काठमाडौं, ८ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले आमा एवं पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाह बस्ने नारायणहिटी राजदरबारको महेन्द्र मञ्जिलको विद्युत लाइन काट्ने प्रचण्ड सरकारको कदमको विरोध गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले महेन्द्र मञ्जिलमा काटिएको बिजुली जोड्न दबाब दिएकोमा आमनागरिकदेखि सामाजिक सञ्जालका प्रयोगकर्ता र मिडियासम्मलाई धन्यवाद दिएका छन् । त्रुटि सच्याएर जनताको आवाजको कदर गरेको भन्दै सरकारलाई पनि धन्यवाद दिएका छन् ।
सचिव फणि पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘ममतामयी मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको नारायणहिटी राजदरबार परिसरस्थित निवासस्थान महेन्द्र मञ्जिलको विद्यूत आपूर्ति काटिएकोमा जनताले दर्शाएको सहानूभुति, सामाजिक सञ्जाल एवं आमसञ्चार माध्यमबाट व्यक्त असहमति अविस्मरणीय रहेको हामीले ठानेका छौँ ।’
नेपाली जनता र राजसंस्थाबीच सदैव रहिआएको सम्बन्ध यस प्रकरणबाट उजागर भएको भन्दै पूर्वराजाले अगाडि भनेका छन्– ‘जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत मूल्य र मान्यता देशमा जीवित रहेको सन्दर्भका रुपमा पनि हामीले यसलाई लिएका छौँ । हामी बीचको सूसम्बन्ध भविष्यमा पनि स्थिर र थप मजबुत रहने विश्वास लिएका छौँ ।’
विद्युत प्रसारण सूचारु गर्न वातावरण बनाएर सहयोग पुर्याउने आम नेपाली जनता एवं सञ्चार माध्यम र सरकारलाई पनि धन्यवाद दिँदै उनले भनेका छन्– ‘असावधानीबस भएको त्रुटि समयमै सच्याएर जनआवाजको कदर गरेकोमा हामी उर्जा मन्त्रालय र नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छौँ ।’
मन्त्री बनेलगत्तै स्पीडमा काम गरेर चर्चामा आउन खोजेका उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा महेन्द्र मञ्जिलको लाइन काटिएको थियो । त्यसको भोलिपल्टै संस्कृति मन्त्रालयको अनुरोधमा पुनः लाइन जडान गरिएको थियो ।
उर्जामन्त्रीको यो कदमको सर्वत्र आलोचना भएको थियो ।












प्रतिक्रिया