२८ आश्विन २०८३, बुधबार

दया जाग्छ, नेपाली मिडियाका समाचारदाता र सम्पादक देख्दा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattaraiआखिर मिडिया भनेको मालिकको अभिव्यक्ति स्वतन्त्रताको कुरा मात्र हैन, पाठकको सुसूचित हुने अधिकारसँग जोडिएको पक्ष पनि हो । केही दिन यता नेपालका कर्पोरेट मिडियामा जे जस्ता समाचार आइरहेका छन्, ती समाचार लेख्ने समाचारदाता, सम्पादन गर्ने सम्पादकहरु प्रति दया लागेर आउँछ । पछिल्लो परिदृश्यले नेपालमा नयाँ अवतारको पोटर्स थ्यौरीले काम गरिरहेको छ जस्तो लाग्छ । यस्तो अवस्थामा पत्रकारिताको विश्वसनियतामाथि संकट सिर्जना हुन्छ । त्यो संकटबाट पत्रकारितालाई बचाउने भनेको मालिकले हैन, फेरि पनि पत्रकारहरुले नै हो ।


क्यामरापर्सन निरेशराज जोशीको खाडी मुलुक दबईमा असामयिक निधन भयो । परिवारको सहारा हुन दुबई पुगेका उनको त्यो असामयिक निधन स्तव्ध बनाउने खालको थियो । धेरैका लागि त त्यो एउटा विजुली मजदुरको असामयिक निधन थियो, तर मेरा लागि भने त्यो मेरै लास त थिएन जस्तो लाग्ने परिघटना थियो । संजोग भन्नुपर्छ, निरेश र म एउटै टेलिभिजनमा काम गथ्र्यौ, एभिन्युज टेलिभिजन । म एडिटर इन चिफ उनी क्यामरा पर्सन । जिम्मेवारी फरक भए पनि हाम्रो कथा एउटै थियो, तलव नपाउनु । त्यो पनि केही महिना हो र आधा वर्ष नाघिसकेको थियो । हाम्रो लागि दुई महिनाको वर्ष हुनु पनि ठूलो थियो । उनी बेला बेला चामल, दाल र तेल लिन घर जानु पर्यो भनेर विदा स्वीकृत गर्न मेरो कक्षमा आउँथे, म निशव्द हुन्थे र सरासर विदा स्वीकृत गरिदिन्थे । कहिलेकाही भन्थे, हैन सर अति भयो । के गर्ने होला ? उनको अनुहारमा देखिने छटपटीले म मरेतुल्य हुन्थे । म व्यवस्थापनमा गएर तलव दिनु पर्यो, हैन भने कसरी काम लगाउने ? भनेर प्रश्न तेस्र्याउँथे । म मिलाउँदैछु, मिलाउँदै गर्नुहोस् न । व्यवस्थापनले भन्ने सदावहार उत्तर यही हुन्थ्यो । त्यसबाहेक म पनि के नै गर्न सक्थे र ? एक दिनको कुरा हो, निरेश मेरो कक्षमा आए र भने, सर अब त केही सीप लागेन, खाडी जाने सोच बनाइरहेको छु । उनको कुरा सुनेर म पनि पानी पानी भए । अनि मैले भने, मसँग कुनै नैतिक वल नै छैन निरेश । मेरा खुट्टा भुँइमा टेकिन नै छोडे । आधा वर्षदेखि तलव दिन नसक्ने टेलिभिजनको एडिटर इन चिफ म, कुनै नैतिकताले तिम्रो हाकिम भएर यो कुर्सीमा बसौं ? बरु हिड म चिया खुवाउँछु । उनलाई नजिकैको चियापसलमा लगेर चिया खुवाए । त्यसपछि हामी छुट्यौं ।

त्यो घटनाले मलाई अत्यन्तै दुःखी बनायो । मैले व्यवस्थापनसँग अलि कडा स्वरमै तलव दिन आग्रह गरे । त्यो आग्रहपछि त व्यवस्थापनका मान्छे र केही धुपौरेहरु उल्टै न्युजरुम पल्टिक्समा लागे । मैले नैतिकताको आधारमा राजिनामा दिएँ । चिफ भएकाले मलाई एउटा फाइदा थियो, राजिनामा परिपक्व बनाउन दुई महिना कुर्नुपर्दैन थियो । त्यही फाइदा लिदै म बाहिरिए । जो न्युजरुममा थिए, उनीहरुसँग विदा मागें, जो थिएनन्, उनीहरुसँग विदा पनि माग्न पाइन । मैले भेटेर विदा माग्न नपाएका सहकर्मीमध्ये निरेश पनि एक थिए ।

साउन २१ गते हुनुपर्छ, फेस बुकमा निरेशको मृत्यु भएको अप्रत्यासित खबर देखें । सुरुमा त पत्याउनै गाह्रो भो । कथा पढ्दै गए, ट्ेड युनियन मुभमेन्टमा लागेको भनेर उनलाई एभिन्युजबाट निकालिएछ । त्यसपछि उनी दुबई गएछन् । क्यामरा चलाउने विचरा, विुजुली चलाउन आएन क्यारे, विजुली सर्ट भएर यो संसार नै छोडेछन् । जति जति उनको मृत्यु कथा पढ्दै गए, त्यति त्यति नै उनीसँग बिताएका क्षणले नोस्टल्जिक बनायो नै, उनीप्रतिको श्रद्धा पनि बढायो । एक किसिमले भन्ने हो भने नेपाली टेलिभिजनको पछिल्लो अव्यवस्थापन र नियतले सिर्जना गरेको परिस्थितिको उपज थियो । निरेश, तिमी अरुका लागि जे भए पनि मेरो लागि एक स्वाभिमानी सञ्चारकर्मी हौं, म तिम्रो स्वाभिमानी जीवन र पहाड मृत्युलाई अभिवादन गर्दछु र यस्तो परिस्थिति सिर्जना गर्ने जो कोहीप्रति पनि मनैदेखि घृणा व्यक्त गर्छु ।

निरेशको शोकले रन्थनाइरहेको बेला एक ब्रोडसिट दैनिकमा भैरहेको मजदूर आन्दोलनको खबर बाहिरियो । छ सूत्रीय माग राखेर मजदुरहरु आन्दोलित भए रे । उनीहरु प्रकाशन नबाँड्ने स्थितिमा पुगे रे । त्यो कदम प्रेस स्वतन्त्रताको हनन, आपतिजनक, असह्य मात्र भएन रे, नेपाली सञ्चार माध्यममाथिको आक्रमण पनि भयो रे । त्यसपछि सारा सञ्चार उद्यमीहरु एक ठाउँमा आएर १० सूत्रीय माग राख्दै मजदूरमाथि कारबाही नभए सञ्चार माध्यम नै बन्द गर्नेसम्मको चेतावनी दिए । अहिले नेपाली ठूला सञ्चार माध्यममा यही समाचारले बज हानिरहेको छ । समाचार पनि के भन्नु, आरोपित पक्षको भनाइ नभएको एकतर्फि बुलेटिन जसमा पत्रकारिताको आधारभूत सिद्धान्त एबीसीको वी अर्थात् ब्यालेन्स नै छैन । अनि, त्यसमा हो मा हो मिलाउँदै सारा राजनीतिक पार्टी, नागरिक समाज, मिडियासँग सम्बन्धित संघसंस्था ऐक्यवद्धता प्रकट गर्दैछन् ।

हो, प्रेस स्वतन्त्रता हनन हुनुहुदैन, अभिव्यक्ति स्वतन्त्रतामा खलल पुग्नु हुदैन । अझ त्योभन्दा पनि महत्वपूर्ण जनताको सुसूचित हुने अधिकार हनन हुनुहुदैन । यसप्रति जो कुनै दल, संघ संस्था या व्यक्तिले ऐक्यवद्धता जनाउनुपर्छ । तर, यसो भन्दैमा आन्दोलित पक्षलाई स्टोनवालिंग र ब्ल्याकआउट गर्दै उनीहरुको भनाइ नै राख्न नदिने पनि गर्नु हुदैन । बुलेटिन हो भने त त्यसमा केही भन्नु छैन, हैन समाचार हो भने त अदर साइड भनिने आरोपित पक्षको भनाइ पनि त राख्न दिनु पर्यो नि । उनीहरु किन आन्दोलित छन् ? उनीहरुका माग जायज हुन् कि हैनन् ? उनीहरु एकैपटक पत्रिका नबाँड्ने स्थितिमा पुगे कि चरणवद्ध आन्दोलन गर्दै यो स्थितिमा पुगे ? यी प्रश्नहरुको उत्तर जान्ने अधिकार पनि पाठकसँग हुन्छ नि । आखिर मिडिया भनेको मालिकको अभिव्यक्ति स्वतन्त्रताको कुरा मात्र हैन, पाठकको सुसूचित हुने अधिकारसँग जोडिएको पक्ष पनि हो । मिडियामा काम गर्ने सम्पादकदेखि मालिकको पक्षमा न्युजरुम पल्टिक्स गर्नेहरुले यतातिर चाँहि सोच्नुपर्छ कि पर्दैन ? मलाई केही दिन यता जे जस्ता समाचार आइरहेका छन्, ती समाचार लेख्ने समाचारदाता, सम्पादन गर्ने सम्पादकहरु प्रति दया लागेर आउँछ । कि यी समाचार मालिकका बाइलाइनमा छापिनु पर्यो हैन भने त्यसमा समाचारका आधारभूत तत्वहरु छन् कि छैनन् भनेर जाँच पड्ताल पनि त गर्नुपर्यो होला नि । पछिल्लो परिदृश्यले नेपालमा नयाँ अवतारको पोटर्स थ्यौरीले काम गरिरहेको छ जस्तो लाग्छ । यस्तो अवस्थामा पत्रकारिताको विश्वसनियतामाथि संकट सिर्जना हुन्छ । त्यो संकटबाट पत्रकारितालाई बचाउने भनेको मालिकले हैन, फेरि पनि पत्रकारहरुले नै हो ।

मजदूरले सरकारले नै ताकिदिएको दस हजार आठ रुपैया, दुई सय ४० दिन पुगेपछि स्थायी गरिनुपर्ने, १० प्रतिसतभन्दा बढी करारमा राख्न नपाइने, न्युनतम वेतनभोगीलाई महंगी भत्ता दिनुपर्नेलगायतका माग राखेका छन् रे । के यी माग नाजायज हुन् ? आखिर यी त पत्रिका बाँड्ने वितरकका मात्र समस्या हैनन्, सञ्चारकर्मीका पनि समस्या हुन् । यी साझा समस्याप्रति ऐक्यवद्धता प्रकट गर्नु पत्रकारहरुको कर्तव्य हैन ? अझ, त्यसमा पनि नेपाल पत्रकार महासंघको कर्तव्य हैन ?म सुरुदेखि नै महासंघको मालिकभक्तिप्रति असहमति राख्दै आएको छु, भन्नलाई पत्रकारहरुको संस्था भन्ने अनि पक्ष चाँहि मालिकको लिने ? त्यो पनि प्रेस स्वतन्त्रताको हननको दुहाइ दिएर । प्रेस स्वतन्त्रताभन्दा बाँच्न पाउने अधिकार ठूलो हो । छ छ महिना तलव नपाएर, वर्षौसम्म नियुक्ति नपाएर असुरक्षित र भोकभोकै काम गर्नुपर्ने सञ्चारकर्मीको बाँच्न पाउने अधिकारसँगको यो कस्तो सौदावाजी हो ?

कुरा उठाइन्छ, सञ्चार उद्योग अरु उद्योगजस्तो हैन । त्यो कुरा मालिकलाई भन्दा आमसञ्चारका विद्यार्थीलाई सैद्धान्तिक रुपमा पनि बढी थाहा हुन्छ । त्यसो भन्दैमा सञ्चार उद्योग चलाउने नाममा काम गर्नेलाई भोकभोकै मार्न पाइन्छ र ? दसौ वर्ष काम गर्दा पनि नियुक्ति नदिएर पेशागत असुरक्षामा पार्न पाइन्छ र ? पाइदैन, त्यसैले सञ्चार उद्योग चलाउने नाममा जे गर्ने पनि छुट मालिकहरुलाई दिनु हुँदैन । अझ, मजदुरले आन्दोलन गर्दा जनताको सुसूचित हुने अधिकारको हवाला दिनेहरु आफै पनि सञ्चार माध्यम बन्द गर्ने चेतावनी दिइरहेका छन् । मजदूरले गर्दा प्रेस स्वतन्त्रता हनन हुने अनि आफूले गर्दा के हुने ? यो आफैंमा एक यक्ष प्रश्न हो ।

मालिकहरुको तर्क छ, उनीहरु प्रजातन्त्रका मसिहा हुन् । उनीहरुले यो मुलुकमा प्रजातन्त्र ल्याए, लोकतन्त्र ल्याए । त्यसैले त्यस वापतको पारितोषिक पाउनुपर्छ र मजदुरहरुलाई जे पनि गर्न पाउनुपर्छ । हो, नेपाली सञ्चार माध्यमको नेपालको प्रजातान्त्रिकरणमा ठूलो योगदान छ । तर, इतिहास साक्षी छ, अहिलेका ठूला मिडियाहरु २०४६ को ऐतिहासिक जनआन्दोलनपछि शक्ति आर्जनसहितको व्यापार गर्न आएका हुन् । पञ्चायती कालरात्रीमा टाउकोमा कात्रो बाँधेर मिसन पत्रकारिता गर्नेहरुले ल्याएको प्रजातन्त्रको उज्यालोमा व्यापारिक सम्भाव्यता देखेर उनीहरु यस क्षेत्रमा आएका हुन् । जे गरे आए पनि उनीहरुले यो उद्योग बनाउन केही योगदान गरेका छन् । तर, त्यसो भन्दैमा मिडिया चलाएर नेपालकै लागि सबै गरे भन्ने पाखण्ड सोच राख्ने अधिकार उनीहरुलाई छैन । यो उनीहरुको व्यापार हो । कसैले जर्वजस्ती गर्नैपर्ने भनेको हैन, आफ्नै इच्छाले गरेको । व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा । घाटा भए बन्द गर्न उनीहरुलाई छुट छ । उनीहरुले बन्द गर्दैमा यो देशमा न अब प्रजातन्त्र नै सकिन्छ, न जनता सुसूचित हुने अधिकारबाट बञ्चित नै हुन्छन् । काले गए गोरे आउँछ । यसै पनि मिडिया अथाह सम्भावनाहरुको क्षेत्र हो । पत्रकारले तलव नपाए पनि मालिक मोटाएका दृश्य ऐना लगाएर छोप्न सकिदैन ।

यतिबेला फेरि पनि म निरेश जोशीको हँसिलो अनुहार सम्झिरहेको छु । अनि बिर्सेको छै्रन, त्यो दृश्य जहाँ निरेशको बाँच्न पाउने अधिकारको खिल्ली उडाउँदै मालिकहरु प्रेस स्वतन्त्रताको डिंग हाकिरहेका छन् । अनि, आफूलाई पत्रकार भनाउँदाहरु पोटर्स थ्यौरीको नयाँ खेतालाका रुपमा अदर साइड बिनाको बुलेटिन बनाउन न्यारानदेखिको बल लगाइरहेका छन् । तर, सबैले हेक्का राख्नुपर्ने कुरा के हो भने अहिले देखिएका पोटर्स थ्यौरीका अनुयायीहरु अर्को संस्करणमा निरेशराज जोशी पनि हुन सक्छन् । किनकि, नेपाली कर्पोरेट मिडियामा यस्ता अनुयायीहरु छिटो फेर्न माहिर छ ।