनाको पत्र लेख्न बाध्य नहुँ र त्यो दिनपनि नआओस् ।