श्रीनगर (भारत प्रशासित कास्मिर), १२ भदौ । भारत प्रशासित कास्मिरमा लामो समयदेखि आन्दोलन तथा हडताल गर्न उक्साउने ‘पृथकतावादी’ नेता मिरवाइज उमार फारुकलाई शनिबार भारतीय प्रहरीले पक्राउ गरेको छ ।
फारुकलाई यसअघि नै नजरबन्दमा राखिँदै आएको थियो । तर कास्मिरमा लामो समयसम्म तनाव कायम रहेपछि फारुकलाई पक्राउ गर्ने निर्देशनअनुसार शुक्रबार राति सुरक्षा नियन्त्रणमा लिई सरकारी सुविधामा श्रीनगरमा राखिएको एक प्रहरी अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा जानकारी दिए । उनले आफू पक्राउ परेका नेताको अवस्थाका बारेमा बोल्ने अधिकार प्राप्त व्यक्ति नभएकाले थप जानकारी दिन नसक्ने बताए ।
फारुक कास्मिरमा बन्द, हडताललगायतका आन्दोलन घोषणा गर्ने नेताहरुमध्ये एक हुनुहुन्छ ।
यसैबीच कास्मिरका मुख्यमन्त्री मेहवुवा मुफ्तीले कास्मिरको आन्दोलनबाट उक्त क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको भन्दै कास्मिरी ‘पृथकतावादी’ नेताहरु तथा छिमेकी पाकिस्तानसँग समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्नुभएको छ ।
कास्मिरमा सुरक्षाकर्मीले हदैसम्मको सुरक्षा कडाइ गर्दासमेत आन्दोलन साम्य हुन नसकेपछि रायका लागि मुख्यमन्त्री मुफ्तीले प्रधानमन्त्री मोदीलाई भेट्नुभएको हो ।
शुक्रबारमात्रभारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा छ खर्ब ४० अर्ब भारतीय रूपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको थियो ।
काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया बन्द छन् ।
हिज बुल्लाह मुजाहिद्दीन नेता बुरहान बानीको सरकारी सुरक्षाकर्मीसँगको झडपमा मृत्यु भएपछि भड्केको हिंसाका कारण यहाँ ६६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।
काश्मिरको अनन्तनाग जिल्लाबाट फैलिएको हिंसाले काश्मिरको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ भने बन्द तथा हडतालका कारण व्यापारिक, पर्यटकीय लगायतका नियमित गतिविधिमा नराम्रो असर पर्दा छ खर्ब ४० अर्ब बराबरको घाटा यस क्षेत्रले व्यहोर्नु परेको फेडेरेसनका अध्यक्ष मोहमद यसिन खाँले बताउनुभएको छ ।
यो तथ्याङ्क छ महिना पहिले हुने गरेको दैनिक कारोबारका आधारमा निकालिएको अध्यक्ष खाँको दाबी छ । काश्मिरमा हड्ताल तथा बन्दका कारण दैनिक १३ अर्ब ५० करोड बराबरको घाटा हुने गरेको खाँले बताउनुभयो । – एपी















प्रतिक्रिया