१ कार्तिक २०८३, आइतबार

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघद्वारा विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

missile-korea

संयुक्त राष्ट्रसंघ, ११ भदौ । उत्तर कोरियाले यसै हप्ता गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघले विरोध गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सो परीक्षणको निन्दा गरेको हो ।

पन्ध्र सदस्यीय सुरक्षा परिषदको शुक्रबार बसेको बैठकले उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको सो क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली सहयोगी राष्ट्र भनी मानिएको चीनको पनि सहयोगमा सो परिषदको बैठकले सर्वसम्मत रुपमा उत्तरका विरुद्धको निकै कडा विरोधपत्रमा सहमति जनाउनुका साथै उत्तरका बिरुद्धमा आवश्यक कारबाहीको कदम लिनुपर्ने निर्णय पनि गरेको छ ।

यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । परिषदको शुक्रबार बसेको बैठकले उत्तर कोरियाले हालैका दिनमा जारी राखेको यस्तो प्रकारको परीक्षणले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै उत्तर कोरियामाथि कारबाही गरिनुपर्ने जनाएको हो ।

उत्तर कोरियाले केही दिनमात्र अघि पनि यस्तो परीक्षण गरेको थियो । सो परीक्षणपछि उत्तर कोरियाली नेताले नै यसलाई आफ्नो देशको सफलताको रुपमा ब्याख्या गरेका थिए ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले कडा विरोधगर्दैै उत्तर कोरियाका यी हरेक क्षेप्यास्त्र परीक्षणहरुले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भनी यस्ता क्रियाकलापहरु रोक्न आग्रह गरिरहेका बेला फेरि अर्काे परीक्षण गरेकोमा परिषदले सो कदमको कडा शब्दमा विरोध गरेको हो ।

यतिखेर दक्षिण कोरियामा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास जारी रहेको छ । कम्प्युटरिकृत तथा अन्य अत्याधुनिक माध्यमहरुको प्रयोगमार्फत गरिने यस सैन्य अभ्यास आगामी सेप्टेम्बर २ सम्म नै सञ्चालन हुने बताइएको छ ।

बिगतका यस्तै क्षेप्यास्त्र परीक्षणहरुका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला गएको सोमबारदेखि दक्षिण कोरियामा सो सैनिक अभ्यास सुरु भएको हो ।

गएको करिब वर्षदिनदेखि उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा उत्तेजक देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको अनुमान गरिएको भनी दक्षिण कोरियाली सञ्चारमाध्यमले बताइरहेका बेला उत्तरले यसै हप्ता अर्काे परीक्षण गरेको थियो ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् ।

उत्तर कोरियाले त्यस कार्यको कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आफूले त्यस प्रणालीको संरचनामाथि नै भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । रासस/एएफपी