३० आश्विन २०८३, शुक्रबार

भान्साको प्रेम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

luckycharm-1सन्देशले नाडीको घडी हेर्छ । ८ बजेको थियो । उसले शिक्षालाई फोन गर्छ । शिक्षा पनि सन्देशको फोनको पखाईमा थिइन् ।

‘शिक्षा म भैरहवा जान लागे । दिउँसो २ बजेको टिकट छ । राम्रोसँग बस्नु, कुनै पनि कुराको आवश्यकता परेको खण्डमा मलाई आफ्नै जस्तो ठानेर भन्नु’, सन्देशले मनको कुरा भन्छ । शिक्षाले पनि मुहारमा बनावटी खुशी झल्काउँदै ओंठ चलाउँछिन्, ‘हुन्छ, राम्रोसँग जानु होला । पुगेपछि फोन गर्नुहोला । मलाई नबिर्सनुहोला ।’

‘आफूलाई बिर्सन सक्छु, तर आफ्नो लक्कीचार्मलाई कसरी बिर्सुला ?’
‘हेरौं, काठमाडौंको हावापानी नै स्वार्थमा लिप्त छ रे ! हजुर त्यसबाट बच्नु हुन्छ कि हुँदैन, पछि थाहा होला ।’
‘कुनै पनि ठाउँ राम्रो वा खराव हुँदैन । मान्छेको बानी, व्यहोरा, अनि नियतले निर्धारण गर्छ, राम्रो नराम्रो हुने कुरा !’
‘त्यही त, पछि थाहा हुन्छ भने नी !’
‘तिमी पनि त परिवर्तन हुन सक्छौं ?’
‘म परिवर्तन हुन्छु भन्दा पनि हुने अवस्था छैन । हजुरसँग नजिक भएर बिताएका एकएक पलहरुको साँक्षी बस्ने धेरै कुराहरु मेरो कोठामा छन्, बाहिर निस्कदा त्यस्तै छ । त्यसैले म जस्तो थिए, त्यस्तै हुनेछु । ’

शिक्षाको कुरा सुनेर सन्देश केही बोल्न सक्दैन । केही समय दुबैजना फोन कानमा लगाएर मौन बन्छन् । आँखाबाट आँशु खसाउँदै शिक्षाले फोन राख्छिन् । सन्देशको आँखा पनि रसाइ सकेको थियो । शिक्षा सोफामा बसेकि थिइन् । त्यसैबेला प्रतिक्षा आउँछिन् ।
‘के भयो लक्कीचार्मलाई ? किन मुहारमा बादल लागेको छ । आँखा पनि रोए जस्तो पो देखिन्छ ?’, प्रतिक्षाले प्रश्न गर्छिन् । उनको कुरा सुनेर केही पनि बोल्न नसकेकि शिक्षाले प्रतिक्षालाई अंगालो हाल्छिन् ।

‘के भयो यसलाई ? किन रुन लागिस ? भन न मलाई, अहिले म पनि रोइदिन्छु’, प्रतिक्षाले शिक्षाको आँखाको आँशु पुछि दिदैं ओंठ चलाउँछिन् । उनले आँशु पुछि दिएपछि शिक्षा मन्द गतिमा बोल्न थाल्छिन्, ‘सन्देशसर ।’
‘के भयो सन्देशसरलाई ?’
‘केही भाछैन, आज काठमाडौं जाँद हुनुहुन्छ, भैरहवाबाट प्लेनमा ।’
‘हाय, म त केके न भयो भन्ने ठानेको । यस्तो कुरामा पनि आँशु झार्नुपर्छ त ? फेरि लभसबमा परेको व्यक्ति जान लागेको भएपो, मन दुःखछ, हेलो हाय भन्ने मान्छे कतै जाँदा रुन थाल्ने हो भने त आँशुको समुन्द्र बन्छ ।’
‘वियोग भन्ने कुरा सम्बन्ध गाँसेपछि नै हुन्छ भन्ने छैन । मन मिल्ने साथी टाढा जाँदा मन नदुःखने हो भने किन यस्तो साथ अनि साथी चाहियो ?’
‘तँलाई एउटा कुरा भनु ?’
‘हुन्छ भन ।’
‘भनेपछि रिसाउन पाइदैंन नी फेरि ।’
‘भन न किन रिसाउथे तसँग ।’

‘तँ अनि सन्देशसरबीच नजानिदो पाराले प्रेम बसेको छ । तँ पनि उहाँलाई मन पराउन थालि सकेकि छेस । तेरो मनमा सन्देश सर ननिस्कने गरी बसि सक्नु भएको छ । त्यसैले उहाँको वियोगमा तेरो मन दुःखेको छ । नत्र कसैको मन पनि यसरी वेचैन हुँदैन ।’, प्रतिक्षाले आफूलाई लागेको कुरा भन्छिन् । उनको कुरा सुनेर शिक्षा बोल्न सक्दिनन् । केही समयको मौनतापछि शिक्षा सोफाबाट उठ्छिन् । उनी खाना पकाउनकालागि भान्सातर्फ सोझिन्छिन् । खाना पकाउँदा पनि केवल उनको कानमा प्रतिक्षाले भनेका कुराहरु नाँची रहेका थिए । आफ्नो वरपर सन्देश सरलाई उनले देखि रहेकि थिइन् । उनलाई यतिबेला भान्सा कोठामा भएका सबै बस्तुहरुले जिस्काई रहेका थिए ।

‘के छ नक्कली ! हिंजोसम्म खुबै ठूला कुरा गरिन्थ्यो । हामीलाई पनि माया प्रेममा पर्न हुँदैन भनेर भाषण छाँटिन्थ्यो । आज आफू पनि त्यही बाटोमा आउनुपर्ने रहेछ’, रोटी बेल्ने बेल्नाले आफूलाई लागेको कुरा भन्छ । शिक्षाले रोटी पकाउन लागेकि थिइन् । उनी यो सब देखेर छक्क परेकि थिइन् । त्यहीबेला पिर्का जुरुक्क उठ्छ, बेल्नाको हात समाउँछ । एक किस खान्छ अनि ओंठ चलाउन थाल्छ, ‘त्यही त प्रिय । तिम्रो कुरामा शतप्रतिशत सत्यता छ । हिंजो रातभर हामी वियोगमा बस्यौं । कमसे कम रोटी बेल्ने समयमा त हाम्रो भेट हुन्थ्यो । हिंजो त मैया साहेब भान्सामा नै आउनु भएन । हामी रातभरि बिछोडमा तड्पि रह्यौं । कमसे कम हामीलाई सँगै राखि दिएको भएपनि त हुन्थ्यो । तिमी त्यहाँ म यहाँ ज्यान त टाढा छ, भन्दै रातभर जागाराम बस्नु पर्यो ।’

‘त्यही त पिर्कु, म पनि रातभर वियोगमा छटपटि रहे । अध्याँरो थियो, तिमी त्यहाँ सुकसुक गरे जस्तो त लागि रहेको थियो । यो मान्छेको जात आफ्नो मात्र हेर्न जानेको छ । आफू वियोगमा पर्दा बल्ला थाहा भयो होला मैयाज्यूलाई’, बोल्ना लाढिएर बोल्छ । उनीहरुको वार्तालाप सुनि रहेको कसौढीले लामो सुस्केरा छाड्दै ओंठ चलाउँछ, ‘हजुरहरुको कुरामा म पनि सहमत छु । यो घरमा कहिले काँही हप्तादिनसम्म म मेरी प्रिय डाढुसँग भेट हुन पाउँदैन । कहिले काँही तरकारी चलाउँदा हाम्रो मिलन हुन्छ । त्यही पनि मैयाज्यू तरकारी चलाउँदा कुन सोंचमा हुनुहुन्छ, राम्रोसँग तरकारी नचलाएर, खत्र्याक खुत्रुक पार्नुहुन्छ, अनि मेरी प्रिय डाढुलाई एककोश टाढा राख्नुहुन्छ । मेरै माथि राखेपनि त हुन्छ । पैशा लाग्ला जस्तो ।’

कसौढीको कुरा सुनेर रुन्चे स्वरमा डाढु बोल्न थाल्छ, ‘तिमी मलाई यतिधेरै माया गर्छौ ? म धन्य भए । मलाई लाग्थ्यो म एक्लैछु । मेरा कोही पनि छैन । यो संसारमा म एक्लै छु । तर मलाई माया गर्ने पनि यो संसारमा रहेछन् । यतिभए पुग्यो मलाई ।’

भान्साकोठामा यस्तै–यस्तै दृश्यहरु देखा परेका थिए । शिक्षाले यी सब कुराहरु देखेर आफूलाई चक्कर लागेको महसुस गर्छिन् । त्यसैले भान्सामा बस्ने हो भने पागल नै हुन्छु भन्ने निष्कर्ष निकाल्दै आफ्नो कोठामा आउँछिन् । कोठामा आएर प्रतिक्षालाई भान्सामा भएका सामानहरुले देखाएको चर्तिकला सुनाउँछिन् । उनको कुरा सुनेर प्रतिक्षा पेट मिचिमिचि हाँस्न थाल्छिन्, ‘तेरो दिल अनि दिमागमा प्रेमको वाण निकाल्नै नसकिने गरी लागि सकेको रहेछ । अब सन्देशजी नआउँदासम्म तेरो हेरबिचार राम्रैसँग गर्नुपर्ने भयो ।’

‘नकरा मोरी, अहिले लात्ताले हान्छु, आफूलाई टेन्शन भैराछ, यसलाई भने हँसि मजाक छ’, शिक्षाले रुखो स्वर सुनाउँछिन् । उनको कुरा सुनेर ओंठको हाँसो रोकेर प्रतिक्षा बोल्न थाल्छिन्, ‘साँचो कुरा गर्दा सबैले यस्तै भन्छन् । मलाई त भनिस भान्साको कुरा अरुलाई नभनेस् । फेरि पागल भइछ भनेर गाउँभरि ढ्यांग्रो ठोक्लान ।’

‘जा भान्सामा, आज खान तँ नै पका । म भान्सामा जाँदै जान्न ।’
‘हवस प्रेम रोगीज्यू खाना मै पकाउँछु । हजुर प्रेमको वतासमा उडेर सन्देशजी बसेको प्लेनमा पुग्नुहोस्’, प्रतिक्षाले जिस्काउँछिन् । उनलाई शिक्षाले आँखा ठूलो बनाएर हेर्छिन् । प्रतिक्षा भान्सा कोठातर्फ दौडन्छिन् ।

‘यो सन्देशजीले के गरे मलाई । म त पागल नै हुन्छु कि क्याहो ?’, शिक्षा सोफामा झोक्रिएर बसेकी थिइन् । उता भैरहवा जानका लागि जीपमा बसेको सन्देशले एकतमासले शिक्षालाई सम्झि रहेको थियो ।

‘के गर्दै होलिन शिक्षाले ? मलाई सम्झन्छिन् कि नाई ? के उनको मनमा मप्रति फिलिङ्स होला ?’, सन्देशले यी र यस्तै कुराहरु खेलाउँदा खेलाउँदै गाडी भैरहवा विमानस्थलमा पुग्छ । सन्देशले जीपको चालकलाई बाटो खर्च दिन्छ । त्यसपछि सन्देश विमानस्थल प्रवेश गर्छ । मोवाइलमा टिकक बुकिङ गराएको म्यासेज देखएपछि काउन्टरवालाले टिकट दिन्छ । केही समयपछि काठमाडौंका लागि उडान हुन्छ ।

(अप्रकाशित उपन्यास लक्कीचार्मको एक अंश)