काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारमा केही ढिला भएको भन्दै आफूले सहमतीय राजनीती चाहेको बताउनुभएको छ ।
नेपाल टेलिभिजनको नियमित कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार विस्तारमा केही प्राविधिक कठिनाइ भएको उल्लेख गर्नुभयो ।
‘मैले गठबन्धन संस्कृतिलाई प्रोत्साहित गरेर मात्र सहमतीय राजनीतिमा अगाडि बढ्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छु’, उहाँले भन्नुभयो, ‘गठबन्धन संस्कृतिलाई ध्यान दिएर नै सहयात्री दलहरूसँगको विश्वासको वातावरण बनाउन केही समय कुरेका हौं । अब सरकार रफ्तारमा अगाडि बढ्छ ।’
उहाँले दलीय सहमति, माओवादभित्रै एकरुप समझदारी र अन्तर्राष्ट्रिय समुदायको चासोलाई पनि सकारात्मक रुपमा सम्बोधन गर्नुपर्ने कारण शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन ढिलो हुन गएको बताउनुभयो । ‘सरकारले यसबारे गहिरो समीक्षा गरेको छ । सत्य निरुपण र बेपत्ता छानविन आयोगले आफ्नो काम गरिरहेका छन्, छिटै हामी निष्कर्षमा पुग्छौं’, उहाँले भन्नुभयो ।
छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरूको प्रचार सुन्दा दुःख लागेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
‘औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन’, दाहालले भन्नुभयो, ‘नेपालको राष्ट्रिय हित र सार्वभौमिकताबारे सरकार दृढ र प्रष्ट छ । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ । दुई देशीय सम्बन्ध सुदृढ गर्ने र उच्चस्तरीय भ्रमणबाहेक पत्रमा कुनै कुरा लेखिएको छैन । यो आधारहिन प्रचार हो । यस्तो प्रचारबाट एकछिन भ्रम दिन त सकिएला । तर, प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वासनियता घट्छ भन्ने म ठान्छु ।’
उहाँले आफ्नो चीन भ्रमणको समय तय नभएको बताउनुभएको छ । ‘तर, भ्रमण हुन्छ । भ्रमणमा दुई छिमेकी बीचको कुटनीतिक सम्बन्धलाई बलियो बनाउने विषयमा कुरा हुन्छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले फास्ट ट्रयाक निर्माणको जिम्मा विदेशीलाई दिने कुराको कल्पनासम्म गर्न नसकिने बताउनुभएको छ । ‘केपी ओलीजी प्रधानमन्त्री हुँदा नेपालले नै फास्ट ट्रयाक बनाउने भन्ने निर्णय मेरो समर्थन गरिएको हो, जतिबेला म उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक थिएँ’, उहाँले भन्नुभयो, ‘हिजोको निर्णयमा मैले कुनै परिवर्तन गरेको छैन । यो पनि आधारहीन प्रचार हो, यसमा कुनै सत्यता छैन । नेपालको राष्ट्रिय हित विपरित मेरो नेतृत्वको सरकारले कुनै काम गर्दैन ।’











प्रतिक्रिया