सिड्नी । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले नेपालको पर्यटन प्रवर्द्धनका लागि अष्ट्रेलियाका ३ मुख्य सहरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
भूकम्पपछि सुस्त बनेको नेपालको पर्यटन क्षेत्रमा यस क्षेत्रबाट पर्यटक संख्या बृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियाका सहरहरुमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिने भएको हो ।
अक्टोबर दोस्रो सातादेखि आयोजना हुने कार्यक्रम नेपाल पर्यटन बोर्ड, नेपाल सरकारको पर्यटन मन्त्रालय, दूतावास, अवैतनिक वाणिज्यदूतावास र स्थानीय अन्य संस्थाहरुको सहकार्यमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले आयोजना गर्दैछ । ‘सुरक्षित नेपाल, घुमौं नेपाल’ भन्ने नाराका साथ साताभरि मनाउन लागिएको यस कार्यक्रमले ‘नेपाल सुन्दर र सुरक्षित छ, भ्रमण गरेर आनन्द लिऔं,’ भन्ने सन्देश दिन खोजिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिता जनाउन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल समेत अष्ट्रेलिया आउने आयोजक संस्थाका अध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार अक्टोबरको १५ तारिखमा सिड्नी, २० तारिख ब्रिसबन र २२ तारिखमा भिक्टोरियाको मेलबर्न सहरमा कार्यक्रम गर्ने तय भएको छ । कार्यक्रमको मुख्य उद्देश्य भूकम्पपछि शिथिल बनेको नेपाली पर्यटन क्षेत्रमा यस क्षेत्रबाट केही मात्रामा भएपनि पर्यटक भित्रयाउनु रहेको आयोजकले दाबी गरेको छ । नेपालीहरु प्रत्येक बर्ष बिदा मनाउन कुनै न कुनै देश जाने प्रचलन बढिरहेको सन्दर्भमा यस कार्यक्रमबाट विदेशभन्दा पनि नेपाल नै घुम्न प्रेरित गर्ने आफूहरुको उद्देश्य रहेको अध्यक्ष पाण्डेले बताए ।
उनका अनुसार सिड्नीको मुख्य स्थानमा नेपालीहरुले परम्परागत पोशाक र झाँकी सहित परेड गर्ने कार्यक्रम राखिएको छ । जसका लागि स्थानीय काउन्सिलसँग छलफल भइरहेको छ । त्यसका साथै नेपाली परम्परागत पोशाकहरुका साथै नेपाली कला र संस्कृती झल्कने किसिमका बिभिन्न झाँकी र नृत्यहरु समेत प्रदर्शन गरिने कार्यक्रम राखिएको छ । ‘हामीले भूकम्पपछि पनि नेपाल सहज र शान्त छ भन्ने सन्देश दिन चाहेका हौं,’ आयोजक संस्थाका प्रवक्ता प्रकाश पन्थीले भने, ‘यस कार्यक्रमबाट केही मात्रामा यहाँका स्वदेशी र विदेशी पर्यटकहरु नेपाल लैजान सकिन्छ भन्ने विश्वास लिएका हौं ।’
कार्यक्रमलाई मनोरञ्जनात्मक समेत बनाउनका लागि नेपालबाट लोक गायक बद्रि पंगेनी, हास्यकलाकार जीतु नेपाल, प्रिती आले र मिलन अमात्य समेत अष्ट्रेलिया आउने तय भएको छ । त्यसका साथै स्थानीय कलाकारहरुले पनि बिभिन्न सांगितिक र मनोरञ्जनात्मक प्रस्तुति दिने बताइएको छ ।















प्रतिक्रिया