३० आश्विन २०८३, शुक्रबार

अबरुद्ध सडक छिटो खोल्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-pahiroकाठमाडौं, १० भदौ । सरकारले आसन्न प्रमुख चाडपर्वका समयमा लत्ताकपडालगायतका सामानको अभाव र मूल्य वृद्धि हुन नदिन हालैको बाढी-पहिरोबाट अवरुद्ध अरनिको लोकमार्गलगायतका सडक तुरुन्त मर्मत गरी यातायात सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी नजिक जुरेमा गएको भीषण पहिरोका कारण अरनिको सडक अवरुद्ध भई तातोपानीबाट चिनियाँ सामानको आपूर्ति रोकिएका लत्ताकपडाको मूल्यवृद्धि हुन थालेकोप्रति ध्यानाकर्षण गराउँदै सरकारले पूर्वाधार मन्त्रालयलाई त्यस्तो निर्देशन दिएको हो ।

केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको सोमबार बसेको बैठकमा सरकारका तर्फबाट मुख्यसचिव लीलामणि पौडेलले आसन्न चाडपर्वलाई ध्यान दिई अत्यावश्यक खाद्य वस्तु र खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन नदिन तथा सहज आपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निजी क्षेत्रसमेत सहभागी हुने समिति गठन गरेर चिनीको अधिकतम खुद्रा मूल्य तोक्नसमेत निर्देश गरिएको छ ।

सरकारले खाद्य संस्थानबाट छोटो अवधिमा प्रतिस्पर्धा गराई न्यूनतम मूल्यमा चामल र चिनीको खरिद गर्ने व्यवस्था मिलाउन तथा नक्कली श्रृंगार सामग्रीहरूको बेचबिखन बढिरहेको गुनासो सम्बोधनका लागि अनुगमन कार्य अघि बढाउनसमेत आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

दसैं, तिहार र छठ पर्वका समयमा व्यवसायीहरूबाट हुन सक्ने अत्यावश्यक वस्तुहरूको अनावश्यक भण्डारण गरी कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिनसमेत आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गरिएको छ ।

सरकारले फलफूल तथा तरकारीमा विषादीको प्रयोगमा न्यूनीकरणका लागि देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्न कृषि मन्त्रालयलाई निर्देश गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सरकारले स्वास्थ्य मन्त्रालयलाई निजी तथा सरकारी अस्पतालहरूको फोहोर व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । अस्पतालजन्य फोहोर व्यवस्थापन नगर्ने अस्पतालहरू कानुनबमोजिम कारबाहीका लागि अनुमगन कार्य अघि बढाउनसमेत स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ ।