
प्रचण्डलाई शुभ संकेत देखिएको छैन् । पहिलोपटक चीनवाट वैदेशिक भ्रमण सुरु गरेका पुष्पकमलले अहिले भारतनै रोजेका छन्, अझ अचम्मको विषय भारतमा दूत पठाएर भारतीय प्रधानमन्त्रीलाई पत्र नै पठाएका छन् । भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्नुपर्ने के आवश्यकता वा बाध्यता रहन्छ, नेपालको सरकार प्रमुखको लागि ? प्रान्तका राज्यपाल वा प्रान्त प्रमुखले आफ्ना प्रधानमन्त्रीलाई प्रान्तीय सरकार बनेको जनाउ दिने शैलीको यो कार्य कदापि सही हुँदैन ।
नेपालमा नयाँ सरकार बनेको छ । सामेल भएको सरकारको विरुद्ध अविश्वास दर्ता गरी नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको छ । नेपाली कांग्रेसलाई मनाएर पुष्पकमल दाहाल सरकारको नेतृत्वमा छन् । जनयुद्ध, जनआन्दोलन, संविधानसभा हुँदै खुल्ला राजनीतिमा टेकेका पुष्पकमलको यो सत्ता नेतृत्वको यात्रा दोस्रोपटक हो । पहिलो संविधानसभाबाट पार्टीलाई पहिलो बनाएर सरकारको नेतृत्वमा पुगेका थिए । त्यो विश्वकै लागि एउटा सुखद सिकाइको अनुभव थियो । बन्दुकको नाल छाडेर शान्तिपूर्ण जनमतको माध्यमबाट सरकारको नेतृत्वमा आउनु यो एउटा उदाहरणीय कार्य थियो । तर, बिडम्वना बन्द शैलीको कमाण्डिङ सम्हाल्न सकेपनि सत्ता राजनितिको स्टेरिङ सही ढंगले उनले सम्हाल्न सकेनन् वा सम्हाल्न दिइएन । र, अन्ततः बाहिरी सतहमा देखिएको प्रधानसेनापति काण्ड नै उनको सत्ता बर्हिगमनको कारण बन्यो ।
विगतको जनयुद्धमा छिमेकी भारतको के कति सहयोग थियो त्यसको लेखाजोखा इतिहासले पुष्टि गर्दै लग्नेनै छ तर यति चाहिं सत्य यो केही भारतको सहयोग बारे भैरहने टिप्पणीप्रति माओवादी नेतृत्वले प्रष्टिकरण दिन उचित ठानिरहेको छैन या चाहिरहेको छैन । जे होस् पहिलो संविधानसभाबाट जब माओवादी पहिलो दल बन्यो त्यो समयदेखि पुष्पकमलको सत्ता वर्हिगमनको समयसम्म माओवादी र माओवादी नेतृत्व छिमेकी भारतप्रति एक प्रकारले अनुदार जस्तो देखियो ।
माओवादी नेतृत्वको कार्यशैली, अभिव्यक्ति अनि माओवादीका कार्यक्रम हेर्दा भारत विरोधी रहेको देखिन्थ्यो, सत्ता छाडेपछि पनि यो शैलीले अझ व्यापकता पायो । रक्षामन्त्री समेत भएका माओवादी नेता तत्कालिन महासचिव रामवहादुर थापा बादल भारतले मिचेको भूभागमा गएर भारतविरोधी कार्यक्रमका प्रमुख बक्ता नै भए, उनी मात्र होइन धेरै माओवादी नेताको अभिव्यक्ति भारतलाई गाली गरेर राष्ट्रिय छवि निर्माणमा उद्दत भएको देखिन्थ्यो ।
तर, बिडम्वना माओवादीकै अर्का नेता डा. बाबुराम भट्टराई सत्ताको नेतृत्वमा आए अनि यो शैली केही हदसम्म रोकिएको आभाष हुन थाल्यो, यस बीचमा माओवादीको एउटा शक्ति मोहन वैद्य किरणले पार्टी फुटाए, अनि फेरि एउटा तप्का राष्ट्रियताप्रति गम्भिर र अर्को तप्का राष्ट्रियता विरोधी खेमा भएको आफैं आफैंमा टिका टिप्पणीले नेपाली राजनिति धमिलिन पुग्यो । त्यसको असर दोस्रो संविधानसभामा देखियो, पहिलोबाट तेस्रो शक्तिमा माओवादी झर्न पुग्यो, हुनतः यो पंक्तिकार संख्यात्मक भन्दा गुणात्मक र कार्यनितिले पार्टीको शत्ति निर्माण गर्छ भन्नेमा विश्वास राख्दछ । तर पनि वैचारिक भिन्नताले गर्दा पुष्पकमलको साथ डा. बाबुराम भट्टराईले छाडेपछि पुष्पकमलको शक्ति केही क्षय हुन पुग्यो, यसको जिवन्तताको फेरि अर्को हतियार भारतलाई उनले बनाए । भारतले नाकावन्दी लगाएपछि त्यसको विरोधमा ठूला ठूला स्वरले चिच्याउने मात्र होइन्, एमाले नेतृत्वको सरकार निर्माणको पहलकदमीका प्रमुख पात्र पुष्पकमल आफैं बने, अनि एउटा उचाई लिए जुन उचाईले उनको सम्मान जिवन्त राख्दथ्यो, उनको भूमिका नभएको भए ओलीको नेतृत्वमा सरकार सम्भव थिएन । तर समयक्रमसँगै पुष्पकमलकै भनाइमा सरकारको काम गराई चित्त बुझेन र सरकार आफैले गिराए, अनि कांग्रेससंग मिलेर अहिले सरकारको नेतृत्व गरिरहेका छन् ।

सत्ता फेरिनु, समिकरण बदलिनु कुनै नौलो विषय होइन, सरकारको नेतृत्व फेरिँदा साह्रै चिन्ता लिइहाल्नुपर्ने केही होइन । तर जनताको अपेक्षा पुष्पकमल पहिलाकै पुष्पकमल नै रहुन् भन्ने हो । जुन पुष्पकमलले राष्ट्रियताको मुद्दामा नाकावन्दीको समयमा खरो अभिव्यक्ति दिने गर्दथे, विगतमा सरकारमा रहँदा गर्न नपाएको राष्ट्रियतासँग जोडिएका मुद्दाहरु पुष्पकमलले गर्न सकुन् भन्ने हो । तर यहाँ पनि विडम्वना नै भन्नुपर्छ सरकार निर्माण हुनुअघि देखि अहिलेसम्म भएका र गर्न खोजिएको भनिएका कार्यले पुष्पकमल फेरिएको संकेत गरिरहेको छ । नागरिकताको सम्वन्धमा अपनाउन खोजिएको विश्वमै अवलम्वन नगरिएको शैली, प्रादेशिक संरचनाको सिमाकंनमा देखिएको प्रारुप, फाष्ट ट्रयाक निर्माणको प्रसंग यी यस्ता धेरै विषयले अहिले पुष्पकमल फेरिएको प्रष्टै देखिन थालेको छ । हुन त यो विगतमा आफूले गल्ती त गरिन भनेर सुधार्न खोजिएको पनि हुन सक्छ तर यसो नहोस् जनता यही चाहन्छन् । पुष्पकमलले आफ्नो पहिलो सत्ता नेतृत्वमा पुग्दादेखि सत्ता छाड्नुपर्दा र त्यसपछि अहिलेसम्मको अवधिमा धेरै हन्डर खाइसकेको हुनुपर्दछ, पार्टी चोइटिएको पीडा पनि त्यस्तै हुनुपर्दछ, पुष्पकमललाई पार्टी चोइटिनु कारण पनि छिमेकीसँगको सुमधुर सम्वन्ध नबन्नु हो भन्ने पनि लागेको हुनुपर्दछ । त्यसैले अब यो गल्ती म गर्दिन भन्ने उनले कसम नै खाएका पनि हुन सक्दछन् यो सबै समयले सिद्द गर्नेनै छ । तर संकेत भने शुभ देखिएको छैन । पहिलोपटक चीनवाट वैदेशिक भ्रमण सुरु गरेका पुष्पकमलले अहिले भारतनै रोजेका छन्, अझ अचम्मको विषय भारतमा दूत पठाएर भारतीय प्रधानमन्त्रीलाई पत्र नै पठाएका छन् । पत्रका के थियो यो बाहिर त आएको छैन, सार्वजनिक गर्न माग भने प्रतिपक्ष दल एमालेले उठाएको छ । पत्र लेख्नुलाई सामान्य रुपमा अर्थ्याउन पनि सकिन्छ, यही अर्थ्याउन खोजिएको छ तर त्यो पत्र सामान्य तब रहन्छ जुन शैली र आशयको पत्र अरु कुटनीतिक सम्वन्ध स्थापित भएका देशहरुका सरकार प्रमुखलाई पनि पठाइएको हुन्छ । भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्नुपर्ने के आवश्यकता वा वाध्यता रहन्छ, नेपालको सरकार प्रमुखको लागि ? सरकार फेरिएको जानकारी दिइएको हो या अव हामी आयौं सबै ठीक हुन्छ भन्न खोजिएको हो ? सामान्यतयः कुटनीतिक हिसाबले एउटा सरकार प्रमुखले अर्को सरकार प्रमुखलाई त्यो देशको खुशीको महत्वपुर्ण दिन (स्वतन्त्रता, गणतन्त्र दिवस), व्यक्तिगत खुशीको क्षणमा वा विपतको घडीमा पत्र पठाउने गरिन्छ तर अहिले भारतमा त्यस्तो केही परेको थिएन, कि सरकारमा पुष्पकमल दाहाल नआउँदै भारतले स्वतन्त्रता दिवस मनाएको थियो, त्यसलाई जोडेर पठाएको हो भन्नुपर्दछ । नत्र समान्यतः यो गरिनु उचित कुटनीतिक रुपमा आत्मसम्मानको विषय हुन सक्दैन । प्रान्तका राज्यपाल वा प्रान्त प्रमुखले आफ्ना प्रधानमन्त्रीलाई प्रान्तीय सरकार बनेको जनाउ दिने शैलीको यो कार्य कदापि सही हुँदैन, यदि अन्तराष्ट्रिय रुपमा सरकार फेरिएको आधिकारिक जनाउ दिन खोजिएको हो भने संयुक्त राष्ट्र संघ, सार्क वा नेपाल सामेल अन्तराष्ट्रिय मञ्चलाई कुटनीतिक रुपमा पत्र लेख्दा हुन्थयो तर त्यसो गरिएन र होइन पनि जानेर या नजानेर यो त केवल पुष्पकमलको उल्टो यात्रा थियो वा सुधार्न खोजिएको यात्रा थियो, अझ यसका अनेकन प्रतिबिम्वहरु विस्तारै देखापर्दै जानेछन् । त्यसैले समय अझै घर्किसकेको छैन । तसर्थ जनताले विगतमा वुझेको र जानेका पुष्पकमल नै बन्न सक्नुपर्दछ ।















प्रतिक्रिया