काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विहान बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस र एमालेका नेताबीच चर्काचर्की परेको छ ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रको विषयमा कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र एमाले नेता भीम रावलबीच चर्काचर्की परेको छ । रावलले दुई छिमेकी देशमा विशेष दूत पठाएर प्रचण्डले आन्तरिक हस्तक्षेप निम्ताएको भन्दै आपत्ति जनाएपछि निधिले प्रतिवाद गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डकै अगाडि यो विषयबाट सुरु भएको दुबै नेताबीचको विवादले बालुवाटार बैठकमा हात हालाहालसम्मको अवस्था सिर्जना भएको बैठकमा सहभागी एक नेताले बताए । दुई नेताबीचको विवादलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले साम्य पारेका थिए ।
के भएको हो खास ?
बैठकमा चलिरहँदा एमाले उपाध्यक्ष भीम रावलले गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको कुरा उठाए । उनले निधिले भारत भ्रमणका क्रममा संविधान संशोधन जस्तो नेपालको आन्तरिक विषयमा छलफल गरेको प्रति आपत्ति जनाए । संसद बैठकमा समेत सो विषयको चर्को विरोध गरेको एमाले नेता रावलले भारतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति नै पढेर सुनाए । उनले भने– ‘संविधान संशोधनको विषयमा भारतमा गएर छलफल भएको दूतावासको विज्ञप्तिमै प्रष्ट छ । नेपालको आन्तरिक विषयमा त्यसरी बाह्य शक्तिसँग छलफल हुनु गम्भीर विषय हो ।’
रावलले यति भनेपछि निधिले प्रतिवाद गर्दै रावललाई आफू चाखो बन्न खोजेको आरोप लगाए । उनले भने, ‘तपाईंले पनि कति विदेशीसँग सल्लाह लिनुभएको छ कतिलाई जानकारी गराउनुभएको छ भन्ने हामीलाई पनि राम्रोसँग थाहा छ । विदेशीले फन्डिङ गरेको कुरा पनि हामीलाई थाहा छ ।’ निधिले यति भनेपछि रावल प्रमाण देखाउनुस् भन्दै कड्किए । निधि पनि आफूसँग प्रमाण सुरक्षित रहेको भन्दै जंगिए ।
बैठकमा उनीहरुले एकअर्कालाई दलालको संज्ञा दिए । बैठकमा गृहमन्त्री निधिले तल्लोस्तरमा झरेर रावललाई पश्चिमा मुलुकको दलाल भनेपछि विवाद तँ तँ र म म सम्म पुग्यो । निधिले आफूलाई पश्चिमा मुलुकको दलालको संज्ञा दिएपछि रावलले पनि तत्कालै प्रतिवाद गर्दै उनलाई भारतीय दलालको संज्ञा दिए । त्यसपछि दुई नेताको विवाद बढ्यो । जसका कारण हात हालाहालको स्थिति नै उत्पन्न भयो । बैठकमा उपस्थित अन्य नेताले उनीहरुलाई रोके र आक्रोश कम गर्न आग्रह गर्दै विषयबस्तुलाई अर्कैतिर मोडे ।











प्रतिक्रिया