२७ कार्तिक २०८३, शुक्रबार

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gore Bahadur Khapangiकाठमाडौं, १२ भदौ । पूर्वमन्त्री एवम् समाजसेवी गोरेबहादुर खपाङ्गीको ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।

ललितपुरको नख्खु नजिकै बस्दै आउनु भएका पूर्वमन्त्री खपाङ्गीको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार राति १०ः२२ बजे निधन भएको सञ्जोग लाफामगरले जानकारी दिनुभयो । पूर्वमन्त्री खपाङ्गीको स्वास्थ्यमा शनिबार अपरान्ह अचानक समस्या देखिएपछि परिवारजनले न्यूरो अस्पताल बाँसबारी पुगाएका थिए ।

अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार भएपछि घर लगेलगत्तै पुनः स्वास्थ्यमा समस्या देखिएको लाफामगरले बताउनुभयो । पुनः उपचारका लागि न्यूरो अस्पतालमा ल्याएलगत्तै शनिबार राति १० बजेर २२ मिनटमा खपाङ्गीको निधन भएको थियो ।

तीन वर्ष अगाडि मोटरसाईकलले पूर्वमन्त्री खपाङ्गीलाई पछाडिबाट ठक्कर दिएर घाइते बनाएपछि बिरामी पर्दै आउनुभएको थियो । खपाङ्गीका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

खपाङ्गीको जन्म विक्रम संवत २००३ साल साउन २५ गते उदयपुर जिल्लाको थाक्ले गाविसमा भएको हो । पछि परिवारजन बसाइँसराइ गरेर महोत्तरी जिल्लाको रामनगरमा गएको थियो ।

आफ्नो भाषण गर्ने कौशल र स्पष्ट वक्ता भएकै कारण चर्चित बन्नु भएका खपाङ्गीले आदिवासी जनजातिका लागि मात्र नभइ सबै समूदायको हकहितका लागि सामाजिक कार्य गर्नुभएको उहाँका साथीहरू बताउँछन् ।

पूर्वमन्त्री खपाङ्गीको शवलाई काठमाडौंको कलंकीस्थित मगर संघको केन्द्रीय कार्यालयमा राखेर अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भएको लाफामगरले बताउनुभयो ।