१ कार्तिक २०८३, शनिबार

काठमाडौँ टावरको ठेकेदार कम्पनीले झण्डै एक करोड रोयल्टी बुझायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kathmandu-Tower-1

काठमाडौँ, १४ भदौ । पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौँ टावरको ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइले काठमाडौँ महानगरपालिकालाई रु ९८ लाख ३३ हजार ३०० राजस्व तिरेको छ ।

निर्माण सुरु गर्नुपर्ने लामो समय बितिसक्दासम्म निर्माणको लागि जिम्मा पाएको कम्पनीेले काम सुरु नगरेपछि कामपाले पटक पटक ठेक्का रद्दगर्ने चेतावनी दिएपछि टावर निर्माणको ठेकेदार कम्पनीले राजस्व तिरेको हो ।

सम्झौताअनुसार गत वैशाखदेखि काम सुरु गर्ने भनिएपनि हालसम्म काम सुरु नभएको भन्दै महानगरले प्रगति विवरण बुझाउन निर्देशन दिएको थियो । प्रगति विवरण नबुझाएको अवस्थामा ठेक्का रद्द गर्ने चेतावनी दिएपछि राजस्व तिरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले निर्माण अवधिभर वार्षिक रु ९८ लाख ३३ हजार निर्माण अवधि सम्पन्न भएलगत्तै वार्षिकरुपमा भवनको रु एक करोड ७५ लाख र जग्गाको ७० लाख महानगरलाई राजस्व स्वरुप तिर्नुपर्ने छ ।

जलेश्वर, स्वछन्द विकोइका प्रवन्धक मनोज भेटुवालले पाइलिङ मेसिन भारतबाट ल्याउनुपर्ने भएकाले काम सुरु नभएको बताउनुभयो ।

करिब चार महिना अघि निर्माण कम्पनीले टावर बनाउन भन्दै बसपार्कको पार्किङ खुल्लामञ्चमा सारेको थियो । यता ठेकेदार कम्पनीले जमिन खन्ने पाइलिङ मेसिन नेपालमा नपाइएकाले काम सुरु गर्न ढिलाइ भएको भन्दै आएको थियो । रासस