भक्तपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै बिजुक्छेले सभामुख ओनसरी घर्ती आफ्नो पदीय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भूमिकामा देखा परेको बताए ।
बिजुक्छेले सार्क राष्ट्रभित्रका लागि गरिन लागेको संयुक्त बिद्युत सम्झौताको साँचो भारतमा रहने भएकाले नेपालको हित प्रतिकुल हुने बताए । अघिल्लो सरकारका ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले प्रस्तुत गरेको र हाल माओबादीकै नेतृत्वको सरकारमा संसदमा बिधेयक प्रस्तुत गर्नुले वर्तमान सरकारको भारतप्रतिको झुकाव प्रष्ट्याएको बताए ।
उनले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्ट हुँदै गएको बताए । ‘दक्षिण एसिसामा संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ’ विजुक्छेले भने, ‘यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने छन् ।’
प्रचण्ड नेतृत्वको सरकार गठनसँगै बिशेष दूतका रुपमा उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई भारतमा पठाईनु गलत भएको विजुक्छेको भनाई थियो । सरकारमा पठाइने मन्त्रीको नाम पहिले नै दिल्लीले निर्धारण गर्नुले पनि भारतकै इसारामा सरकार निर्माण भएको भनाइको पुष्टि गरेको उनको विचार थियो ।
स्थानीय निकायको निर्वाचनको समय जसरी तोकिएको छ यो सम्भव नरहेको भन्दै १४ अञ्चल ७५ जिल्लाकै आधारमा निर्वाचन नगरिए दुई तीन वर्षसम्म पनि निर्वाचन नहुने उनको दाबी छ । तीनवटा निर्वाचन एकै समयमा गर्न नसकिने निर्वाचन आयोगले समेत बताइरहेका बेला वर्तमान सरकारको लिंडे ढिपीले भारतले सरकार गठन गर्दा लगाएको गुन तिर्न अस्थिरता बढाएको पुष्टि हुने बताए ।
भारतीय राजदूतले नेपालमा गरिरहेको क्रियाकलाप कुटनीतिक मर्यादाभन्दा बाहिर रहेको र नेपालको राजदूत फिर्तासँगै भारतले पनि आफ्नो राजदूत फिर्ता बोलाउनुपर्ने भएपनि नेपाल सरकारको निरहिता र भारतको हेपाहा प्रबृतिकै कारण रञ्जित रेले नेपालमा मनपरि काम गरिरहेको उनले बताए ।











प्रतिक्रिया