काठमाडौं, १० भदौ । केही प्रहरी अधिकारीहरूको आडमा युवती दलाली गर्ने व्यक्ति सिआईबीको फन्दामा परेका छन् ।
एसएसपी रमेश खरेल काठमाडौं परिसरमा हुँदा उनको संरक्षणमा मस्ती गर्दै आएका संजीवकुमार साहलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो । ठगी मुद्दामा अदालतले कैद सजाय तोकेका उनी एसएसपी खरेल लगायतको संरक्षण उम्कँदै आएका थिए ।
गोवाको डान्सबारमा उनले मुस्कान राउत नामक युवतीलाई नाच्न लिएर गएका थिए । तर पछि यौन धन्दा लगाउन खोजेपछि अस्वीकार गर्दा उनलाई कोठामा थुनेका थिए । पछि युवती भागेर काठमाडौं आई उजुरी गर्न हनुमानढोका जाँदै एसएसपी खरेलले उजुरी लिएनन् । बरु युवतीलाई न्याय दिलाउन खोज्ने सुदर्शन बस्नेतविरुद्ध उनै शाहलाई उजुरी हाल्न लगाए । रेष्टुरेन्ट चलाउने बस्नेतका सबै कर्मचारीलाई समेत पक्राउ गरी अपहरणमा संगठित अपराध मुद्दा जोडेर ६० दिनसम्म थुने । बस्नेत पछि धरौटीमा छुटे ।
कुनै प्रमाणबिना साहले नाटकीय घटना बनाएर त्यसबेला एसएसपी खरेलसँग मिलेर बस्नेतलाई थुनाएको आरोप लागेको थियो । तीनै साहलाई सिआईबीले सोमबार पक्राउ गरेको हो । सिआईबीका एसपी सुरेशबिक्रम शाहका अनुसार साहलाई अदालतले ठगी मुद्दामा डेढ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाइसकेको छ । अदालतले सजाय सुनाउँदा पनि फरार रहेकाले उनलाई पक्राउ गरी जेल चलान गरिएको एसपी शाहले बताए । उनले विभिन्न व्यक्तिलाई विदेश पठाइनेदिने भन्दै २४ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।
नेपाली युवतीहरूलाई आकर्षक काममा लगाउने भन्दै साहले बिदेशमा पठाएर यौनधन्दामा लगाउने गरेका थिए । केही प्रहरी अधिकारीलाई समेत उनले युवती मिलाइदिएर राम्रो सम्बन्ध बनाउँदै आएको स्रोत बताउँछ ।
















प्रतिक्रिया